राजनीतिक नेतृत्व सही भए मात्रै समृद्धि सम्भव : संयोजक भट्टराई

२४ भदौ २०७३

स्याङ्जा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्व सही भएन भने देशले विकास र समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । ‘मुख्य कुरा राजनीतिक नेतृत्व हो, नेृतत्वमा सही मान्छे भएन भने विकास र समृद्धि सम्भव हुँदैन’, नयाँ शक्ति पार्टी, नेपाल स्याङ्जाले शुक्रबार वालिङमा गरेको ‘समृद्ध नेपालका लागि आर्थिक विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो – ‘नारा लगाएर मात्र हुन्थ्यो भने पञ्चायत कालमा पनि विकासको मूल फुटाउने कुरा भएकै हो । राजा महाराजाले पनि त्यही कुरा गरेकै हुन् । र, कांग्रेस एमाले माओवादी सबैले पनि भनेकै हुन् । तर विकासको उपयुक्त मोडेल अवलम्बन गर्न नसक्दा विकास सम्भव भएन । नारामा मात्रै सीमित भयो ।’

नेपालको परिवेश सुहाउँदो मोडेलको विकास गरेर समृद्धि हासिल गर्न सकिने बताउँदै विश्वमा प्रचलनमा रहेको पूँजीवादी र समाजवादी दुई मोडलबाट माथि उठेको विकासको मोडेल नै नेपालको लागि वैकल्पिक मोडेल हुने उहाँले बताउनुभयो । ‘विकासका लागि छाडा पूँजीवादी मोडेल पनि होइन र नोकरशाही प्रकारको तानाशाही मोडेल पनि होइन बरु हामी दुवैबाट माथि उठेको विकासको मोडेल खोज्दैछौं’, उहाँले भन्नुभयो – ‘यो त्यस्तो विकासको मोडेल हुनेछ, जसमा नीजि स्वतन्त्रता पनि कायम रहनेछ र राज्यले पनि कल्याणकारी भूमिकासहितको दायित्व निर्वाह गर्नेछ ।’

पूँजीवादी मोडेलले केही मुठीभर व्यक्तिहरु धनी हुने र अधिकांश गरीब हुने तथा राज्यकेन्द्रित समाजवादी मोडेलले निरपेक्ष गरीवी घटाउन मद्दत गरे पनि त्यसले देशको समष्टिगत विकास गर्न नसक्ने उहाँको कथन थियो ।

‘यी दुई वटा मोडेलको बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बहस छ । यी दुवै मोडेलमा सीमाहरु देखापरे । यसको विकल्पको रुपमा सामाजिक लोकतान्त्रिक मोडेलको रुपमा वीपीले नयाँ मोडेल अवलम्बन गर्न खोजे, तर व्यवहारमा त्यो लागू हुन सकेन र अन्तत: त्यो पनि उदारवादी मोडेलकै रुपमा परिचत बन्यो’, उहाँले भन्नुभयो –‘त्यसैले नयाँ मोडेलको कुरा गरेको हो जहाँ व्यक्तिको स्वत्व पनि रहन्छ र सरकारको भूमिका पनि बलियो रहन्छ ।’

आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गरेर परनिर्भरताको अन्त्य गर्दै अन्तरनिर्भरताको अन्तरनिर्भरताको विकास गर्नुपर्ने उहाँले बताउनुभयो । विकाससँगै समृद्धिको समन्यायिक वितरण र आर्थिक असमानता घटाउनु आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो । ‘गरीव र धनीबीचको फाटो अर्थात् आर्थिक असमानता बढ्दै गएको छ । गाउँ र सहरबीचको असमानता बढेको छ । विभिन्न क्षेत्रबीचको असमानता बढेको छ । जातीय असमानता बढेको छ । यी वर्गीय जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य असमानता र विभेद नै नेपालको विकासको बाधक हो’, उहाँले भन्नुभयो – ‘यी समस्याहरुको समाधान गरेमा मात्रै नेपाल समृद्ध बन्न सक्छ ।’
आर्थिक विकासका लागि राज्यले पूर्वाधारजन्य क्षेत्रहरुमा लगानी बढाउनुपर्नेमा उहाँको जोड थियो । त्यस्तै दुई छिमेकीहरुबाट पूँजी, प्रविधि र पर्यटक भित्रयाउनेतर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाई थियो । ‘देशमा राजनीतिक स्थिरता नभएसम्म देशको विकास हुँदैन । ६/६ महिनामा सरकार फेरेर मुलुकको विकास हुँदैन’ – उहाँले भन्नुभयो – ‘नयाँ शक्तिको स्पष्ट धारणा भनेकै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ र कम्तीमा ५ वर्ष जनताले चुनेको व्यक्तिले शासन चलाउनुपर्छ । त्यसको निम्ति अहिलेको सुधारिएको खच्चड प्रकारको संसदीय प्रणाली फेर्नुको विकल्प छैन ।’

कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नं. ४ की संयोजक बलावती शर्माले व्यापक रोजगारीको अवसर सिर्जना गरेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘८० वर्ष राजनीतिक अधिकारका लागि लड्यौं अब आर्थिक विकास र समृद्धिका लागि लड्ने बेला भएको छ ।’

०००