जिल्लालाई जस्ताको तस्तै राखेर संघीयता भन्नु जनताप्रतिको धोका हो : डा.भट्टराई

२२ साउन २०७४

झापा । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले आफूलाई नेपालको राजनीतिका महारथी ठान्नेहरुका कारण नै देशको सीमाङ्कन विवाद सुल्झिन नसकेको बताउनुभएको छ ।
उहाँले जिल्ला वा गाउँलाई जस्ताको तस्तै राखेर संघीयता भन्नु जनताप्रतिको धोका हुने धारणा राख्नुभयो । नयाँ शक्ति नेपालको प्रदेश नम्बर १ को कार्यक्रमलाई सम्बोधन गर्न शनिबार बिहान बिर्तामोड पुग्नुभएका संयोजक भट्टराईले उक्त कुरा बताउनुभएको हो ।

आफ्नो निर्वाचन क्षेत्रलाई बिर्ताजस्तै ठान्ने नेताका कारण सीमांकन समेत विवादमा आउने गरेको उहाँको भनाई थियो । उहाँले काँग्रेस, एमाले र माओवादी केन्द्रले संघीयता र शासकीय स्वरुपका बारेमा अझै निर्णय दिन नसकेको बताउनुभयो ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा नगएसम्म नेपालले आर्थिक विकास र समृद्धिको दिशामा गति लिन सक्दैन,’ उहाँले भन्नुभयो, ‘पटक–पटक सत्ता समीकरणमा हुने फेरबदल रोक्न पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ ।’ अहिले सरकारमा को आउँछ र जान्छ भन्नेमा आफ्नो पार्टीलाई कुनै मतलव नभएको भन्दै संयोजक भट्टराईले राष्ट्रियता र लोकतन्त्रको जगमा टेकेर आर्थिक समृद्धिमा जानुको विकल्प नभएको दोहोर्याउनुभयो ।

नयाँ शक्ति कुनै राजनीतिक पार्टीको परिवर्तित रुप नभएको पनि उहाँको भनाई थियो । ‘नयाँ शक्ति कुनै पार्टीको परिवर्तित रुप होईन’ उहाँले भन्नुभयो, ‘नयाँ शक्ति आर्थिक विकास र समृद्धिमा जोड दिने वैकल्पिक राजनितिक पार्टी हुनेछ’ ।

पार्टीको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्न डा.भट्टराई झापा पुग्नुभएको हो । उहाँसँगै पार्टीका सह–संयोजकद्वय रामचन्द्र झा र महेश कर्मोचा, संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, पवक्ता खिमलाल देवकोटा, आर्थिक विभाग संयोजक रामेश्वर खनाल, प्रदेश नम्बर १ संयोजक पासाङ शेर्पा, नायिका तथा नेतृ करिष्मा मानन्धर पनि झापामा हुनुहुन्छ ।

कार्यक्रममा प्रदेश नम्बर १ का जिल्ला, प्रदेश, केन्द्रीय परिषद र विभागका सदस्यको उपस्थिति रहेको छ । राष्ट्रिय भेलाको भाव सम्प्रेषण कार्यक्रम आईतबारसम्म चल्ने प्रदेश संयोजक पासाङ शेर्पाले जानकारी दिनुभयो ।