नयाँ शक्तिमा छिट्टै ध्रुवीकरणको लहर चल्छ : संयोजक भट्टराई

२७ कात्तिक २०७३

लण्डन । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्तिमा ध्रुवीकरणको नयाँ लहर चल्ने बताउनुभएको छ ।

शुक्रबार लण्डनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक डा. भट्टराईले हिजोको भत्काउने र आन्दोलन गर्ने क्षमताले अब निर्माणको नेतृत्व लिन नसक्ने भएकोले विकास र समृद्धिको लागि नयाँ शक्तिमा ध्रुवीकरणको लहर चल्ने बताउनुभएको हो ।

सञ्चारकर्मीको नयाँ शक्ति र माओवादी एकताको सम्भावनाबारे जिज्ञासामा उहाँले यसको कुनै पनि सम्भावना नरहेको बताउनुभयो । ‘हामी माओवादीमा लाग्ने होइन, बरु सबै पार्टीबाट नयाँ शक्तिमा आउने लहर चल्छ,’ उहाँले भन्नुभयो, ‘किनकी देश बनाउने एउटा पार्टीले होइन, नयाँ शक्ति यी सबै पुराना पार्टीभन्दा माथि उठेको शक्ति हो, यसले मात्रै अबको आर्थिक क्रान्तिको नेतृत्व गर्न सक्छ ।’

संयोजक भट्टराईले नेपालीहरुले देखेको कुरामा विश्वास नगर्ने तर नदेखेको कुरा अथवा हल्लाको पछि लाग्ने संस्कार फेर्नुपर्नेमा जोड दिनुभयो ।

 

‘नयाँ शक्तिमा आएर माओवादी हुन पाईंदैन’

उहाँले एक फरक प्रसंगमा नयाँ शक्तिमा लागेपछि पुरानो विरासतलाई बदल्नुपर्ने धारणा राख्नुभयो । ‘मैले नयाँ शक्तिमा आउँदा आफ्नै श्रीमतीलाई त भनिनँ,’ उहाँले भन्नुभयो, ‘म नयाँ पार्टी बनाउनुपर्छ भनेर माओवादीमा एक्लै निस्किएर आएँ, चाहेको भए ३०औं हजार नेता कार्यकर्ता लिएर आउन सक्थेँ ।’ उहाँले आफू एक्लै आउनुको उद्देश्य एउटा नयाँ र वैकल्पिक पार्टी निर्माण गर्नु रहेको स्पष्ट पार्नुभयो ।

‘सबै माओवादी लिएर आएको भए नयाँ शक्ति पनि वैद्य माओवादी, विप्लव माओवादी जस्तै अर्को बाबुराम माओवादी मात्रै हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘यसर्थ, नयाँ शक्तिमा नयाँ भएर आउनुपर्छ, नयाँ शक्तिमा आएर माओवादी हुन पाईंदैन, कांग्रेस हुन पाईंदैन, एमाले हुन पाईंदैन ।’

 

बेरोजगारी र गरिबी प्रमुख दुश्मनहरु

संयोजक भट्टराईले नेपालको विकास नहुनुको पछाडि गरिबी र बेरोजगारीको प्रमुख भूमिका रहेको बताउनुभयो । ‘हामी अहिले पनि प्राक-औद्योगिक चरणभन्दा पछाडि छौं,’ उहाँले भन्नुभयो, ‘निर्वाहमुखी कृषिबाट औद्योगिक विकासको चरणमा हामी प्रवेश गरेकै छैनौं, यसैको लागि नयाँ शक्तिले नेतृत्वदायी भूमिका खेल्दछ ।’

उहाँले समृद्धिको कुनै सिमाना नहुने भन्नुहुँदै यो निरन्तर प्रक्रियामा अगाडि बढ्ने बताउनुभयो । ‘अहिले प्रत्येक नेपालीको प्रतिव्यक्ति आय जम्मा ७०० डलर मात्र छ, यो भनेको दुई डलर दैनिक आम्दानी हो,’ उहाँले भन्नुभयो, ‘यो भनेको विश्व बैंकको परिभाषाअनुसार निरपेक्ष गरिबीको रेखामुनि हो, जनता मात्रै होइन, देश नै गरिबीको रेखामुनि छ ।’ यस्तो अवस्थाबाट माथि कसरी उठाउने भन्ने नै नयाँ शक्तिको मुख्य नीति रहेको संयोजक भट्टराईले स्पष्ट पार्नुभयो ।

हामै्र जीवनकालमा समृद्धि सम्भव तुल्याउन निजी क्षेत्र र वैदेशिक लगानीलाई साथ दिनुपर्नेमा जोड दिँदै उहाँले  राज्यले नै सबैथोक गर्न अहिले सम्भव नहुने धारणा राख्नुभयो । ‘निजी क्षेत्र र राज्यको सन्तुलित भूमिका रहने प्रणालीको वकालत नयाँ शक्तिले गर्दछ,’उहाँले भन्नुभयो, ‘राज्यले शिक्षा, स्वास्थ्य, सडक, बिजुलीजस्ता ठूला पूर्वाधार निर्माणको काम गर्दछ, कानुनको शासन लागू गर्दछ र भ्रष्टाचार नियन्त्रण गर्दछ ।’

यस्तो वातावरण पाएमा निजी क्षेत्रले कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रमा लगानी गर्ने उहाँले बताउनुभयो । ‘देशभित्रको पुँजी कम हुने भएकोले बाह्य देशका निजी क्षेत्रलाई पनि लगानीको लागि हामीले बोलाउनुपर्छ,’ उहाँले थप स्पष्ट पार्नुभयो । ‘हामीले संसारभरका देशबाट लगानीलाई स्वागत गर्नुपर्दछ, तर व्यवहारतः दुई छिमेकी चीन र भारतकै लगानी धेरै आउनेकुरा अस्वभाविक होइन,’ उहाँले भन्नुभयो, ‘अर्थशास्त्रको नियमले पनि तुलनात्मक लाभको सिद्धान्तले नजिकका लगानीकर्तालाई बढी फाइदा हुन्छ भन्ने मान्यता राख्दछ ।’

 

‘१०० दिनमा सरकारले औंलामा भाँच्ने काम पनि गर्न सकेन’

माओवादी सरकारमा गएपछि नयाँ शक्ति छायाँमा परेको भन्ने सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै संयोजक भट्टराईले सरकार आफैंमा छायाँमा परेको तर्क गर्नुभयो । ‘विचरा वहाँहरु नै छायाँमा पर्नुभएको छ, सय दिन पुग्यो, औंलामा भाँच्ने काम पनि नभएर विचरा प्रधानमन्त्री आफ्नै मन्त्रीहरुलाई दोष दिइरहनुभएको छ,’उहाँले भन्नुभयो ।

क्याबिनेट प्रणालीमा मन्त्रीहरुलाई दोष दिएर नहुने र प्रधानमन्त्रीले नै जिम्मा लिनुपर्ने वहाँको तर्क थियो । ‘मेरा मित्र प्रचण्डजीले प्रयास नगर्नुभएको त होइन, परिस्थति नै यस्तो छ कि उहाँहरु डेक चल्न पनि सक्नुभएको छैन,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘उहाँको कारणले हामी किन पछाडि पर्नु ? हाम्रो शुभकामना छ वहाँहरुलाई ।’

अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको बिस्तारित बैठकमा सहभागी हुन पाँच दिने बेलायत भ्रमणमा निस्कनुभएको संयोजक भट्टराई विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुहुने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका रेशम थापाले जानकारी दिनुभयो ।

उहाँले शनिबार दिउँसो जनजाति महासंघको अन्तरक्रियामा भाग लिनुहुनेछ भने साँझ गोर्खाली समाज यूकेको च्यारिटी कार्यक्रममा सहभागी हुनुहुने थापाले जानकारी दिनुभयो । यसैगरी आइतबार साउथ ईस्टका नेपाली,  एनआरएन यूकेसंग संयोजक भट्टराईले छुट्टाछुट्टै अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ ।

सोमबार बेलायती संसदमा छलफल तथा भेटघाट र लण्डन स्कुल अफ इकोनोमिक्समा प्रवचन दिनुहुनेछ भने मंगलबार अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिनुहुने कार्यक्रम रहेको छ । संयोजक भट्टराई बिहीबार पोर्चुगलमा आयोजित अन्तर्राष्ट्रिय नेपाली समाजको कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा भट्टराईसँगै नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्य मदन राई, पार्टीका प्रवास प्रादेशिक परिषदका प्रमुख नवराज सुवेदीलगायत रहनुभएको छ ।