यस्तो छ नयाँ शक्तिको आर्थिक स्रोत परिचालन कार्यविधि

कालोसूचीमा रहेको, फौजदारी अभियोगमा जेल परेको र अदालतले भ्रष्टाचारी ठहर गरेको व्यक्तिबाट सहयोग नलिने
२३ मंसिर २०७३

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले आन्तरिक पार्टी संचालनका आधारभूत खर्चहरु धान्न पराश्रित नहुनेगरी आर्थिक स्रोत परिचालन नीति अवलम्बन गर्ने भएको छ । यहि मंसिर ६ गतेदेखि ८ गतेसम्म ललितपुरको धोबीघाटमा बसेको केन्द्रीय कार्यकारी समितिको बैठकले पारित गरेको आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि अनुसार पार्टी संचालनका लागि संगठित सदस्यहरुबाट प्राप्त हुने रकमलाई नै मुख्य स्रोत मानेको हो ।

आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधिले सदस्यहरुको सदस्यता शुल्क, सदस्यता नवीकरण दस्तुर, उम्मेदवारी शुल्क, पार्टी सदस्यले राजकीय लाभको पद ग्रहण गरेको अवस्थामा पाउने रकमको आंशिक योगदान, चन्दा, सेवा शुल्क, सांस्कृतिक कार्यक्रम संचालन गर्दा बचेको रकम, शुभचिन्तकहरुबाट असल राजनीतिका लागि गरिने स्वेच्छिक आर्थिक सहयोग, पार्टी प्रकाशनहरुको बिक्री तथा जिन्सी सामान बिक्री आम्दानीलाई मुख्य स्रोत निर्धारण गरेको छ । 

नयाँ शक्ति नेपालले आफ्नो आधारभूत खर्च धान्नको लागि पराश्रित हुनुहुँदैन भन्ने अवधारणा अनुरुप प्रत्येक व्यक्तिको सदस्यता शुल्क रु. १०० र वार्षिक नवीकरण शुल्कसमेत रु. १०० तोकेको छ ।
त्यस्तै पार्टीको विभिन्न तहका परिषद् सदस्य र पदाधिकारीहरुको निर्वाचनमा भाग लिने सदस्यहरुलाई पनि फरक फरक उम्मेदवारी शुल्क तोकिएको छ । जस अन्तर्गत गाउँपालिका परिषद् सदस्यका लागि रु. २००, नगरपालिका परिषद सदस्यका लागि रु. ५००, जिल्ला परिषद् सदस्यका लागि रु. १ हजार, प्रदेश परिषद सदस्यका लागि रु. २ हजार र केन्द्रीय परिषद् सदस्यका लागि रु. ५ हजार उम्मेदवारी शुल्क तोकिएको छ ।

त्यसैगरी स्थानीय, प्रदेश र केन्द्रीय चुनावमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको लागिसमेत पार्टीले निश्चित शुल्क तोकेको छ । जस अन्तर्गत गाउँसभा सदस्यका लागि रु. ५ सय, नगरसभा सदस्यका लागि रु. १ हजार, प्रदेशसभा सदस्यका लागि रु. ५ हजार र प्रतिनिधि÷राष्ट्रियसभा सदस्यका लागि रु. २० हजार शुल्क निर्धारण गरेको छ । सो रकम सम्बन्धित उम्मेदवारले पार्टीलाई बुझाउनुपर्नेछ ।

पार्टीको तर्फबाट कुनैपनि राजकीय लाभको पद ग्रहण गर्ने सदस्यले मासिक पारिश्रमिकको ५ प्रतिशत पार्टीलाई बुझाउनुपर्नेछ । त्यसैगरी पार्टी सदस्यहरुबाट स्वेच्छिक योगदान स्वीकार गर्ने नीति पार्टीले लिएको छ ।

पार्टी संचालनका लागि स्वीकार गरिने व्यक्तिगत वा संस्थागत चन्दा तथा आर्थिक सहयोग निःशर्त रुपले मात्रै स्वीकार गरिने कार्यविधिमा उल्लेख छ । यस्तो सहयोग लिंदा प्रचलित कानून बमोजिम बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी वा सार्वजनिक ठेक्कामा गलत काम गरी कालो सूचीमा परेको व्यक्ति, फौजदारी अभियोगमा जेल परेको व्यक्ति, भ्रष्टाचारको अभियोगमा छानबिनको क्रममा रहेको वा अदालतले भ्रष्टाचारी भनी फैसला गरेको व्यक्तिबाट कुनै प्रकारको आर्थिक सहयोग नलिने नीति बनाएको छ ।

त्यस्तै दाताको नाम ठेगाना नखुलेको स्रोतबाट कुनै प्रकारको आर्थिक सहयोग एवं दान–दातव्य ग्रहण नगर्ने नीति लिएको छ । र, चन्दा दिने व्यक्ति, संस्था, फर्म, कम्पनीको नाम, ठेगाना र दिएको रकमको अभिलेख राखी प्रत्येक ६÷६ महिनामा नयाँ शक्ति नेपालको वेवसाइटमा सार्वजनिक गरिने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै सहयोग प्राप्त गर्नका लागि अनलाइन भुक्तानी वा विद्युतीय भुक्तानीको प्रबन्ध गरिने कार्यविधिमा उल्लेख छ । विदेशमा रहेका नेपालीहरुबाट संकलन हुने आर्थिक सहयोगलाई नेपाल राष्ट्र बैंकले नेपालमा सटही सुविधा प्राप्त भनेर तोकेको मुद्रामा मात्र सहयोग स्वीकार गरिने जनाएको छ । त्यस्तै पार्टीमा प्राप्त हुने सम्पूर्ण सहयोगलाई देशव्यापी संजाल भएको बैंकमा खाता खोली जम्मा गर्ने र बैंकिंग प्रणालीमार्फत परिचालन गर्ने कार्यविधि बनाएको छ ।

पार्टीको विभिन्न तहका आम्दानी र खर्च व्यवस्थित गर्नका लागि नेपालभरि एनी ब्रान्च बैंकिंग सुविधा (एबीबीएस) भएको कुनै एउटा बैंकमा एउटा मात्र खाता खोल्ने र सो खातालाई आम्दानी खाता किटान गर्ने जनाएको छ र स्वीकृत बजेट बमोजिमको रकम चौमासिक रुपमा आम्दानी खाताबाट खर्च खातामा सार्ने र सोही अनुसार खर्च गर्ने कार्यविधि तयार गरेको छ ।