नयाँ शक्तिको हस्ताक्षर संकलन जारी

२० माघ, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिक संसद्को लागि जनदबाब सिर्जना गर्न सुरु गरेको हस्ताक्षर संकलन अभियान बिहीबार पनि राजधानीका विभिन्न स्थानहरुमा जारी रह्यो ।

बिहीबार राजधानीको नयाँ बानेश्वर चोकमा पार्टीको ५ र ६ नं. प्रदेश सम्पर्क संयन्त्रले एक कार्यक्रम आयोजना गरी हस्ताक्षर संकलन गरेको छ । बिहीबार बानेश्वरमा करिब १ हजार ५ सय सर्वसाधारणले हस्ताक्षर गरी अभियानमा संलग्न भएका छन् ।

बानेश्वमा आयोजित हस्ताक्षर कार्यक्रमको उद्घाटन ५ नं. प्रदेश सम्पर्क संयन्त्रका संयोजक गणेश कुँवरले गर्नुभयो । कार्यक्रममा नयाँ शक्तिका विभिन्न नेता तथा कार्यकता र आम जनताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

यसैबीच बिहीबार नै १ नं. प्रदेश सम्पर्क संयन्त्रले न्यूरोडको भूगोलपार्कमा हस्ताक्षर संकलन गरेको छ भने ४ नं. प्रदेश सम्पर्क संयन्त्रले राजधानीकै गोंगबु चोकमा हस्ताक्षर संकलन गरेको छ ।
नयाँ शक्ति पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने घोषणा गरे अनुसार अहिले देशव्यापी रुपमा हस्ताक्षर संकलन अभियान जारी रहेको छ ।