हस्ताक्षर संकलन अभियानमा मधेसी समुदायको उत्साहपूर्ण सहभागिता

१८ फाल्गुन, २०७३

सप्तरी – संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको माग गर्दै आएको नयाँ शक्ति पार्टी नेपालले संचालन गरेको हस्ताक्षर संकलन अभियानमा मधेशी समुदायको पनि उत्साहपूर्ण सहभागिता देखिएको छ ।

गत महिनाबाट सुरु भएको हस्ताक्षर संकलन अभियान अझैपनि अधिकांश जिल्लाहरुमा जारी रहेको छ । मधेसका जिल्लाहरुमा जारी अभियानमा मधेसी युवा तथा महिलाहरुको उत्साहपूर्ण सहभागिता देखिएको नयाँ शक्तिका नेता राजेश विद्रोहीले जानकारी दिनुभयो । उहाँले अभियानमा राष्ट्रपति जनताले चुनिनुपर्छ भन्दै अन्य पार्टीमा लागेका मधेसी पनि खुसीका साथ हस्ताक्षर गर्ने गरेका बताउनुभयो ।

मंगलबार सप्तरीको खरचुहिया बजारमा पनि जनताबाट प्रत्यक्ष राष्ट्रपति चयन हुनुपर्ने भन्दै हस्ताक्षर गर्न मधेसी युवा तथा महिलाहरुको उल्लेख्य सहभागिता देखिएको थियो । खरचुहिया बजारका करिब १ हजारभन्दा बढी नागरिकहरुले हस्ताक्षर गरेका छन् ।

नयाँ शक्ति पार्टी नेपालका सप्तरी संयोजक छेदी रजकका अनुसार सप्तरीमा हालसम्म ५ हजारभन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ । यस्तै सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारालगायतका जिल्लाहरुमा पनि हस्ताक्षर अभियान जारी छ । आज बुधवार सिरहाको लहानमा हस्ताक्षर अभियान चलिरहेको नयाँ शक्ति पार्टीका सिरहा संयोजक जीवन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सिरहामा पनि हजारौं हस्ताक्षर संकलन भइसकेको छ ।



नयाँ शक्तिले देशभरबाट संकलित हस्ताक्षर आगामी फागुन २७ गते नेपाल सरकारलाई बुझाउने कार्यक्रम तय गरेको छ । पार्टीले जिल्लाहरुबाट २१ गतेसम्म हस्ताक्षर संकलन गरिसक्ने योजना बनाएको छ । सोही कारण अहिले हरेक जिल्लामा हस्ताक्षर संकलन कार्य तीव्र गतिमा अघि बढिरहेको पार्टीका विभिन्न जिल्लाका जिल्ला संयोजकहरुले बताएका छन् ।