नयाँ शक्ति नेपालका प्रदेश नं. १ का संयोजक पासाङ शेर्पाको खण्डन

८ भदाै २०७३

मिति २०७३।०५।०५ गते कान्तिपुर दैनिक लगायतका केही सञ्चार माध्यमहरुमा मेरो नाम जोडेर मानव तस्कर गरेको भन्ने आरोपित ब्यहोराका समाचार प्रकाशित भएकोमा अत्यन्त मर्माहित भएको छु । कान्तिपुर जस्तो जिम्मेवार सञ्चारमाध्यमको उक्त कार्यले मेरो मान प्रतिष्ठामा अघात पुर्‍याएकोले दुखित हुँदै यो खण्डन पठाएको छु । खण्डन छापी गलत समाचारवाट पर्न गएको क्षतिबारे स्पष्ट पार्न आग्रह गर्दछु ।
१) समाचारमा उल्लेख भए जस्तो मेरो नाममा कहीँ कतै उजुरी परेको छैन । साथै मलाई आजसम्म कसैले जानकारी गराएको पनि छैन ।
२) समाचारमा उल्लेख भए बमोजिम मेक्सीको जाने कसैलाई पनि भिसाकालागि कहीँ कतै सिफारिश पनि गरेको छैन ।
३) समाचारमा भनिएजस्तो मैले कहीँ कतै मेक्सीको जाने टोलीलाई फर्काएर लिएर आउने जिम्मा मेरो हो भनी हस्ताक्षर गरेको पनि छैन ।
४) सो वापत कसैबाट पैसा लिएको पनि छैन र कसैले पैसा खायो असुल गरिदिन भनी उजुरबाजुर गरेको पनि छैन ।
५) जहाँसम्म तोक्पेगोला समाज सेवा समिति विरुद्धको उजुरीको प्रसंग छ सो संस्थाको समेत यो विषयमा कुनै संलग्नता रहेको व्यहोरा आजसम्म पुष्टि हुन सकेको छैन । त्यसका अलावा म उक्त संस्थाको पनि कुनै पनि जिम्मेवारीमा छैन ।
अत: उक्त समाचार पूर्ण रुपमा असत्य रहेको कुरा सबैमा जानकारी गराउँदै कोही पनि भ्रममा नपर्नु हुन अनुरोध गर्दछु । समाचार प्रकाशित भएपछि मेरो लागि चिन्ता र चासो जाहेर गर्नु हुने मेरा शुभचिन्तकप्रति हार्दिक अभार प्रकट गर्दछु ।

पासाङ सेर्पा
पापुङ ५, ताप्लेजुङ
हाल: बुढानिलकण्ठ काठमाडौं ।