डा. भट्टराई आज चीन जाँदै

अतिथि वक्ताको तर्फबाट ‘वान रोड वान बेल्ट’ बारे प्रवचन दिने
१० कात्तिक २०७३

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई २१औँ शताब्दीको सामुद्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी हुन आज बुधबार राती चीनतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

ग्वाङ्गडोङ्ग प्रान्तका गभर्नर झु जियोदान (Zhu Xiaodan) को निमन्त्रणामा डा. भट्टराई उक्त प्रदर्शनीमा अतिथि वक्ताको रुपमा सहभागी हुन लाग्नु भएको हो ।

चीनको गोन्जाओ र ग्वाङ्गडोङ्गमा कार्तिक ११ देखि १४ गतेसम्म प्रदर्शनी हुनेछ ।

ग्वाङ्गडोङ्ग बैयुन अन्तराष्ट्रिय सम्मेलन केन्द्र गोञ्जाओमा हुने कार्यक्रममा ‘वान रोड वान बेल्टले चीन र विश्वको बीचमा समान विजयको अवसर कसरी ल्याउँछ?’ भन्ने शिर्षकमा भट्टराईले प्रवचन दिनुहुनेछ ।

भ्रमणकाक्रममा ग्वाङ्गडोङ्ग प्रान्त सरकारका प्रमुख तथा चाइना कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँग भेटघाट हुने कार्यक्रम रहेको छ ।

भट्टराईलाई प्रेषित निमन्त्रणा पत्रमा उल्लेख छ– ‘नेपाल र ग्वाङ्गडोङ्ग बीचमा सार्थक संवाद र सहकार्य अभिवृद्धि गर्न यो भ्रमणले सघाउ पुग्ने छ ।’ पत्रमा थप लेखिएको छ– ‘सामुद्रिक सिल्क रोडका साथै आर्थिक व्यापार र भौतिक पूर्वाधारलाई अन्तर्सम्बन्धित र सबल बनाउनु, देशहरूबीचको सम्बन्ध विस्तारमा वान बेल्ट वान रोडको प्रभावकारी मञ्च निर्माणको प्रारम्भ गर्नु प्रदर्शनीको उद्देश्य रहेको छ ।’

कार्यक्रमको अवधिमा आर्थिक तथा व्यापारिक लगानी, पर्यटन, संस्कृति र भौतिक पूर्वाधारका क्षेत्रमा नेपाल र चीनबीच सहकार्यको वातावरण निर्माण गर्नेबारे चरणबद्ध छलफल हुने कार्यक्रम रहेको छ ।

ग्वाङ्गडोङ्गमा हुने कार्यक्रमपछि स्वदेश फर्कने क्रममा डा. भट्टराईले कार्तिक १३ गते हङ्कङ्मा बस्ने नेपालीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

संयोजक भट्टराईसंगै पार्टीको अन्तराष्ट्रिय विभाग प्रमुख हिसिला यमी पनि उक्त प्रदर्शनीमा सहभागी हुने कार्यक्रम रहेको छ ।