अनुशासन आयोगको काम दण्ड दिने मात्रै त होइन नि ! : परशुराम खापुङ

प्रमुख आयुक्त, अनुशासन आयोग, नयाँ शक्ति पार्टी, नेपाल
- २२ कात्तिक २०७३


नयाँ शक्ति पार्टी, नेपालले अनुशासन आयोगमा नियुक्त गरेपछि के कस्ता काममा व्यस्त हुनुहुन्छ ?
नयाँ शक्ति पार्टी, नेपालको अनुशासन आयोगको प्रमुख आयुक्तमा नियुक्त भएसँगै केन्द्र, प्रदेश र जिल्लाको अनुशासन आयोगलाई पूर्णता दिने काम गरिरहेका छौं । प्रदेशस्तरीय अनुशासन आयोगका पाँच/पाँच जना र जिल्ला स्तरमा तीन/तीन जना सदस्य हुनेछन् । अहिले आयोगले प्रदेश र जिल्लामा आयोगका सदस्यहरु छनौटको प्रक्रिया चलिरहेको छ । प्रत्येक जिल्ला संयोजकहरुलाई अनुशासन आयोग गठन गर्नका लागि सदस्यहरुको उमेर योग्यता बारेमा लेखिपठाइएको छ । अहिले हामी आयोगका कामलाई व्यवस्थित रुपले कसरी चुस्त, दुरुस्त बनाउन सकिन्छ, त्यसबारे गृहकार्य गरिरहेका छौं ।


आयोगको काम, कर्तव्य र अधिकार के हो नि ?
नयाँ शक्ति पार्टी, नेपालको अन्तरिम विधान २०७३ ले अनुशासन आयोग गठन गर्ने व्यवस्था गरेको छ । मूलरुपमा त्यसको उद्देश्य र लक्ष्य भनेको पार्टीभित्र सबै नेता, कार्यकर्ताहरुले पार्टीमा मेरो सहभागिता हुन्छ, मप्रति अन्याय हुँदैन । पार्टीभित्र कुनै विवाद भए लोकतान्त्रिक, प्रजातान्त्रिक तथा न्यायपूर्ण तरिकाले न्यायनिसाफ हुन्छ भन्ने बनाउनुनै आयोगको मुख्य काम हो । अर्को कुरा अनुशासित कार्यकर्ता, अभियन्ता र नेताहरुको जमात तयार गरेर पार्टीलाई चुस्त, दुरुस्त बनाउँदै आगामी दिनमा हुने जुनसुकै तहको निर्वाचनमा पनि जनताको समर्थन लिएर नयाँ शक्ति पार्टी, नेपाललाई पहिलो पार्टी बनाउने हाम्रो लक्ष्य छ ।


समग्र क्षेत्रमा अनुशासनको खडेरी परेको बेला तपाईहरु कसरी अनुशासित बन्नुहुन्छ ? त्यसका आधारहरु के–के छन ?
हो, हामीले यतिबेला चौतर्फीरुपमा अनुशासनको खडेरी परेको देखेका छौं । नयाँ शक्ति पार्टी, नेपालले त्यो खडेरीलाई तोड्ने भनेको छ । हामीसँग सम्भावना र चुनौतीहरु साथसाथै छन् । नयाँ शक्ति पार्टी, नेपाल अरु पार्टीजस्तै एउटा पार्टी थप गरेर निर्वाचन आयोगमा दर्ता भएको होइन । यो वैकल्पिक विचारधारा भएको पार्टी हो । हामी नेपाली राजनीतिमा विकल्पसहितको नयाँ शक्ति हौं । पहिलो कुरा त हामी सबै नयाँ बन्ने प्रयत्नमा छौं । हामी हाम्रो पार्टीभित्र अनुशासनको पालना गर्नेछौं । हामी आफैं अनुशासित बनेपछि हाम्रो पार्टीले आम नेपाली जनताको साथ पाउनेछ । त्यसपछि हामीले समाजभित्र हुने भ्रष्टाचार, वेथितिकाविरुद्ध आवाज उठाउने छौं । हामीले जे भनेका छौं, त्यही कुरा व्यवहारबाट पुष्टि गर्नेछौं ।


आर्थिक समृद्धिबिना तपाईहरुले भनेका कुरा कसरी लागू हुन सक्लान त ?
मुलुकमा व्याप्त अनियमितताको अन्त्य गर्नका लागि आर्थिक समृद्धिको ठूलो खाँचो छ । हामी सबैले आर्थिक समृद्धिको कुरा गरिरहेका छौं । समृद्धिका लागि राजनीतिक स्थिरता चाहिन्छ । नेपालमा अहिले पनि राजनीतिक स्थिरता छैन । ९/९ महिनामा सरकारको नेतृत्व परिवर्तन भइरहेको छ । त्यत्ति मात्र होइन, अहिलेको सरकारको आयु गठनकै बेला ९ महिना नै तोकिएको छ । यस्तो हुनु देश विकासको लागि ठूलो दुर्भाग्य हो ।
नेपालको राजनीतिमा सबैभन्दा चिन्ता र डरलाग्दो विषय पनि यही हो । यसको समाधानको लागि सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्छ । त्यसका लागि कार्यकारी राष्ट्रपतिको नारा लिएर हामी अगाडि जानेछौं ।


अर्को कुरा मुलुकको स्थायित्व र समृद्धिका लागि स्थिर सरकार हुनैपर्छ । हाम्रो मुलुक आर्थिक रुपमा पछाडि पर्नुको मूल कारण स्थिर सरकार बन्न नसक्नु नै हो । अब हामी स्थिर सरकार निर्माणको लागि कार्यकारी राष्ट्रपतिको मुद्दालाई जोडतोडका साथ उठाउछौं । गतवर्ष मात्रै संविधानसभाबाट नयाँ संविधान जारी हुँदा समेत विभिन्न जाति, वर्ग, क्षेत्र र समुदायले अपनत्व महसुस गर्नेगरी संविधान निर्माण हुन सकेन । अब संविधान संशोधनमार्फत असन्तुष्ट पक्षलाई सम्बोधन गर्नुपर्छ भन्ने अभियानमा हामी छौं । साथसाथै मुलुकको स्थिरताको लागि संविधान संशोधनमार्फत कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ भन्ने हामी अभियान नै चलाउँछौं । संविधान संशोधनमार्फत नै भएपनि राष्ट्रपतीय प्रणालीमा जान सकियो भने सरकारको स्थायित्व हुन्छ । सरकारमा स्थायित्व भएपछि सुशासन, आर्थिक विकास र समृद्धि लगायतका कुराहरु लागू हुनेछन् ।


नेपालको इतिहासलमा कुनै पनि नयाँ पार्टीको निर्माण पूरानो पार्टीका कमजोरीका कारण हुने गरेको पाइन्छ । अहिले नयाँ शक्ति पार्टी पनि त्यही जगमा निर्माण भएको भन्नुहुन्छ ? तपाईहरु कसरी नयाँ बन्दै हुनुहुन्छ नि ?
यो कुरा सही हो । मुलुकको वस्तुगत परिस्थितिलाई समेटर नै यो प्रश्न आएको हो । संसारको नियमनै परिवर्तन चाहानु हो । नेपाल पनि यसबाट मुक्त हुन सक्दैन । त्यसैले त विभिन्न कालखण्डमा परिवर्तनका निम्ति आन्दोलन भइरहेका छन् । २००७ सालमा राणाशासन, २०४६ सालमा पञ्चायतको अन्त्य हुनु पनि परिवर्तनको चाहनाले हो । ०६२/०६३ को आन्दोलनले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा रुपान्तरण गर्‍यो । यी परिवर्तनहरु आ–आफ्नो ठाउँमा सही छन् । नयाँ शक्ति पार्टीले परिवर्तनको यो तहलाई स्वीकार गरेको छ । परिवर्तनको फल नेपाली जनताले प्राप्त गरे कि गरेनन यो मुख्य सवाल हो । पूराना पार्टीहरुले परिवर्तनको आभास जनतालाई दिन सकेनन् । अहिले भएका दलहरुबाट यो कुरा सम्भव पनि छैन । त्यसैले त नयाँ वैकल्पिक शक्तिको खाँचो भएको हो । विनाशकारी भूकम्प गएको डेढ वर्ष भयो । ती जनताको हालत अहिलेसम्म के छ ? हामी देखिरहेका छौं । भाषणमा त प्रधानमन्त्री, मन्त्री, नेताहरुले छिट्टै राहत दिन्छौं, पुनर्निर्माण गर्छौ भनेका छन् । तर, व्यवहारमा केही पनि गर्न सकिरहेका छैनन् । अर्कातिर युवा वर्ग बाध्यताबश खाडी लगायतका विदेशी मुलुकमा गएका छन्, त्यसलाई रोक्न र यही मुलुकमा उद्योगधन्दा, कलकारखाना खोलेर रोजगारी दिने काम गर्न सकिरहेका छैनन् । नयाँ शक्ति नेपालले यो कुरालाई ख्याल गरेको छ । नेपाल जस्तो प्राकृतिक विविधताले भरिपूर्ण मुलुक संसारभर कतै पनि पाइँदैन । यहाँ हिमाल छ, पहाड छ, तराईका समथर फाँट छन् । हामीसँग जंगल, जडिबुटी, पानी सबै कुरा छ । केवल सुशासनको मात्रै कमी छ । नयाँ शक्ति पार्टी, नेपालले यी सबै कुरामा ध्यान दिएर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोहोर्‍याउने छ । हामी पूराना पार्टीहरुले निर्माण गरेको अविश्वासको जगलाई पूर्ण रुपमा भत्काएर जनतामा आशा र विश्वास जगाउने काम निश्चित रुपमै गर्नेछौं । हाम्रो पार्टी निर्माणको आधार पनि यही हो ।

पार्टीभित्र नेता, कार्यकर्ताका बारेमा उठ्ने अनुशासनका सवाललाई तपाईहरुले अनुसन्धान गरेर प्रतिवेदन दिनुहुन्छ, त्यसको कार्यान्वयन हुन्छ भन्ने आधार के ?
नयाँ शक्ति पार्टी, नेपालको अनुशासन आयोगले प्रतिवेदन मात्रै दिँदैन । कार्यान्वयन गर्न निर्देश पनि गर्छ । कानुनमा समेत प्राकृतिक न्यायको सिद्धान्त हुन्छ । हामी यो कुरालाई पूर्णत पालना गर्छौै र कसैलाई पनि अन्याय हुन दिँदैनौं । कोही कसै विरुद्ध अरु नै कसैले उजुरी ग¥यो भने उजुरीकर्ताले किन र के कारणले उजुरी गरेको हो त्यसको प्रतिउत्तर दिने, सफाईको मौका पाउने अधिकार हुन्छ । त्यो हामीले सतप्रतिशत पालना गर्छौ । साथसाथै कसको विरुद्ध के उजुरी परेको हो त्यसका बारेमा समेत जानकारी दिनेछौं । निर्णय गर्नुभन्दा पहिले राजनीतिक वा फौजदारी कुन किसिमको उजुरी हो, त्यसै अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउछौं । सुधारको निम्ति बढी प्रयत्न गर्छौ । त्यसपछि मात्रै निर्णयको तहमा पुग्छौं । जिल्लाले गरेको निर्णय चित्त बुझेन भने प्रदेश र प्रदेशले गरेको निर्णयमा चित्त नबुझे केन्द्रीय तहमा जाने व्यवस्था छ । केन्द्रीय निकायले अनुसन्धान पछि गर्ने निर्णय लागू गर्नुपर्छ भनेर भन्छौं । पार्टीको विधान वैधानिक व्यवस्था अनुरुप नै बनेको हो ।


हामी नयाँ विधि र प्रक्रिया लागू गरेर मुलुकको सामू, अरु दलको सामू अनुशासन आयोगले यसो गर्दोरहेछ, यसो गर्दा अनुशासन भंग पनि नहुने, सुधार गर्ने मौका पनि दिने प्रक्रिया अवलम्बन गर्छौ । यस सन्दर्भमा अरु दलहरुले के गर्छन् भन्दा पनि हामी प्रतिवेदन दिएर बस्ने होइन, निर्णय गर्छौ । त्यो निर्णयलाई केन्द्रीय कार्यसमितिले लागू गर्नेछ । त्यसैले त हामी नयाँ शक्ति हौं । जनतालाई हामी नयाँ हौं भन्ने आभास समेत दिन्छौं ।

पुराना पार्टीहरुभित्र हुँदै आएको अभ्यास, नेताले कमजोरी गरे कार्यकर्ताले ढाक्ने, कार्यकर्ताले कमजोरी गरे नेताले ढाक्ने हो । यस्तो प्रचलनको अन्त्य कसरी गर्नुहुन्छ ? आखिर नयाँ शक्ति पनि यहि समाजबाट जन्मिएको हो नि ?
यस अगाडि हाम्रो समाजको यथार्थता यही थियो । हामी त्यही संस्कार, संस्कृति र रीतिथितिबाट आएका हौं । नयाँ शक्ति पार्टी, नेपाल अनुशासन आयोगको अगाडि यो मुख्य चुनौतीको विषय हो । हामीले कमीकमजोरी गर्नेहरुलाई कारवाहीको प्रक्रियामा नल्याउने हो भने नयाँ शक्ति पार्टी, नेपालको अनुशासन आयोग निर्माणको औचित्यता नै छैन । त्यसैले हामी कमजोरीहरु भएका ठाउँमा आफ्नाहरुलाई जोगाउने र अरुलाई अन्याय गर्नेगरी पक्षपातपूर्ण व्यवहार हुन दिँदैनौं । अर्को कुरा यो आयोगको काम दण्ड दिने मात्रै त होइन नि ! हामी रुपान्तरणको प्रक्रियामा लैजान्छौं । त्यसभन्दा पहिला सुधार गर्ने प्रयत्न गर्नेछौं । निर्णय गर्ने भनेको त सुधार, रुपान्तरणलगायत सबै प्रक्रिया पूरा भएपछि मात्रै हो । निर्णय गर्ने बेलामा हामी पक्षपात गर्दैनौं । यदि हामीले पनि त्यस्तो गर्‍यौं भने हामी कसरी नयाँ शक्ति हुन्छौ ? त्यस्तो भयो भने अरु पार्टीको अनुशासन आयोग र नयाँ शक्तिको अनुशासन आयोगमा के फरक भयो र ? हामी त्यो हुन दिँदैनौं ।


पार्टीको मूल घेरा तोडेर बोल्ने र व्यवहार गर्ने नेता कार्यकर्तामाथि आयोगले कसरी काम गर्छ ?
हाम्रो अनुशासन आयोग भनेको नयाँ शक्ति पार्टी, नेपाल सम्बद्ध नेता, कार्यकर्ता, अभियन्ताहरुसँग सम्बन्धित विषय हो । अहिले कल्पना गरेर यसो गर्ने, उसो गर्ने भन्नु उपर्युक्त हुँदैन । हामी विधि, प्रक्रिया र सिस्टम निर्माण गर्नेछौं । त्यसका निम्ति हाम्रो अन्तरिम विधान छ । आयोगको कार्यादेश, नियमावली छ । राजनीतिक प्रकृतिको मुद्दाबाहेक फौजदारी मुद्दा, नैतिक पतन हुने मुद्दा हाम्रा नेता कार्यकर्ता विरुद्ध अदालतमा सुरु भयो भने त्यसको पनि एउटा प्रक्रिया छ । यदि त्यस्तो मुद्दा पर्‍यो भने के गर्ने भन्ने सवालमा पनि हामी प्रष्ट छौं । कुनैकुनै राज्यले चलाएको मुद्दाको बारेमा हाम्रो अनुशासन आयोगले गोप्य अनुसन्धान गर्नुपर्ने हुनसक्छ । त्यतिबेला हामी आफ्नो प्रक्रिया अपनाएर काम गछौं । तर, अहिले मुद्दा नपरीकन यसो भए यसो गर्छौ भन्नु उपर्युक्त हुँदैन ।


समाजमा भइरहने कुनै पनि विषयवस्तुमा नेता कार्यकर्ताले पार्टीको धारणा विपरीत तुरुन्त टिकाटिप्पणी गर्नेगरेको हामीले देखेसुनेका छौं ? यस्ता सवालमा नयाँ शक्ति नेपालले नेता कार्यकर्ताहरुलाई अनुशासित बनाउने सवालमा के सोच्नु भएको छ ?
समाजमा विभिन्न किसिमका घटनाहरु घट्ने गर्दछन् । ती विषयवस्तुमा व्यक्तिहरुले आ–आफ्नो धारणा सार्वजनिक गर्नेगरेका छन् । राष्ट्रियता, जनजिविका लगायत सामाजिक घटनाक्रमहरुमा पार्टीको आधिकारिक धारणा सम्बन्धित निकायबाट सार्वजनिक गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौं । अर्को कुरा नयाँ शक्तिका नेता कार्यकर्ताहरुलाई यो यो विषय अनुशासनभित्र पर्दछन् । आचारसंहिता यी हुन् त्यसभित्र रहेर आफ्ना धारणाहरु सार्वजनिक गर्नुपर्छ भनेर जानकारी गराउँछौं । त्यति गरिसकेपछि थप केही भनिरहनु पर्छ जस्तो मलाई लाग्दैन । विषयवस्तुको गाम्भीर्यतालाई बुझ्न नयाँ शक्तिका सबै अभियन्ता नेता, कार्यकर्ता र सक्षम हुनुहुन्छ ।