अपराधी र फटाहालाई राजनीतिक संरक्षण दिने संस्कार तोड्नुपर्छ : संयोजक डा. भट्टराई

१० वर्षमा रोजगारीका लागि विदेश जानुनपर्ने बनाउँछौं
१८ वैशाख २०७३

इटहरी । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिने राजनीतिक अभ्यासले मुलुकमा दण्डहिनता बढेको बताउनुभएको छ ।

१२७ औं मई दिवसको अवसर पारेर नयाँ शक्ति नेपालले इटहरीमा गरेको खुलासभालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । ‘अदालतले दोषी ठहर गरेका व्यक्तिलाई राजनैतिक संरक्षण दिनाले दण्डहिनता बढेको छ,’ उहाँले भन्नुभयो, ‘नयाँ शक्तिले फटाहा र अपराधीलाई संरक्षण दिँदैन ।’

उहाँले नयाँ शक्तिले अदालतले आफ्नै नेता कार्यकर्तालाई पनि दोषी देखाएका तत्काल निलम्बन गर्ने र आर्थिक प्रलोभनमा फसेका कार्यकर्तालाई संरक्षण नदिने बताउनुभयो । ‘फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिएर असल राजनीतिक संस्कार विकास हुँदैन,’ उहाँले भन्नुभयो । नयाँ शक्तिले यस्तो संस्कारको सुरु गरिसकेको उहाँले स्पष्ट पार्नुभयो ।

‘एमाले कांग्रेस र एमाओवादीजस्ता पुराना दलहरुले नयाँ नेपालको विकास र आमूल परिवर्तनका लागि सिन्को भाँच्न सकेनन्’ उहाँले भन्नुभयो, ‘संसद खच्चड र खिचडीजस्तो भएको छ र यही पुरानो ढर्रा र प्रणालीबाट देशको विकास समभव हुँदैन ।’ नयाँ संविधान घोषणापछि पनि कार्यान्वयन गर्न नसक्नु दलहरुकै कमजोरी रहेको भन्दै उहाँले जनताले अहिलेसम्म लोकतन्त्रको महसुस गर्न नसकेको बताउनुभयो ।

‘देश विकास र परिवर्तन गर्ने भिजन भएका नेताहरु नयाँ शक्तिमा प्रशस्तै छन्,’ उहाँले भन्नुभयो, ‘हामीले जनताले साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’ उहाँले नयाँ शक्ति दश वर्षभित्र स्वदेशका कुनै पनि नागरिक बेरोजगार र गरिब नहुने अभियानमा लागिसकेको बताउनुभयो ।


नयाँ शक्ति नेपाल सुनसरी जिल्ला कार्य परिषद्को आयोजनामा तथा इटहरी उमनपाको व्यवस्थापनमा आयोजित सभामा नयाँ शक्ति नेपाल, केन्द्रीय परिषद सदस्यहरु केशव दाहाल, गणेशराज राई, मुमाराम खनाल, डम्बर खतिवडा, पर्शुराम खापुड, प्रदेश संयोजक राजेन्द्र किराँतीलगायतको उपस्थिति रहेको थियो ।