नयाँ शक्तिको केन्द्रीय कार्यकारी समितिको बैठक सुरु

यस्तो हुनेछ नयाँ शक्तिको आगामी कार्ययोजना
६ मंसिर २०७३

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल केन्द्रीय कार्यकारी समितिको बैठक आजदेखि सुरु भएको छ । बैठक आजदेखि तीन दिनसम्म ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा चल्नेछ । बैठकमा यसअघि बसेको विशेष राजनीतिक समितिको निर्णय अनुसार निर्माण भएका विभिन्न ६ वटा कार्ययोजना निर्माण कार्यदलबाट प्रस्तुत हुने पार्टीको समग्र कार्ययोजना प्रतिवेदनमाथि छलफल हुनेछ । गत कात्तिक ३ गते बसेको विशेष राजनीतिक समितिको बैठकले पार्टीको आगामी कार्ययोजना, संगठन निर्माण, आर्थिक स्रोत परिचालन, संगठन निर्माण लगायतका विषयमा कार्ययोजना तयार गर्नका लागि विभिन्न ६ वटा कार्ययोजना निर्माण कार्यदल बनाउने निर्णय गरेको थियो ।

बैठकमा पार्टीको योजना, आर्थिक व्यवस्थापन तथा सुशासन विभागको संयोजक रामेश्वर खनालको संयोजकत्वमा आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्ययोजना तर्जुमा कार्यदलले आर्थिक स्रोत परिचालनसम्बन्धी कार्ययोजना पेश गर्नेछ । आर्थिक स्रोत परिचालन कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको खर्च व्यवस्थापनका लागि पार्टी सदस्यको सदस्यता तथा नवीकरण शुल्क, उम्मेदवारी शुल्क, राजकीय लाभको पद ग्रहण गरेका अवस्थामा पाउने रकमको आंशिक योगदान, चन्दा, सेवा शुल्क, सांस्कृतिक कार्यक्रम संचालन गर्दा बचेको रकम, पार्टी प्रकाशनहरुको बिक्री तथा जिन्सी सामान बिक्री आम्दानीलाई मुख्य स्रोत प्रस्तावित गरेको छ । त्यस्तै नयाँ शक्ति नेपाल आफ्नो आधारभूत खर्च धान्नको लागि पराश्रित हुनुहुँदैन भन्ने अवधारणा अनुरुप प्रत्येक व्यक्तिको सदस्यता शुल्क रु. २०० र वार्षिक नवीकरण शुल्कसमेत रु. २०० प्रस्ताव गरिएको छ । त्यस्तै राजकीय लाभको पदमा जाने जोसुकै सदस्यले सो पदबाट प्राप्त हुने मासिक पारिश्रमिकको ५ प्रतिशत पार्टीलाई बुझाउनुपर्ने प्रस्ताव गरेको छ । प्रतिवेदनले चन्दा संकलनका लागि पनि व्यक्ति र संघसंस्थाका लागि अधिकतम् सीमा तोकेको छ ।

त्यसैगरी केन्द्रीय कार्यालय सचिव डा. केशवमान शाक्यको संयोजकत्वमा उत्पादन तथा स्वरोजगार कार्ययोजना कार्यदल गठन भएको थियो । सो कार्यदलले पार्टीको अगुवाईमा क्षेत्रगत रुपमा लघुवित्त कम्पनी, सहकारी संस्था, जलविद्युत् आयोजना, होटल, कृषि सहकारी आदि संचालन गरी रोजगार र स्वरोजगार सिर्जना गरिने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै प्रशिक्षण विभागका संयोजक डम्बर खतिवडाको संयोजकत्वमा गठित वैचारिक–राजनीतिक तथा सांस्कृतिक अभियान कार्ययोजना कार्यदलले ‘घरआँगनमा नयाँ शक्ति कार्ययोजना’ प्रस्तुत गर्नेछ । सो योजना अनुसार पार्टी निर्माणका लागि पर्चासहित घरदैलो अभियान संचालन गर्ने र बृहत राजनीतिक धु्रवीकरणको लागि सबै पक्षहरुसँग खुला संवाद गर्ने योजना प्रस्ताव गरेको छ । त्यस्तै प्रचारात्मक अभियानका लागि माघमहिनासम्म जिल्लाका इलाकाहरुमा सांस्कृतिक कार्यक्रमसहितको आमसभा गर्ने योजना पेश गरेको छ ।

प्रदेश नं. ३ का संयोजक गंगा श्रेष्ठको संयोजकत्वमा गठित राष्ट्रिय तथा सामाजिक अभियान कार्ययोजना कार्यदलले नयाँ शक्तिले लिएको वैकल्पिक राजनीतिलाई मुलुकको राष्ट्रिय तथा सामाजिक अभियानसँग जोडेर जनपरिचालन तथा दबाबमूलक कार्यक्रमहरु गर्ने योजना पेश गर्नेछ । कार्यदलले पार्टीले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन, संघीयताको कार्यान्वयन, मधेश/थरुहट/आदिवासी जनजाति आन्दोलन, भूकम्पपीडित क्षेत्रमा पुनःनिर्माणलगायतका विभिन्न मुद्दाहरुमा आधारित भएर विभिन्न दबाबमूलक कार्यक्रम संचालन गर्ने योजना पेश गर्नेछ ।

संगठन विभाग प्रमुख देवेन्द्र पौडेलको संयोजकत्वमा गठित संगठन निर्माण तथा विस्तार कार्ययोजना कार्यदलले संगठन विस्तारका लागि प्रत्येक जिल्लामा कम्तीमा ३ जना केन्द्रीय अभियन्तासम्मिलित टोली परिचालन गर्ने र संगठन विस्तारको ६ महिने अभियान संचालन गरिने प्रस्ताव गरेको छ । त्यस्तै संगठन विस्तार कार्यदलले हरेक तहमा प्रत्यक्ष निर्वाचित परिषद् सदस्य तथा पदाधिकारीहरुको व्यवस्थासहित पार्टी संगठन निर्वाचन कार्यव्यवस्था नियमावली पेश गरेको छ । नियमावलीमा निर्वाचित सदस्य तथा पदाधिकारीहरुलाई प्रत्याह्वान (फिर्ता बोलाउने) गर्ने व्यवस्थासहितको निर्वाचन कार्यविधि प्रस्तुत गर्नेछ ।

कार्यसमिति सदस्य बामदेव क्षेत्रीको संयोजकत्वमा गठित केन्द्रीय अनुगमन कार्यदलले देशैभरिको पार्टी संगठनहरुको अनुगमन गरी प्रतिवेदन पेश गर्नेछ । संयोजक क्षेत्रीका अनुसार कार्यदलले पार्टीपंक्तिमा देखिएका गुनासाहरुलाई यथारुपमा पेश गर्नेछ र कार्यकर्ताहरुमा देखिएको निराशालाई सम्बोधन गर्नका लागि र पार्टी संगठनलाई विधि र प्रणाली अनुसार संचालन गर्दै पार्टीले अंगिकार गरेको आर्थिक समृद्धिका लागि ठोस योजना ल्याउनुपर्ने सुझाव पेश गरिनेछ ।

बैठकमा पार्टीले परिचालन गर्ने स्वयम् सेवकहरुको व्यवस्थापन र परिचालनका लागि छुट्टै सामाजिक स्वयम् सेवासम्बन्धी कार्यविधिसमेत प्रस्तुत हुनेछ । तीन दिनसम्म चल्ने बैठकमा कार्यदलबाट प्रस्तुत हुने सम्पूर्ण प्रस्तावहरुमा कार्यकारी समितिका सदस्यहरुले छलफल गरी आवश्यक संशोधनसहित पारित गरिने र पार्टीले आगामी अभियानको कार्ययोजना तयार गर्ने कार्यालय सचिव डा. केशवमान शाक्यले बताउनुभयो ।