गोरखाली कलाकारहरुको अन्तरक्रिया

२० पुस, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टीनिकट गाेरखाली कलाकारहरुले पुस १९ गते काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सम्बोधन गर्नुभयो । उहाँले कलाकारहरुसँगको अन्तरक्रियाले आफूलाई झन् कर्तव्य बोध गराएको बताउनुभयो । उहाँले नयाँ शक्ति पार्टीले समग्र राष्ट्रलाई नै समृद्धिको दिशातर्फ लैजाने अभियान संचालन गरेको भन्दै कलाकारहरुलाई पनि सो अभियानमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

‘यो क्षेत्रमा आफ्नो ब्यक्तिगत र पार्टीको तर्फबाट जस्तो सुकै सहयोग गर्न म तयार छु’ उहाँले भन्नुभयो –‘यति धेरै चर्चित कलाकारहरु गोरखामा रहेको तथ्यप्रति म अनविज्ञ रहेकोमा दुखी छु । म पनि गीतसंगीत सुन्छु तर, ती गीतहरु गोरखाली कलाकारको हो भन्ने थाहा थिएन, अब त्यस्तो गल्ती नहुनेमा आश्वस्त रहन आग्रह गर्दछु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टी नेपालका सांस्कृतिक संयोजक तथा अभिनेत्री करिष्मा मानन्धरले आफू पनि कलाकार भएकै नाताले कलाकारहरुको हक, हित र अधिकारको लागि जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको बताउनुभयो । उहाँले कलाकारहरुलाई समृद्धिको लागी गोलबद्ध हुनसमेत आव्हान गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा चर्चित लोक गायक बिरही कार्की, सागर गुरुङ, गोरखा सांस्कृतिक समाजका अध्यक्ष दिप सागर थापालगायतले कलाकारहरुको समस्या र चुनौतीका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा नयाँ शक्ति पार्टी आवद्ध नेताहरु तथा नेपालका चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमबाट नयाँ शक्ति पार्टी सम्बद्ध सांस्कृतिक विभाग गोरखाको समिति पनि निर्माण गरिएको छ । म्यूजिक भिडियो निर्देशक तथा मोडल प्रकाश भट्टको संयोजकत्वमा नायिका रन्जिता गुरुङ, गायिका जानकी तारमी मगर, सुमन बैरागी, गायक तथा मोडल दिनेश थापा, प्रेम अर्याल, कोपिला गुरुङ, सरिता अधिकारी, रन्जित परियार, सन्जय गुरुङ, चिजा तामाङ, बेलिमाया गोर्खाली, सुनिला गुरुङ राकेश गुरुङ, नारायण ढकाल, किशोर लम्साल, सागर गुरुङ रहेको सांस्कृतिक विभागको गोरखा समिति गठन गरिएको छ ।

कार्यक्रममा गोरखा सांस्कृतिक विभाग संयोजक प्रकाश भट्टले कलाकारहरु कलकारिताको माध्यमबाट नयाँ नेपाल बनाउने नयाँ शक्तिको अभियानमा साथ दिन प्रतिबद्ध रहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रमको संयोजन भीम श्रेष्ठले गर्नुभएको थियो ।