मकवानपुरमा ‘घरघरमा नयाँ शक्ति’ अभियान

२९ मंसिर २०७३

हेटौंडा – नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरले ६ महिनासम्म निरन्तर घरघरमा नयाँ शक्ति अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको मंगलबार बसेको जिल्ला कार्यकारी समितिको बैठकले पार्टीको केन्द्रीय परिपत्र अनुसार जिल्लाको कार्यक्रम तय गरेको जिल्ला संयोजक प्रल्हाद लामिछानेले जानकारी दिनुभयो ।

अभियान सफल बनाउन पार्टीका सहसंयोजक विवेक वाईबाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला अभियान परिचालन समिति गठन गरिएको छ । अभियानलाई गाउँ, नगर तथा उपमहानगरपालिका स्तरमा सञ्चालन गर्नको लागि मकवानपुरका सबै गाउँपालिका र नगरमा उत्प्रेरकको जिम्मेवारी समेत तोकिएको छ । वाग्मती गाउँपालिकामा शेरबहादुर पहरी, बकैया गाउँपालिकामा जीवनमान मोक्तान, मकवानपुरगढी गाउँपालिकामा पाल्साङबज्र लामा, हेटौंडा उपमहानगरपालिकमा राजकुमार वाईबालाई उत्प्रेरकको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै भीमफेदी गाउँपालिकामा जिल्ला कार्यालयले उत्प्रेरकको जिम्मेवारी लिनेछ भने थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा ज्योति रायमाझीले उत्प्रेरकको भूमिका निर्वाह गर्ने विज्ञप्तिमार्फत जानकारी गराएको छ । कैलाश गाउँपालिकामा टंक हिमडुङ, मनहरी गाउँपालिकामा अम्बर लामा, राक्सिराङ गाउँपालिकामा बिवेक वाईबालाई उत्प्रेरकको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।

अभियानअन्तर्गत संगठन निर्माण तथा सुदृढीकरण, सदस्यता वितरण, घरदैलो कार्यक्रम, जनसेवा, अधिवेशनहरु हुँदै महाधिवेशनसम्मको तयारी पूरा गर्ने गरी तीन चरणको कार्यक्रम घोषणा गरिएको कार्यालय सचिव राजेन्द्र सिम्खडाले जानकारी दिनुभयो । साथै बैठकले प्रचारप्रसार समितिको संयोजकमा केशव समर्पण र सुवोध रिमाललाई आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन समितिको संयोजक तोकेको छ । त्यस्तै राजन मैनालीको संयोजकत्वमा उत्पादन तथा रोजगार÷स्वरोजगार समिति, जिल्ला संयोजक प्रल्हाद लामिछानेको संयोजकत्वमा वार्ता समिति र तुफान विक्रम क्षेत्रीको संयोजकत्वमा सांस्कृतिक टोली बनाई अभियानमा परिचालन गर्ने बताइएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको माग गर्दै देशव्यापी १० लाख हस्ताक्षर संकलन गर्ने योजना अनुरुप मकवानपुर जिल्लाबाट २० हजार हस्ताक्षर संकलन गरिने पार्टीले जनाएको छ । जिल्ला उत्प्रेरक सविना अर्याल तथा ३ नम्बर प्रदेश सह–संयोजक सोनामसिंह स्याङतानको उपस्थितिमा बसेको बैठकले ६ महिने अभियानको क्रममा देशमा बढिरहेको महंगी, भ्रष्टाचार तथा अनियमितताको विरुद्धमा जनप्रर्दशन, घेराउ, ज्ञापनपत्र बुझाउने र सभाहरु सहित रचनात्मक कार्यक्रम समेत गरिने जिल्ला अभियान परिचालन समितिका संयोजक बिवेक वाइबाले जानकारी दिनुभयो ।