नयाँ शक्ति नेपालकाे पार्टी स्थापना घोषणा सभामा क–कसलाई छ निम्ता ?

२६ जेठ २०७३

काठमाडौं । नयाँ शक्ति नेपालले जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा हुने पार्टी घोषणामा देश तथा विदेशबाट नयाँ शक्तिका संस्थापक र अतिथिहरु सहभागी हुने भएका छन् । एक लाख भन्दा बढी पार्टी सदस्यलाई संस्थापक सदस्य बनाएर घोषणा गर्न लागेको नेपालमा यो पहिलो पार्टी हो ।

नयाँ शक्ति नेपालका प्रवक्ता एवं प्रचार–प्रसार उपसमितिका संयोजक खिमलाल देवकोटाले दिनुभएको जानकारी अनुसार पार्टी घोषणामा देश तथा विदेशका नयाँ शक्तिका संस्थापकहरु सहभागी हुनेछन् । देशका ७५ जिल्ला र विदेशका २४ देशमा नयाँ शक्तिको अन्तरिम पार्टी कमिटी छ । घोषणासभामा विदेशका सबै कमिटीबाट सहभागिता रहनेछ ।

पार्टी स्थापना तथा घोषणासभामा नयाँ शक्ति नेपालले विभिन्न २५ देशका राजदूत तथा कुटनीतिक नियोगलाई निम्ता पठाएको छ । त्यसैगरी देशका सबै राजनीतिक पार्टीका प्रमुख नेता र सांसदलाई समेत निम्ता गरिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपासहित सबै मधेसी दललाई निम्ता पठाईसकिएको छ । यसैगरी पत्रकार, मानवअधिकारवादी, नागरिक समाजलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई पनि निम्ता गरिएको छ ।

रंगशालामा गर्ने कार्यक्रममा सहभागी हुन काठमाडौंका ४ मुख्य ठाउँबाट सहभागीलाई रंगशाला पठाउने व्यवस्था समेत मिलाइएको छ । जसअनुसार कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट झाँकी सहितको र्याली रंगशाला प्रवेश गर्नेछ । राजधानी बाहिरबाट आउने सहभागीले आफैं गाडीको व्यवस्था गरेर आएको खण्डमा ती बसहरु र्याली सुरु हुने स्थानसम्म जान दिनेगरी ट्राफिक प्रहरीसँग समन्वय भैरहेको छ । त्यसका लागि ट्राफिक प्रहरीलाई सहयोग गर्न नयाँ शक्ति नेपालले आफैं सडकमा खटिने युवा स्वयंसेवी तयार पारेको छ । नयाँ शक्ति नेपालको पार्टी घोषणामा पाँच सय जनालाई मञ्चमा बस्ने व्यवस्था मिलाईएको छ । तर शुभकामना भने प्रतिनिधिमूलक ढंगले लिइनेछ । कार्यक्रमको प्रचार-प्रसारको लागि देश तथा विदेशका सञ्चार माध्यममा आवद्ध तीन सयभन्दा बढी सञ्चारकर्मीलाई पासको व्यवस्था मिलाईएको र छिटो समाचार पठाउन आवश्यकलाई ध्यानमा राखेर मिडिया सेण्टर समेत रहने प्रचार–प्रसार उपसमितिले जनाएको छ ।