सद्भावनाका उपाध्यक्ष र माओवादीको केन्द्रीय सदस्यसहित दर्जनौं नेताकार्यकता नयाँ शक्तिमा

९ असार २०७३

काठमाडौं । सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व सभासद शिवचन्द्र कुशवाहा र माओवादी केन्द्रका केन्द्रीय सदस्य किरणकुमार साहसहित तीन दर्जनभन्दा धेरै नेता तथा कार्यकताहरु नयाँ शक्तिमा आवद्ध हुनुभएको छ ।


नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बिहीबार आयोजित एक कार्यक्रममार्फत उहाँहरु नयाँ शक्तिमा समाहित हुनुभएको हो । यसैगरी एमाओवादी पूर्व भोजपूरा राज्य सचिवालय सदस्य बसन्त नेपाल, माओवादी केन्द्रका रौतहट जिल्ला सदस्यहरु जयप्रकाश साह, चन्द्र भूषण प्रसाद साह, बारा सदस्य होश नारायण यादव, एमाले रौतहट जिल्ला सदस्य रवि मिश्र, नेपाली कांग्रेस रौतहट जिल्ला सदस्य राकेश झालगायत विभिन्न पार्टीका दजर्नौ तीन दर्जन नेता कार्यकर्ता पनि नयाँ शक्तिमा समाहित हुनुभएको छ ।


विभिन्न पार्टीका नेता कार्यकर्तालाई नयाँ शक्तिमा स्वागत गर्दै नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्ति दोस्रो, तेस्रो वा चौथो पार्टी बन्नेभन्दा पनि पहिलो पार्टी बनेर समृद्धिको नेतृत्व गर्न गठन भएको बताउनुभयो ।


‘तीन वटै क्लस्टरको एकताबाट राष्ट्रिय एकता कायम गर्दै समृद्धिको नेतृत्व गर्नु नयाँ शक्तिको ध्येय हो,’ संयोजक भट्टराईले भन्नुभयो, ‘अधिकारसम्पन्न जनताको अधिकारसहितको एकताबाट मात्र यो सम्भव छ ।’
संयोजक भट्टराईले नयाँ शक्ति कुनै पुरानो पार्टीको परिमार्जित रुप नभई यो जगैदेखिको एकता भएको बताउनुभयो । ‘जसरी मन्दिरमा प्रवेश गर्दा जुत्ता फुकालेर प्रवेश गरिन्छ, त्यसैगरी नयाँ शक्तिमा विगतका आग्रह पूर्वाग्रह त्यागेर नयाँ बन्दै समाहित होऔं,’ उहाँले भन्नुभयो ।


नयाँ शक्तिमा प्रवेश गर्दै सद्भावनाका राष्ट्रिय उपाध्यक्ष तथा पूर्वसभासद शिवचन्द्र कुश्वाहाले ३५ वर्षसम्म व्यवस्था फेर्न राजनीतिमा लागेको भन्दै अब भावी पुस्ताकोलागि राजनीति गर्न नयाँ शक्तिमा प्रवेश गरेको बताउनुभयो । उहाँले नयाँ पार्टीमा समाहित भएपछि पुराना आग्रह, पूर्वाग्रह बिर्सिएर जीवनव्यवहार, कार्यशैली र बोलीचालीमा नयाँ बन्न सम्पूर्ण नवप्रवेशीलाई आग्रह गर्नुभयो ।


नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य किरण कुमार शाहले माओवादीले विगतका आन्दोलनका मुद्दा बिर्सिएर सत्ताकेन्द्रित राजनीतिमा उद्यत रहेको भन्दै मुलुकको नयाँ आवश्यकताको नेतृत्व गर्न नयाँ शक्तिमा समाहित भएको बताउनुभयो ।