धौलागिरी इन्फिल्डर्स रोयल रोलर्स क्बल नयाँ शक्तिमा, संयोजकद्वारा स्वागत

२८ वैशाख २०७५

काठमाडौं । धौलागिरी इन्फिल्डर्स रोयल रोलर्स क्बलको कार्यसमिति नै नयाँ शक्तिमा समाहित भएको छ ।

शुक्रबार नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयमा क्लबका पदाधिकारीसहित कार्यसमितका सदस्यहरु नयाँ शक्तिमा समाहित भएका हुन् । युवाहरुलाई पार्टीमा स्वागत गर्दै संयोजक भट्टराईले अबको राजनीतिक नेतृत्व युवाहरुले लिनुपर्नेमा जोड दिनुभयो । 'हामी भूगोल एकीकरण र लोकतान्त्रिकरणको कालखण्डबाट समृद्धिकरणको युगमा कोल्टे फेर्दैछौं,' संयोजक भट्टराईले भन्नुभयो, 'यो अभियानको नेतृत्व मुलतः नयाँ विश्व बुझेका युवा पुस्ताले नै गर्न सक्छन् र गर्नुपर्छ ।'

भाइचारालाई सम्मान गरौं भन्ने मान्यता राख्ने धौलागिरी इन्फिल्डर्स रोयल रोलर्स क्लब बुलेट बाइक राइडर्सहरुको क्लब हो । उनीहरु विभिन्न सामाजिक अभियानसँग जोडिएर देशका विभिन्न स्थानहरुमा 'राइड टुअर' जाने गर्छन् । सामाजिक कार्य, परोपकार, सचेतनामुलक कार्यहरुका साथै बाइक राइडको मज्जा लिनु उनीहरुको उद्देश्यभित्र पर्छ ।

बुलेट राइडर्सको ठूलो मेला पोकर रन हरेक नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा हुनेगर्छ । उक्त मेलामा धौलागिरी क्लबले लगातार दुई वर्षदेखि बेस्ट मोडिफिकेसन बाइक अवार्ड जित्दै आएको छ ।

युवालाई दुर्व्यसन र हिंसाबाट अलग्याएर सामाजिक कार्यहरुमा सहभागी गराउँदै बाइक राइडिङलाई पर्यटनको रुपमा विकास गर्ने उद्देश्यका साथ क्लब अगाडि बढिरहेको क्लबका वरिष्ट सदस्य प्रकाश तुलाचन बताउनुहुन्छ । क्लबका प्रायः सदस्यहरु आ-आफ्नै व्यवसायमा आवद्ध छन् ।

यो क्लबको बुटवल, पोखरा, चितवन, झापा, सुर्खेत, लमजुङलगायतका शहरहरुका विभिन्न राइडर्स क्लबहरुसँग राम्रो भाइचारा सम्बन्ध रहेको छ ।