चुनावकेन्द्रित काम गर्न र संगठन बिस्तार गर्न संयोजक भट्टराईको निर्देशन

१४ साउन २०७३

धनगढी । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव केन्द्रित काम गर्न र संगठन विस्तार गर्न नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

शुक्रबार धनगढीमा आयोजित पार्टीको ७ नं. प्रदेश स्तरीय पार्टीको विस्तारित बैठक तथा राष्ट्रिय भेलाको भाव सम्प्रेषण कार्यक्रमका बोल्दै भट्टराईले भन्नुभयो, ' 'मुख्य दलहरु चुनाव आफ्नो अनुकूल नभए षड्यन्त्र तिर लाग्न नि सक्छन्, तर नयाँ शक्तिले चुनावलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।'

उहाँले केन्द्रमा जस्तै राजनीतिक ध्रुवीकरणमार्फत स्थानीय स्तरमा पनि पार्टी बिस्तारमा लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिनुभयो । 'आगामी निर्वाचनहरुमा नयाँ शक्तिलाई पहिलो पार्टी बनाउन मेहनत गर्नुहोस्,' उहाँले भन्नुभयो, 'जनता पुराना दलको गतिविधिबाट वाक्कदिक्क भइसकेका छन्, विकल्प दिन हामीले आफूलाई तयार राख्नुपर्छ ।'

प्रशिक्षणको क्रममा संयोजक भट्टराईले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अब केन्द्रमा मात्रै सिमित हुने बताउनुभयो ।  'माओवादी केन्द्रको नाम ठीकै राख्नुभएको हो,' उहाँले भन्नुभयो, 'अब उहाँहरुको जग हुँदैन, हुने त्यही १५ सय को केन्द्र मात्रै हो ।'

राजनीतिक अस्थिरताको कारण देश गम्भीर संकटमा फसेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थाको लागि स्थानीय स्तरदेखि केन्द्रसम्म नै नयाँ शक्तिले अभियान सञ्चालन गर्ने संयोजक भट्टराईले बताउनुभयो ।

कार्यक्रममा पार्टीका सहसंयोजकद्वय रामचन्द्र झा र दुर्गा सोवले क्रमशः विचार एवम् दर्शन र महिला, सामाजिक मुद्दाका विषयमा प्रशिक्षण दिनुभएको थियो भने संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले संगठनात्मक सिद्धान्त, संगठन र विधानको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी परशुराम तामाङले राष्ट्रिय संयन्त्र, संघीयता लगायतका विषयमा र जनक शाहले विकास र समृद्धिको विषयमा प्रशिक्षण दिनुभएको थियो ।  

शुक्रबार नै संयोजक भट्टराईले धनगढी लायन्स क्लब र जेसिसले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नुहुँदै देश र जनताको समृद्धिको नेतृत्व गर्न युवाहरुलाई सुझाव दिनुभयो । उहाँले राजनीतिक दलहरुले इतिहासको ब्याज खाएर मात्र नहुने भन्नुहुँदै नयाँ पुस्ताले देश र जनताकोलागि समृद्धिमार्फत मुलुकको उज्ज्वल भविष्यका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।