" /> मैले यसरी मतदान गर्ने निर्णय गरेँ, तपाईंले नि ... | नयाँ शक्ति नेपाल

मैले यसरी मतदान गर्ने निर्णय गरेँ, तपाईंले नि ...

डा. विवेकबन्धु रेग्मी
- १४ मंसिर २०७४

म नवलपरासी जिल्लाको मान्छे, हाल दाङ जिल्लामा कार्यरत छु । कार्यव्यस्तताको कारणले मैले थाहा पाउन सकेको छैन कि मैले भोट हाल्ने क्षेत्रबाट कुन-कुन पार्टीका को-को र कस्ता-कस्ता उम्मेदवार उठेका छन् । त्यसैले प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभाको लागि कसलाई भोट दिने भन्ने कुरामा हालसम्म अनिर्णित नै छु । भोट हाल्न गृह जिल्ला पुगेपछि र त्यहाँको पछिल्लो गतिविधिबारे बुझेपछि पक्कै पनि भोट हाल्ने समयसम्म निर्णय गर्न सकुँला ।

यद्दपि देशको पछिल्लो राजनीतिक विकासक्रम बारे समाचार, अखबार, अनलाईन तथा प्रिन्ट मिडियाबाट थाह भए बमोजिम समानुपातिक तर्फको भोट चाहिँ यसपाली नयाँ शक्ति नेपाल पार्टीको 'आँखा' चिन्हमा दिने निर्णय गरेँ । मैले आखिर समानुपातिकको लागि 'आँखा' चिन्ह नै रोज्न किन प्रेरित भए भन्ने विषयमा केहि कुरा राख्न चाहेँ ।

इतिहासले पुष्टि गरिसकेको छ नेपालमा स्वर्गीय वि. पी. कोइराला पछिका भिजन भएका नेता डा. बाबुराम भट्टराई हुन् । डा. भट्टराईले छोटो समयको लागि अर्थमन्त्री र त्यसपछि प्रधानमन्त्रि बन्दा नै आफ्नो विकासवादी कामले यो कुराको छनक दिईसक्नुभएको छ । समकालिन नेपालको सबैभन्दा विकासवादी नेता उहाँ नै हुनुहुन्छ भन्ने कुरा आम जनताले मात्र नभई, उच्च पदस्थ प्रशासकहरु र अन्य प्रतिष्पर्धी पार्टीका नेताले पनि स्वीकार गरेको अवस्था छ ।

हिजोका विद्रोही पक्षहरुको संलग्नतासहित संविधानसभाबाट संविधान जारी भैसकेपछि फेरिपनि राजनीतिक मुद्दामा रुमल्लिने छुट संविधान स्वीकार गर्ने कुनैपनि दल वा नेतालाई छैन अब । अबको युग आर्थिक समृद्धिको हो । आर्थिक समृद्धिको लागि सबैभन्दा उपयुक्त पात्र को हुनसक्छ - ध्वंश गर्न अब्बल ठहरिएकाहरु कि भ्रस्टाचार गर्न अब्बल ठहरिएकाहरु कि विकास-निर्माणका लागि अब्बल ठहरिएकाहरु ? (यद्दपी निरंकुशतन्त्रको अन्त्य गर्ने ध्वंश नै समृद्धिको युगको जननी हो जसको श्रेय विगतमा विभिन्न आन्दोलन र क्रान्तिको नेतृत्व गर्ने दल र तीनका नेताहरुलाई जान्छ ।) यो प्रश्न मेरो मनमा उठ्यो ।

यसको उत्तर खोज्ने क्रममा सबैभन्दा उपयुक्त विकल्पको रुपमा मैले डा. बाबुराम भट्टराई र उनले नेतृत्व गरेको पार्टी "नयाँ शक्ति नेपाल" नै देखेँ । ध्वंश गर्न बनेको पुरानै ढाँचाको पार्टीले विकास र समृद्धिको नेतृत्व गर्न सक्दैन भनेर जसरी उहाँले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा पनि आफु संलग्न भएको पार्टी नै छोडेर नयाँ उत्पादन र निर्माणको नेतृत्व गर्ने पार्टीको निर्माण गर्नुपर्छ भनेर लाग्नुभयो, यसमा ठुलो राजनीतिक इमान्दारिता छ भन्ने मलाई लाग्यो । यद्यपि, उहाँ कति सफल हुनुहुन्छ वा हुनुहुँदैन भन्ने कुरा भविष्यले देखाउँला । तर इमान्दार प्रयत्न गर्नेलाई एउटा मौका त दिनैपर्छ भन्ने लाग्यो र समानुपातिक तर्फको भोट "आँखा" चिन्हमा नै दिने विचार गरे ।

अहिलेको संविधानमा राष्ट्रिय पार्टी बन्नको लागि कम्तिमा पनि ३ प्रतिशत मत ल्याउनुपर्ने बाध्यकारी व्यवस्था रहेछ । डा. भट्टराईले जुन भिजनका साथ विकास र समृद्धिको वैकल्पिक राजनीतिको अभियानमा लाग्नुभएको छ, उहाँले नेतृत्व गरेको पार्टी राष्ट्रिय पार्टी बन्न सकेन भने उहाँको अभियान पक्कै पनि कमजोर हुनेछ । यदि नेपालको विकास र समृद्धिको लागि उहाँले महत्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ भन्ने लाग्छ भने यसपाली उहाँले नेतृत्व गरेको पार्टीलाई राष्ट्रिय पार्टी बनाइदिनको लागि भएपनि समानुपातिकमा सबै नेपालीले आफ्नो दलीय आस्थाभन्दा माथि उठेर एकपटक विचार गर्नैपर्छ जस्तो लाग्यो मलाई ।

समृद्धि, विकास र जनसेवाको कुरा गर्न र नारा दिन आज सबै बाध्य छन् । जनसेनाको भरण-पोषणको नाममा करोडौँको राष्ट्रिय ढुकुटी कुम्लाउनेहरु पनि आर्थिक समृद्धिका नारा घन्काउँदै छन् । माफियातन्त्रमार्फत साधारण नेपालीको पहुँचलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको अधिकारबाट विमुख राख्नेहरु नै जनताको शिक्षा र स्वास्थ्यको ग्यारेन्टी लिने भन्दै हिंडेका छन् । राष्ट्रको उद्योग, कल-कारखानाहरुलाई बन्द गराई रोजीरोटीको लागि युवावर्गलाई विदेशिन बाध्य गराउनेहरु नै रोजगारीको ग्यारेन्टी लिने कुरा गर्दैछन ।

एकफेर अहिले वाम र लोकतान्त्रिक भनेर ध्रुविकृत भएका दलहरुको सुक्ष्म मुल्यांकन गरौँ । चुनावी दौरान अन्तर्गत यिनीहरुले एकापसमा जतिसुकै हिलो छ्यापा-छ्याप गरेपनि राज्य सत्ताको दोहन गर्ने र भ्रस्टाचार गरी बाँडीचुँडी खानेकुरामा यिनीहरुबीच मिलेमतो नै भएको देखियो । राज्यलाई बुझाउनु पर्ने ३३ अर्ब पूँजीगत लाभकर नतिरी अटेरी गरिरहेको एनसेलको कर छुट गराउन यी दलहरुबीच कसरी अभूतपूर्व एकता देखापर्‍यो ? किन अहिले धुर्विकरणमा लाग्ने कुनैपनि दलले यो प्रकरणको विरोध गरेनन् ? यो कुरा असाध्यै विचारणीय छ ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राज्यविरुद्ध गरिएको यो कर छलि प्रकरणको निरन्तर विरोध गरिरहनु भयो । भोलि निर्वाचनपछि मतपरिणाम अनुसार यिनै शक्ति वाम र लोकतान्त्रिकको नाममा सत्तापक्ष र प्रतिपक्षको नाटक मन्चन गर्लान् । तर, राज्यशक्तिको दोहन गर्ने र अकुत सम्पति कमाउने कुरामा यिनीहरु एकमत नै हुने कुरा एनसेलको कर छलि काण्डले प्रष्ट गरायो । यस्तो परिस्थितिमा कथित वाम र लोकतान्त्रिक बाहेक पनि एउटा छुट्टै शक्तिको संसदमा बलियो उपस्थितिको आवश्यकता टड्कारो देखिन्छ जसले एनसेलको कर छलि जस्ता राज्य शक्तिको दोहन गर्ने र भ्रस्टचार गरी राज्यलाई कंगाल बनाउने प्रवृत्तिको विरोध गर्न सकोस् । त्यस्तो अवस्था फेरी पनि आएमा जनताको ध्यान आकृष्ट गराउन सकोस् । (अन्यथा राज्य लुटिईरहेने र जनता ठगिईरहने स्तिथि पैदा हुने देखिन्छ) त्यस्तो भरपर्दो जनमैत्री शक्ति पनि अहिलेको परिप्रेक्क्ष्यमा नयाँ शक्ति नेपाल नै हुनसक्दछ भन्ने मेरो ठहर हो ।

यद्यपि विकासवादी नेताहरु अन्य दलमा छँदै छैनन् भन्ने चाहिँ पटक्कै होइन । तर, तिनको मूल नेतृत्वको ध्यान मूलत: सत्तालिप्सा र भ्रष्टाचारमा छ भन्ने कुरा प्रष्ट देखिन्छ । अन्य दलका जनसेवी र विकासवादी नेताहरुले पनि नेतृत्वमा पुग्ने गरी संघर्ष गर्न सकून् । तिनलाई हामीले पनि सघाऔँ । तसर्थ, प्रत्यक्षमा पार्टी नेहेरौँ । विना आग्रह-पूर्वाग्रह उमेदवारी दिने व्यक्ति हेरौँ । समानुपातिकमा सबै नेपालीले आफ्नो दलीय आस्थाभन्दा माथि उठेर एकपटक विचार गर्नैपर्छ जस्तो लाग्यो मलाई । समानुपातिकमा भोट हाल्दा आफ्नो विगतको दलीय आवद्धता भन्दा माथि उठेर सोचौँ । आँखा खोलौँ । पुराना पार्टीहरुको कुसंस्कार, सत्तालिप्सा र भ्रष्टाचारी प्रवृति, डनवाद र धनवादलाई तिरस्कार गरेको सन्देश दिने गरी समानुपातिकमा आफ्नो अभिमत प्रकट गरौँ ।