वैकल्पिक शक्ति किन ?

- ७ मंसिर २०७३

प्रल्हाद लामिछाने

सह-संयाेजक, केन्द्रीय कार्यालय

नयाँ शक्ति पार्टी, नेपाल

नेपाल विगत लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको छ । यो संक्रमण वि.सं. १९९७ सालबाटै सुरु भएको हो । झण्डै ७५ वर्ष वितिसक्दा पनि संक्रमणकाल अन्त्य हुन सकेको छैन । कतिपयले गणतन्त्र प्राप्तिसँगै नेपालमा संक्रमणकाल सुरु भएको भन्ने गरेका छन् । विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनसँगै अधिकार प्राप्त भयो । तर समृद्धि हासिल गर्न नसक्दा संक्रमणकाल अन्त्य हुन सकेन ।

वि.सं.१९९७ सालदेखि २००७ साल, २०२८ साल, २०४६ साल, ०५२ साल, ०६२/६३ सालसम्म अधिकार प्राप्तिका लागि भएका आन्दोलनहरुले मुलुकमा अनेकौं व्यवस्था फेर्‍यो । व्यवस्था परिवतर्नसँगै जनताका अधिकार प्राप्त भए । तर मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न सकेन । यसको मूल कारण के हो ? यसतर्फ ध्यान दिनु अहिलेको मुख्य आवश्यकता हो ।

एकातिर मुलुकमा हुने हरेक पटकको आन्दोलनले पूर्ण रुपमा जनताको अधिकार प्राप्त हुन सकेन भने अर्कातिर आर्थिक समृद्धि र विकास हुन सकेन । कहिले कांग्रेसको नेतृत्वमा, कहिले एमालेको नेतृत्वमा त कहिले माओवादीको नेतृत्वमा आन्दोलन भए । ती आन्दोलनहरुबाट राजनीतिक अधिकार त प्राप्त भए तर आर्थिक समृद्धिको मुद्दा सधैं ओझेलमा पर्‍यो । ७६ वर्षभन्दा लामो समयसम्म संक्रमणकाल रहनु नेपाल र नेपालीका निम्ति दुर्भाग्यकै कुरा हो । २००७ सालको परिवर्तनपछि २०१५ सालसम्म नेपालमा राजनीतिक अस्थिरता यति बढी देखियो कि त्यसले राजनीतिक संक्रमणलाई अझ बढाइदियो । सात आठ वर्षको छोटो अवधिमा त्यत्तिकै संख्यामा सरकारहरु परिवर्तन भइरहे । राजनीतिक परिवर्तनपछि राज्यसत्तामा पूरानै प्रवृत्ति दोहोरियो । व्यवस्था परिवर्तनसँगै नेतृत्व परिवर्तन हुनुपर्नेमा त्यसो हुन सकेन ।

राणा, पञ्चायत, निरंकुश राजतन्त्र विरोधी आन्दोलनमा नेपाली जनताले पटकपटक सफलता प्राप्त गरेपनि नेपालको राजनीति सही बाटोमा हिँड्न सकेन । हामी यति लामो समयसम्म राजनीतिक, जाति, वर्ग, क्षेत्रको अधिकार प्राप्तिको लडाइँमा केन्द्रित भयौं । यसअघिका आन्दोलनहरु राजनीतिमुखी थिए । विकासमुखी भएनन् । राजनीतिमुखी आन्दोलनले जनताका हक अधिकार त प्राप्त भए तर जीवनस्तर परिवर्तन हुन सकेन । अब हाम्रो आन्दोलन राजनीतिमुखी होइन, विकासमुखी हुनुपर्दछ । हामीलाई विकासमुखी राजनीतिको खाँचो छ ।

सात दशक लामो राजनीतिक आन्दोलनसँगै नेपालमा धेरैथरी शक्तिहरु राज्यसत्ताको पहुँचमा पुगे । कांग्रेस, एमाले, माओवादीलगायतले विकासमुखी कुरा नगरेका होइनन् । तर जनताको आर्थिक विकास र समृद्धिको सपना यी दलहरुले पूरा गर्न सकेनन् । एउटा दल सरकारमा पुग्यो, अर्कोले आन्दोलन गर्ने, अर्को पुग्यो अर्कोले आन्दोलन गर्ने संस्कारजस्तै बन्यो । पाँच वर्षसम्म कुनै पनि दलको नेतृत्वमा सरकार चल्न सकेन । यतिसम्म कि नेपाली कांग्रेसले २०४८ र २०५६ सालमा एकल बहुमत प्राप्त गर्दा पनि पाँच वर्ष सम्म पनि सरकार टिकेन । संसदीय व्यवस्थामा भएको खोटकै कारण यस्तो भएको हो । जनता यो पार्टीको नेतृत्वमा हुन्छ कि, त्यो पार्टीको नेतृत्वमा हुन्छ भन्ने अन्यौलतामा रहिरहे । तर जो–जसको नेतृत्वमा सरकार बनेपनि आर्थिक विकास र समृद्धिको दिशामा कुनै पनि सरकारले काम गर्न सकेनन् ।

संविधानसभाबाट निर्माण गरिएको संविधानमा प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख हुने व्यवस्था गरिएन । यहीँनेर हाम्रो समस्या देखियो । एकल बहुमत प्राप्त पार्टीले पनि पाँच वर्षसम्म सरकार टिकाउन नसक्नुका कारण संसदीय व्यवस्थामा कहीँ न कहीँ समस्या छ । अब संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा गएर पूरानो त्रुटी सच्याउनु आवश्यक छ । लामो समयदेखि विकास र समृद्धिको चाहना पूरा नभएको अवस्थामा नेपाली जनतामा निराशा छाएको छ । पञ्चायतकालीन नेता, कांग्रेस, एमाले र माओवादीबाट समेत अपेक्षाकृत आर्थिक विकास र समृद्धि हासिल नभएपछि जनताले यतिबेला विकल्प खोजिरहेका छन् । मूलधारका राजनीतिक पार्टीहरुबाट आर्थिक विकास र समृद्धि सम्भव छैन भन्ने जनताको निष्कर्ष छ । तर विकल्प को हुनसक्छ भन्ने निक्यौल जनताले गर्न सकेका छैनन्  । हुन त हामी नयाँ शक्ति विकल्प हौं भनेर दावी गरिरहेका छौं । तर जनताको स्तरबाट नयाँ शक्ति नै विकल्पका रुपमा खडा भइसकेको स्थिति अझै बनिसकेको छैन । हाम्रो प्रयास, जागरण र सक्रियताले जनतामा हामी नै विकल्प हौ भनेर देखाउनु पर्नेछ ।

यो मुलुकको आर्थिक विकास र समृद्धि कांग्रेस, एमालेलगायत पूराना राजनीतिक दलहरुबाट सम्भव छैन । उनीहरुबाट सम्भव थियो भने नयाँ शक्तिको खाँचो नै पर्दैन । ती दलले पटकपटक मुलुकको नेतृत्व गर्ने अवसर पाए । ती अवसरलाई उनीहरुले आर्थिक विकास र समृद्धि हासिल गर्ने कुरामा सदुपयोग गर्न सकेनन् । ठूला परियोजनाहरु निर्माण गर्ने कुरा गफमै सिमित भयो । मेलम्चीको पानी काठमाडौंमा ल्याउने कुरा, फास्ट ट्रयाक, निजगढमा विमानस्थल बनाउने कुरा योजनामै सिमित छन् । बन्द कारखाना खुलाउन सकिएको छैन । हावाबाट बिजुली निकाल्ने कुरा, रेल चलाउने कुरा पूरा गराउन सकिन्छ भन्ने कुनै संकेत पनि छैन । त्यस्तो अवस्थामा सबै राजनीतिक दलका नेतृत्वबाट जनता निराश छन् । यहीबेलामा विकल्प खोजिएको हो ।

नयाँ शक्ति पार्टीले आर्थिक समृद्धि र विकासको विकल्प दिनसक्छ त ? भन्ने प्रश्न पनि उठेको छ । हो, हामीले अब विकल्प दिनैपर्छ । हामीले पनि दिन सकेनौं भने जनतामा निराशा अझ बढ्ने छ । नयाँ शक्तिले त्यो विकल्प दिनै पर्छ । हामीसँग त्यो क्षमता पनि छ । अबको नेपाल यो वाद, त्यो वाद, यो जात, त्यो जात, यो वर्ग, त्यो वर्ग, यो क्षेत्र, त्यो क्षेत्र भनेर अलमलिने बेला होइन ।

नेपालीहरु विदेशतिर जाँदा हेपिने, भिसा नलाग्ने अवस्था छ । युरोप, अमेरिकाको भिसा लाग्यो भने नेपालीहरुको भुईमा खुट्टा रहँदैन । त्यो स्थिति किन भयो ? आफ्नो देश छाडेर जाने, समाज, परिवार, बालबालिका छाडेर जानुपर्दा पनि खुशी हुनुपर्ने अवस्था किन आयो ? यी सबै गरिवीकै कारणले हो । विदेश जाँदा नेपाली पासपोर्ट हेपिनुको खास कारण हामी गरिव भएरै हो । हाम्रो देश सानो पनि छैन । गरिव पनि होइन । हामीसँग योजना, भिजन र गतिलो नेतृत्व नभएकै कारण हामी पछाडि परेका हौं । हामीभन्दा साना र स्रोत साधन नभएका कयौं देशहरु समृद्ध छन् । सिंगापूर सानो छ । समृद्धिको उसको आफ्नै पहिचान छ । बेल्जियम युरोपकै सानो देश हो, उ धेरै समृद्ध छ । हामी किन त्यस्तो बन्न सकेनौं ? हामीसँग साधनस्रोत छन् । देशभित्र खोलानाला छन्, वनजंगल, जडिबुटी, हिमाल, पहाड, तराई छन् । सगरमाथा, बुद्ध जन्मेको लुम्बिनी हामीसँग छ । मानव स्रोत पनि हामीसँग छ । सक्षम नेपालीहरु छन् । हामीमा दिमाग नभएर गरिव भएको पनि होइन । अक्सफोर्ड, क्याम्ब्रिजमा पढ्ने पढाउने नेपालीहरु पनि छन् । तर हामी आफैं चाहिँ गरिव भइरहेका छौं । किन यस्तो भइरहेको छ ? यो गम्भीर प्रश्न हो । नेपाल कहिल्यै बन्दैन भन्ने युवाहरु पनि छन् । तर त्यस्तो होइन । हामीले नेपाललाई समृद्ध गर्न सक्छौं । हामीले युरोप अमेरिकाको सपना देख्ने होइन । हाम्रै देशलाई युरोप अमेरिका जत्तिकै आर्थिक विकास र समृद्धिको मार्गमा डोर्‍याउनु पर्छ । हामी सपना देखौं र यहीँ लागौं । नयाँ शक्तिले त्यो हिम्मत गरेको छ ।

हाम्रो आर्थिक समृद्धिको आधार के हो त ? भन्ने विषयमा हाम्रो पार्टीको अर्थ समितिले होमवर्क गरेको छ । अरुअरु पनि छन् आर्थिक समृद्धिका आधार निर्माण गर्ने कुरा । कृषिमा के हुनसक्छ ? जलस्रोतमा के गर्न सकिन्छ ? हाम्रो देशको आर्थिक समृद्धिको नीति के हुन्छ ? यो देशमा भएका साधनस्रोतहरुलाई कसरी अधिकतम सदुपयोग गर्न सकिन्छ भनेर पार्टीले अध्ययन गरिरहेको छ । चुनावका बेला विकासको यो चरणमा पुर्‍याउँछौं । सिंगापुर, स्वीजरल्याण्ड बनाउँछौ भनेर जनताले पत्याउनेवाला छैनन् । त्यसो गर्नु जरुरी पनि छैन ।

चुनावमा भोट माग्न जाँदा जनतामा हाम्रो विकास गर्ने यी यी आधारहरु छन् भनेर व्यवहारिक रुपमा देखाउनु पर्छ । हामीले कमसेकम केही जिल्ला, प्रदेश वा क्षेत्रमा भएपनि नमूना कामहरु गरेर देखाउनु पर्छ । नयाँ शक्ति आयो भने यो काम गर्ने रहेछ है भनेर देखाउनै पर्छ । हामीले पर्यटन, जलस्रोत, जडिबुटी, मानव संशाधनको प्रयोग गरेर यहीँ स्वरोजगार बनाउनेतिर सोच्नु पर्दछ । हामी प्राक्टीकल्ली काममा लाग्यौं भने जनताले विश्वास गर्नेछन् । त्यसभन्दा अगाडि नेतृत्वले नै पहिले आफूले गरेर देखाउनु पर्छ । भनेर मात्रै होइन गरेर देखाउनु पर्ने बेला आएको छ । नमूनायोग्य कामहरु सानो ठाउँमा गर्‍यौं भनेपनि त्यसको प्रभाव देशैभरि पर्छ । हामी त्यो पनि गर्ने कोशिसमा छौं । हामीले लेख्ने दस्तावेजहरु त छँदैछन् । हामी बढी आदर्शवादी हुनु जरुरी छैन, व्यवहारत जानुपर्छ । यसो गर्दा यो देशको नेतृत्व गर्ने प्रमुख राजनीतिक शक्ति यही हुन सक्छ भन्ने विश्वास गरेर जनताले नयाँ शक्तिलाई भोट हाल्नेछन् । त्यो दिन छिट्टै आउने छ । त्यसका लागि नयाँ शक्ति पार्टीका अभियन्ताहरुले मिहिनेत गर्नुपर्नेछ । हामी त्यो अभियानमा लागिरहेका छौं ।