नयाँ शक्तिको हस्ताक्षर संकलन अभियान जारी

१७ माघ, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिक संसदको माग गर्दै गत माघ ५ गतेबाट सुरु गरेको हस्ताक्षर संकलन अभियानले देशव्यापी आकार ग्रहण गरेको छ । काठमाडौंबाट सुरु भएको हस्ताक्षर संकलन अभियान अहिले देशका सबैजसो जिल्लाहरुमा सुरु भएको छ ।

नयाँ शक्तिको आंगिक संगठन नेपाल पर्यटन परिषद्ले आइतबार काठमाडौंको ठमेलबाट हस्ताक्षर संकलन सुरु गरेकोमा सोमबार पकनाजोल, न्यूरोड भूगोलपार्क, मिनभवन लगायतका स्थानहरुमा हस्ताक्षर संकलन भएको थियो । परिषद्सँगै पार्टीका विभिन्न आंगिक संगठनहरुले भोलि (१८ गते मंगलबार) उपत्यकाका रत्नपार्क, कलंकी, चावहिल, नयाँ बसपार्क, कोटेश्वरलगायतका स्थानहरुमा हस्ताक्षर संकलन गरिने नयाँ शक्ति पार्टीका कार्यकारी समिति सदस्य तथा आंगिक संगठनका उत्प्रेरक कुमार पौडेलले जानकारी दिनुभयो ।



यसैबीच सोबारदेखि नै नयाँ शक्ति पार्टी तनहुँले पनि हस्ताक्षर संकलन सुरु गरेको छ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषदका सचिवालय सदस्य गणेशराज पाण्डेले दमौलीमा आयोजित हस्ताक्षर संकलन अभियानमा पहिलो हस्ताक्षर गरेर जिल्लामा यो अभियानको शुभारम्भ गर्नुभएको हो ।

राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र दिगो आर्थिक विकासका निमित्त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिकाको पक्षमा जनमत सिर्जना गर्न हस्ताक्षर संकलन अभियान सुरु गरिएको पार्टीका तनहुँ जिल्ला संयोजक देवेन्द्र थापाले बताउनुभयो ।

त्यसैगरी बाग्लुङमा पनि हस्ताक्षर संकलन अभियानको सुरुवात भएको छ । बाग्लुङको जिपपार्कमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति पार्टीको ४ नम्बर प्रदेश संयोजक बलावती शर्माले हस्ताक्षर गर्दै अभियानको सुरुवात गर्नुभएको हो ।

उहाँले हस्ताक्षर अभियानमा पहिलो दिन नै करिब दुई हजारको संख्याले हस्ताक्षर गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश नं. ४ का सम्पूूर्ण जिल्लाहरुमा हस्ताक्षर अभियान सुरु गरिएको र जनता निकै उत्साहका साथ अभियानमा संलग्न भएको बताउनुभयो ।



नयाँ शक्ति पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि जनदबाब सिर्जना गर्न भन्दै देशव्यापी रुपमा १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने कार्यक्रम अनुसार देशव्यापी रुपमा हस्ताक्षर संकलन अभियान गरेको हो ।

हस्ताक्षर संकलन अभियानलाई नयाँ शक्तिले विदेशमा पनि सुरु गरेको छ । विदेशमा रहेका नेपालीहरुबाट यस्तो हस्ताक्षर संकलन गरिएको नयाँ शक्तिले जनाएको छ ।