राष्ट्रिय एकता बलियो बनाएर देशलाई समृद्धितिर लैजानुपर्छ : संयोजक भट्टराई

१३ चैत, २०७३

धनगढी – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जारी हिमाल, पहाड, तराई–मधेश–थरुहट राष्ट्रिय अभियानको मुख्य लक्ष्य नेपालको जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता बलियो बनाएर देशलाई समृद्धिको दिशामा लैजानु रहेको बताउनुभएको छ । उहाँले आइतबार बिहान धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।

संयोजक भट्टराईले संविधान संशोधनले असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्ने र त्यसले चुनावको वातावरण बनाउने उल्लेख गर्दै संविधान संशोधनमार्फत संघीयता र सीमांकनको विषय टुंगोमा पुर्याएर तीनवटै तहको चुनाव एकैचोटी गर्दा उपयुक्त र सहज हुने बताउनुभयो ।

पत्रकारहरुको जिज्ञासा सम्बोधन गर्दै उहाँले राज्यको पुनःसंरचना आयोग र समितिको प्रतिवेदन अनुसार संघीय स्वरुप बनाएको भए संघीयताको व्यवस्थापन सहज हुने तर्क गर्दै अहिले कायम गरिएको ७ प्रदेशमै गएपनि प्रदेशहरुको सीमा हेरफेर गरेर समाधान खोज्न सकिने बताउनु भयो । ‘सीमा हेरफेर गर्नुहुँदैन भन्ने केही छैन, आवश्यकता अनुसार हेरफेर गर्न सकिन्छ, गर्नुपर्छ’ उहाँले जोड दिनुभयो ।

‘संविधान संशोधनको प्रस्ताव भारतको स्वार्थमा आएको हो ?’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै संयोजक भट्टराईले भन्नुभयो – ‘हामीले हरेक विषयलाई भारतसँग जोडेर हिनाताबोध प्रदर्शन गर्नु हुँदैन । यो हाम्रा पुर्खाले खुकुरीको भरमा लडेर बनाएको मुलुक हो । गोविन्द गौतमहरुको वीरतापूर्ण सहादतले यो देशको एक मुठी जमिन पनि हामी मिच्न दिंदैनौ भन्ने प्रमाणित गरेको छ । यसर्थ, संविधान संशोधन हाम्रो आफ्नै आन्तरिक मामिला हो, यसमा कुनै छिमेकीलाई दोष दिनु उचित होइन ।’

संयोजक भट्टराईले नयाँ शक्तिले आन्दोलनकारी र सत्तापक्षको बिचमा रहेर समन्वय गर्दै देशलाई राजनीतिक निकास दिन खोजेको कुरामा पनि जोड दिनुभयो । राजनीतिक समस्या हल गर्नमा नयाँ शक्तिको कुनै पनि कठोर र कट्टर अडान नरहेको बताउँदै उहाँले सबै तहको चुनावमा नयाँ शक्तिको सशक्त उपस्थिति हुने उल्लेख गर्नुभयो ।

‘हामी सबै ७ सय ४४ स्थानीय तहहरुको चुनावमा सहभागी हुन्छौं, प्रदेश र केन्द्रमा पनि स्वतः हुन्छौं’ उहाँले जोड दिनुभयो – ‘तर, यो स्थानीय तहको चुनाव भएपछि सबै समस्याहरु हल हुन्छन् भन्ने जुन भ्रम छ, त्यो सत्य होइन तीनवटै चुनावहरु अन्तरसम्बन्धित छन् । सबै समस्या हल हुनेगरी तीनवटै चुनाव एकैचोटी गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

उहाँले विद्यमान निर्वाचन प्रणाली र शासकीय स्वरुपले राजनीतिक स्थायित्व नल्याउने उल्लेख गर्दै संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदमा जानुपर्नेमा जोड दिनुभयो ।