अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको अधिवेशन

१६ माघ, २०७३

सौल – नयाँ शक्ति पार्टीनिकट प्रवाश संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरिया शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार दक्षिण कोरियाको सौलमा सम्पन्न अधिवेशनबाट रमेश उप्रेति समाजको कोरिया शाखाका अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सुरेन्द्र बजगाईं, महासचिवमा पिटर कुमार श्रेष्ठ र सचिवमा यज्ञमूर्ति पोखरेल निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा सहभागी हुन कोरिया पुग्नुभएका कार्यक्रमका प्रमुख अतिथी नयाँ शक्ति पार्टी नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्तिप्रति देश र विदेशबाट आकर्षण बढ्दै गएको बताउँदै सबै मिलेर संगठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नयाँ शक्ति पार्टीले बोकेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा देश, विदेशबाट जनसमर्थन जुट्दै गएकोप्रति खुसी व्यक्त गर्दै त्यसका लागि सबै युवाहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका सबैलाई धन्यवाद दिनुभयो । उहाँले अबको देशको विकास र समृद्धिका लागि युवाशक्ति सक्रियतापूर्वक उठ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टी प्रवास प्रादेशिक परिषद्का सहसंयोजक शंकर भण्डारी, नेपाल प्रेस सोसाइटीका प्रल्हाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि दबाब सिर्जना गर्न भन्दै हस्तारक्षर संकलनसमेत गरिएको थियो ।