रंगशालामा नयाँ शक्तिको छुट्टै मञ्च व्यवस्थापन, नेता सर्वसाधारणसँगै चौरमा

२७ जेठ २०७३

काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी घोषणा राष्ट्रिय भेलामा नेता कार्यकर्ता दर्शक दिर्घामा सँगसँगै बस्ने भएका छन् ।


जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिएको पार्टी घोषणा राष्ट्रिय भेलामा नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई छुट्टै मञ्चको व्यवस्थापन नगरिने नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषद सचिवालय सदस्य तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक कुमार पौडेलले जानकारी दिनुभयो ।


‘हाम्रो मञ्च व्यवस्थापन परम्परागत हुँदैन, पार्टीका नेतालाई मञ्च र कार्यकर्तालाई चौरमा राख्ने अभ्यासको विकल्पमा हामीले मञ्च व्यवस्थापन गरिरहेका छौं,’ संयोजक पौडलले भन्नुभयो, ‘हाम्रा सबै सचिवालय सदस्य र केन्द्रीय सदस्यहरु संस्थापक सदस्यहरुसँग चौरमा सँगसँगै बस्नुहुन्छ ।’


नयाँ शक्तिका नेता र कार्यकर्तालाई छुट्टै आसन ग्रहणको व्यवस्था नभएको उहाँले जानकारी दिनुभयो । ‘तर अन्य पार्टीका नेताहरु, भाइचारा, अन्य अतिथिहरु र सञ्चारकर्मीको लागि मञ्चको व्यवस्थापन गर्ने तयारी गरेका छौं,’ उहाँले भन्नुभयो । सबै अतिथिहरुको मञ्चसमेत दर्शकदिर्घापट्टि नै व्यवस्था गरिएको र मुख्य मञ्चमा उद्घोषक मात्र रहने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।


उहाँले परम्परागत ढंगले रिबन काटेर, बलेुन उडाएर उद्घाटन गर्ने कार्यक्रम नरहेको र संस्थापक सदस्यहरुले सामूहिक शपथ ग्रहण गरेर कार्यक्रम अगाडि बढाइने जानकारी दिनुभयो । रंगशालाको संवेदनशीलतालाई ध्यानमा राखेर मञ्च बाहिरैबाट फिट गरेर ल्याइने तयारी गरिएको उहाँले बताउनुभयो ।


‘रंगशालालाई केही चलाउन, खन्न र खोस्रन नपाइने हुनाले बाहिरैबाट फिट गरेको मञ्च ल्याउँछौं,’ पौडेलले भन्नुभयो, ‘भूकम्पपछि रेड स्टिकर टाँसिएकोले प्याराफिटको प्रयोग नगरिने र सबै जना चौरमा बस्ने व्यवस्था छ ।’


रंगशालाको पूर्वी गेटबाट अतिथि, दक्षिण गेटबाट सर्वसाधारण प्रवेशको व्यवस्था गरिएको र सुरक्षाका लागि सबै प्रवेशद्वार खुला गरिने संयोजक पौडेलले जानकारी दिनुभयो । रंगशालामा खानेपानी, स्वास्थ्य डेस्क, डस्टबिनहरु, शौचालयलगायतको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।


सहभागीहरुको सुविधाको लागि मञ्चसँग र मञ्चको दायाँ–बायाँ गरी तीन वटा ठूलो एलइडी स्क्रीन र मुल गेट अगाडि पनि एलइडी स्क्रीनमा कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मञ्च व्यवस्थापन गरिरहेको क्याप्टेन आउटडोर प्रालिका अनिल थमनले जानकारी दिनुभयो । हरेक डिस्प्लेमा कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी पनि प्रसारण गरिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

 


डाउनलोड