महिला शक्ति नेपालले बनायाे ५१ सदस्यीय सचिवालय

१३ माघ, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टीनिकट महिला संगठन महिला शक्ति नेपालले ५१ सदस्यीय केन्द्रीय कार्यकारी समिति सचिवालय गठन गर्दै दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठक सम्पन्न गरेको छ । बिहीबार कल्पना धमलाको अध्यक्षतामा केन्द्रीय कार्यकारी समिति निर्माण गर्दै बुधबारदेखि जारी बैठक सम्पन्न भएको हो । बैठकले संगठन निर्माणका साथै पार्टीको घरघरमा नयाँ शक्ति अभियानलाई सफल रुपमा सम्पन्न गर्नका लागि विभिन्न निर्णयहरुसमेत गरेको छ ।

बैठकले महिला शक्ति नेपालको प्रथम राष्ट्रिय भेलाले संशोधनसहित पारित गरेको राजनीतिक प्रतिवेदन तथा विधान पारित गरेको छ । पारित गरेको प्रतिवेदनमा नेपालमा वैकल्पिक राजनीतिको भाव बहन गर्न र युग परिवर्तनको संवाहको रुपमा नयाँ शक्ति पार्टीको नीति र कार्यक्रम आएकोले त्यसले नेपालको वैकल्पिक राजनीतिमा निकै ठूलो महत्व राख्ने उल्लेख छ । नयाँ शक्तिले साँच्चिकै राजनीतिक परिदृष्यमा नयाँपन दिएकोले महिला शक्तिले पनि अब देशलाई सुशासन र समृद्धिको बाटोमा हिंडाउने मुख्य उद्देश्य राखेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महिला शक्तिले सुशासन, समृद्धि, सामाजिक न्यायमा आधारित समन्यायको सिद्धान्तभित्र मात्रै महिला अधिकारको कल्पना गर्न सकिने भएकोले महिला शक्ति नेपालले सुशासन, सदाचार स्वाधिनता, सार्वभौमिकता, समतामूलक समृद्धि, समानुपातिक समावेशी सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवादको विचार योजना र लक्ष्यलाई आत्मसात गर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यस्तै महिला शक्तिले कूल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाहरुको सहभागिताका लागि भन्दै स्थानीय पार्टी कमिटीहरुमा महिलाको प्रतिनिधित्व ४० प्रतिशत, केन्द्र र संघमा ३३ प्रतिशत अनिवार्य कार्यान्वयन गर्ने नीति लिएको छ ।

महिला शक्तिले महिलासम्बन्धी मुद्दाहरुमा राजनीतिक दलका भगिनी संगठन महिला सम्बन्धी काम गर्ने संघसंस्था र सञ्जाल, जातीय, क्षेत्रीय लिंगीय सवालमा सहकार्य गरेर अघि बढ्ने योजना बनाएको महिला शक्ति नेपालले जनाएको छ ।

दुई दिनसम्म जारी बैठकको उद्घाटन पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गर्नुभएको थियो भने पार्टीका आंगिक विभाग प्रमुख कुमार पौडेलले प्रशिक्षणात्मक सम्बोधन गर्नुभएको थियो । त्यस्तै नेतृ हिसिला यमी, लिली थापा, महिला शक्तिका संयोजक कल्पना धमला लगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।