दाहालको प्रश्न- के देशलाई समृद्ध बनाउने चाहना राख्नु दलाली हो ?

१२ चैत २०७३

कोहलपुर (बाँके) । नयाँ शक्ति पार्टी, नेपालका संसदीय मामिला प्रमुख केशव दाहालले पछिल्लो समय देशमा जन्मिएको अतिवादले मुलुकलाई सताइरहेको बताउनुभएको छ ।

नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेश थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै उहाँले अतिवादीहरुले मुलुकका केही जाति, भाषा र क्षेत्रलाई जबरजस्ती विखण्डनकारीको बिल्ला भिराएको बताउनुभएको हो ।

'एकातिर मधेस लगायतलाई नेपाली नठान्ने अतिवाद छ,' उहाँले भन्नुभयो, 'अर्कोतर्फ मधेश छुट्टै देश हुनुपर्छ भन्ने सिके राउतको अतिवाद छ, यी दुवै अतिवादको विपक्षमा हिमाल, पहाड, मधेश जोड्ने उद्देश्यले नयाँ शक्तिले राष्ट्रिय अभियान चलाएको हो ।'

'जसले यो देशको भूमि बनायो, उनीहरु यो देशको विखण्डनकारी भन्नु घोर अतिवादी दृष्टिकोण हो,' उहाँले भन्नुभयो, 'सीमानाको रक्षा र भारतको अनेकखाले किचलोमा सीमाका नेपालीले भूमिको रक्षा गरेर महान काम गरिरहेका छन् ।'

उहाँले नयाँ शक्तिको अभियानलाई हिमाल, पहाड, तराई र मधेशका मान्छेको मन र मुटु जोड्ने अभियान भएको पनि स्पष्ट पार्नुभयो । उहाँले पृथ्वीनारायणले भूगोलको एकीकरण गरेको तर यहाँका जनताको मन र भावनाको एकीकरण अहिलेको आवश्यकता रहेको तर्क गर्दै यो देशको राष्ट्रिय एकता र समृद्धिको लागि सबै सँगै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

'थारुहरुले अधिकार पाउनुपर्छ भन्दा त्यसको अर्थ बाहुनलाई हेप भनेको होइन,' उहाँले भन्नुभयो, 'अधिकारको कुरा गर्दा तिमी भारतीय कि नेपाली भनेर प्रश्न गर्नु कतिसम्म सहि हो ?'

'गोर्खाको एउटा बाहुनको छोरो जसले पिएचडी गरेको छ, राम्रा अवसर पाउँथ्यो तर ती सबै छाडेर राजनीतिमा होमियो, प्रधानमन्त्री भयो बिहान बाग्मती सफा गर्न हिंड्छ,' उहाँले अगाडि थप्नुभयो, 'मान्छेहरु भन्छन् तिनी दलाल हुन्, के यो संभव छ ?'

उहाँले नेतृ हिसिला यमिलाई संकेत गर्दै भन्नुभयो, 'जो महिलासँग एक आना सुन छैन, आफ्नो घर छैन कसरी भ्रष्टाचारी हुनसक्छ ?' उहाँले राजनीतिमा अतिरञ्जनापूर्ण रुपमा फैलाइने अफवाहलाई चिरेर अघि बढ्नुपर्ने उहाँले जोड दिनुभयो ।

हाम्रो जीवनकालमा यो देशलाई समृद्ध बनाउने चाहना नयाँ शक्ति पार्टीका रहेको स्पष्ट पार्दै उहाँले प्रश्न गर्नुभयो, 'यो दशेलाई समृद्धि बनाउने चाहना यदि दलाली हो भने हामी त्यो दलाली स्वीकार गर्छौं, हामी दलाल हुन चाहन्छौं ।'