सरकार फेर्ने खेलमा लाग्दा मुलुकमा अस्थिरता निम्तन सक्छ – डा. भट्टराई

३ बैशाख २०७३

विराटनगर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारको विकल्प खोज्ने भन्दा पनि सुस्त सरकारलाई काम गर्न दबाव दिनुपर्ने बताउनुभएको छ ।

मधेस जागरणको लागि एक हप्ते अभियानमा सहभागी हुन शुक्रबार मध्य मधेस निस्कनुभएका नेता भट्टराईले विराटनगर विमानस्थलमा सञ्चाकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै सरकारले सुस्त गतिमा काम गरिरहेकोले द्रूत गतिमा काम गर्न सबैले दबाव दिनुपर्नेमा जोड दिनुभयो ।

‘सरकारको विकल्प नै खोज्नुपर्ने बेला भएको छैन,’ नेता भट्टराईले भन्नुभयो, ‘तर सरकार असाध्यै सुस्त भएको छ, यसलाई छिटो काम गर्न दबाव दिनुपर्छ ।’

सरकार परिवर्तनको खेलमा लाग्दा देशमा थप राजनीतिक अस्थिरता निम्तने बताउनुहुँदै उहाँले यस्तो खेलमा नलाग्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । ‘एकपछि अर्को सरकार परिवर्तनको खेलले मुलुकमा अस्थिरता निम्तन सक्छ,’ उहाँले भन्नुभयो, ‘सबै मिलेर सरकारको ढिलासुस्ती र गतिहीनताको विरुद्ध आवाज उठाउनुपर्छ र भ्रष्टाचार र कालोबजारी रोक्नको लागि बाध्य बनाउनुपर्छ ।’

नेता भट्टराईले मधेसको समस्या राजनीतिक मुद्दा भएकोले वार्ता र छलफलबाटै समस्याको समाधानको उपाय खोज्न दुवै पक्षलाई गम्भीर हुन आग्रह गर्नुभयो । ‘सरकार दूरदर्शी नहुँदा मुलुकले अनावश्यक क्षति बेहोरिरहेको छ,’ उहाँले भन्नुभयो - ‘मधेसमा देखिएका समस्या समाधान गर्नका लागि मोर्चा र सरकार वार्तामा बस्नुको विकल्प छैन ।’

शुक्रबार सप्तरीको भारदहमा आयोजित कार्यक्रममा सहभागी हुन मधेस पुग्नुभएका भट्टराई लगातार एक हप्तासम्म मधेस जागरण अभियानमा सहभागी हुनुहुनेछ ।