तीन वर्षभित्र नयाँ शक्ति देशकै सबैभन्दा ठूलो दल बन्नेछ : पौडेल

१८ वैशाख २०७३

कुश्मा (पर्वत) । नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र आउँदो तीन वर्षभित्र नयाँ शक्ति नेपाल मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने बताउनुभएको छ ।


‘आगामी निर्वाचनबाट नयाँ शक्ति मुलुककै ठूलो दल हुनेछ,’ शनिबार पर्वतको कुश्मा बजारमा नेपाल प्रेस सोसाइटीले गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले भन्नुभयो, ‘अहिले पार्टी घोषणा नहुँदै नयाँ शक्ति तेस्रो स्थानमा आइसकेको छ ।’ उहाँले २०७५ सालको संसदीय चुनावबाट नयाँ शक्ति मुलुकको पहिलो राजनीतिक दल बन्ने बताउनुभयो ।


‘वाम लोकतान्त्रिक पार्टीको रुपमा अगाडि बढेको नयाँ शक्तिप्रति तिव्र आकर्षण देखिएको छ,’ उहाँको तर्क थियो, ‘यसर्थ यो आउँदो निर्वाचनबाट मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित छ ।’
नेता पौडेलले नेपालमा कांग्रेस र कम्युनिष्टको सिण्डिकेट चलिरहेको आरोप लगाउनुभयो । ‘यो देशलाई कांग्रेस र कम्युनिष्टको सिण्डिकेटबाट अलग राख्नका लागि नयाँ शक्ति जन्मिएको हो ।’
मुलुकलाई विकल्प चाहिएको भन्दै उहाँले नयाँ शक्तिलाई वैकल्पिक धारको रुपमा विकास गरिने बताउनुभयो ।


नयाँ शक्तिले नेपाललाई २० वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको देश बनाउने बताउनुभयो । ‘देशको विकास गर्न सरकारमा जानुपर्छ, त्यसको लागि हामी आक्रामक संगठन बिस्तारमा छौं,’ उहाँले भन्नुभयो ।
नेता पौडेलले नयाँ शक्तिले बन्द हड्ताल नगर्ने र कुनै पनि निर्वाचन बहिस्कार नगर्ने बताउनुभयो । उहाँले पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोगलाई केही दलहरुले प्रतिसोध साँध्नेगरी प्रयोग गर्न खोजको आरोप गराउनुभयो । उनले पुरानो कुरालाई बल्झाएर पुनः अर्को अशान्ति मच्चाउने खेलबाट सबै पक्ष जोगिनुपर्नेमा जोड दिनुभयो ।


आउँदो जेठ ३०, ३१ र ३२ गते पार्टी औपचारिकरुपमा पार्टी घोषणा गर्ने तयारी गरेको नयाँ शक्तिमा अहिलेसम्म प्रत्यक्षरुपमा ७० हजारले र अनलाइनबाट २४ हजारले क्रियाशील सदस्य बन्न आवेदन दिइसकेको पौडेलले जानकारी दिनुभयो । पत्रकार भेटघाटमा नयाँ शक्तिका नेता पासाङ शेर्पा र सुशीला श्रिपाइलीलगायतको सहभागिता रहेको थियो ।