नेपालगञ्ज उपमहानगरपालिकामा नयाँ शक्ति

९ वैशाख २०७३

टिकापुर । नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्ति स्थानीय निकायको निर्वाचनमा देशको पहिलो पार्टी हुनेगरी संगठन बिस्तारमा लागेको बताउनुभएको छ ।


नेपालगञ्ज उपनगरपालिकामा नयाँ शक्तिको नगरपरिषद घोषणा गर्दै उहाँले भन्नुभयो, ‘राष्ट्रको समृद्धि र प्रगतिको लागि सबैले विकल्प खोजको छन्, नयाँ निर्वाचनमा नयाँ शक्ति पहिलो पार्टी हुन्छ ।’ उहाँले नयाँ शक्तिप्रतिको जनउभारलाई संगठनमा बदल्न पार्टीका अभियन्ताहरुलाई निर्देशन दिनुभयो ।

भेलाले कमल खड्काको नेतृत्वमा ५१ सदस्यीय नेपालगञ्ज उपनगरपालिका नगरपरिषद घोषणा गरेको छ । परिषदमा विभिन्न पार्टी, पेशा र व्यावसायबाट नयाँ शक्तिमा सहभागीहरु रहनुभएको छ । 
‘अहिले सबै पार्टी कमिटीहरु जेठ अन्तिमको पार्टी घोषणालाई आधार बनाएर संगठन बिस्तारमा लाग्नुभएको छ,’ परिषद घोषणापछि संयोजक पौडेलले भन्नुभयो, ‘नयाँ शक्तिप्रतिको जनअपेक्षा र विश्वासका कारण हामीले घोषित लक्ष्य तोकिएको समयावधि अगाडि नै हासिल गर्ने निश्चित भएको छ ।’


उहाँले नयाँ शक्ति नेपाल मुलुककै प्रमुख शक्तिकारुपमा स्थापित हुने बताउनुभयो । टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सुशासन र आर्थिक समृद्धि नयाँ शक्तिको लक्ष्य भएको बताउँदै राजनीतिक विकल्प दिने उद्देश्यले नयाँ शक्ति गठन भएको बताउनुभयो ।


उक्त अवसरमा सचिवालय सदस्य जनकराज शाह, पूर्व सभासद सुकदैया चौधरी, टीकापुर नगर ईञ्चार्ज ध्रुवराज खत्रीलगायतको उपस्थिति रहेको थियो । यसैबीच बिहीबार बिहान कैलालीको टिकापुरमा जनभेटघाट र अन्तरक्रियासम्पन्न भएको छ । नयाँ शक्ति संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले अन्तरक्रियालाई सम्बोधन गर्दै जनताले विकल्प खोजिरहेकोले उपयुक्त विकल्प बन्न सके नयाँ शक्तिले नसोचेको उपलब्धि हासिल गर्ने बताउनुभयो ।


यसैबीच शुक्रबार सुर्खेतमा नयाँ शक्ति ६ नम्बर प्रदेशको बैठकको आयोजना गरिएको नेता पौडेलले जानकारी दिनुभयो ।