‘पुराना शक्तिमा गएर बिलिन हुन कत्ति पनि तयार छैनौं' : संयोजक भट्टराई

२६ वैशाख, २०७५

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफू एक्लो भए पनि नयाँ शक्ति पार्टीको झण्डा उठाइरहने बताउनुभएको छ । बुधबार नयाँ शक्ति पार्टीनिकट युवा संगठन राष्ट्रिय युवा अभियानको प्रदेश ३ को विशेष भेलालाई सम्बोधन गर्दै संयोजक भट्टराईले आफूहरु कुनै पनि हालतमा पुराना शक्तिसँग गएर मिसिन नसक्ने बताउनुभएको हो ।

नयाँ शक्ति पार्टी पुराना पार्टीहरुसँग एकता र ध्रुवीकरणमा जाने भन्ने पछिल्लो बजार हल्ला गलत भएको उहाँले प्रष्ट पार्नुभयो ।

‘पुराना शक्तिमा गएर बिलिन हुन कत्ति पनि तयार छैनौं र हामी त्यो गर्दैनौं’ उहाँले भन्नुभयो – ‘बाबुराम भट्टराई पुराना पार्टीहरुमा कहिल्यै जाँदैन, यदि नयाँ शक्तिले अगाडि सारेको ५ स लाई स्वीकार गर्दै पुराना शक्तिहरु रुपान्तरित भएर नयाँ पार्टी बन्ने अवस्था हो भने सहकार्य गर्न सकिन्छ ।’

संयोजक भट्टराईले बदलिएको राजनीतिक गन्तव्यमा पुग्नको लागि पुराना पार्टीहरुलाई विघटन गरेर नयाँ शक्तिले अगाडि सारेको एजेण्डा र समुन्नत समाजवादी केन्द्र बनाउने अभियानमा साथ दिनसमेत आग्रह गर्नुभयो ।

अबको राजनीतिमा युवा सक्रियता र सहभागिता अपरिहार्य रहेको बताउँदै नयाँ शक्ति पार्टीले लुम्बिनी बैठकयता पार्टीको केन्द्रीय कार्यकारी समितिमा उल्लेख्य मात्रामा युवा सहभागिता गराएको बताउनुभयो ।



भेलालाई सम्बोधन गर्दै नयाँ शक्तिका युवानेता एवं प्रदेश ३ का प्रदेश सभा सदस्य प्रेम तामाङ, युवा अभियानका संयोजक सन्देश कार्की, पार्टीका प्रदेश ३ का ईन्चार्ज गंगानारायण श्रेष्ठ, रमेश पोखरेललगायतले नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता बढ्दै गएको हुँदा त्यो जिम्मेवारी युवा पुस्ताले पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

भेलाले आगामी जेठ ३० गते नयाँ शक्ति पार्टी स्थापना दिवसका दिन काठमाडौंमा हुने राष्ट्रिय युवा अभियानको विशेष राष्ट्रिय सम्मेलनलाई सफल बनाउन विभिन्न कार्यविभाजन गरेको छ । त्यस्तै भेलाले ५१ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

यसैबिच काठमाडौं र ललितपुरबाट केही युवाहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरुलाई पार्टीका संयोजक डा. बाबुराम भट्टराईले स्वागत गर्नुभयो । पार्टी प्रवेश गर्नेहरुमा कमल तामाङ, क्षितिज तामाङ, विशाल तामाङ, भिम तामाङ, कुमार तामाङलगायत रहनुभएको छ ।