प्रेस विज्ञप्ति - १९ पुस २०७५

१९ पुस २०७५

नेपाल वायुसेवा निगममद्वारा बद्नियतपूर्ण, अनियमित र मिलेमतोपूर्ण तवरले वाइडबडी विमानहरु खरिद गरी राष्ट्रलाई आर्थिकरुपले गम्भीर घाटा पुर्‍याउने कार्यको हामीले प्रारम्भदेखि विरोध गर्दै आएका छौँ । यस मुद्दालाई लिएर नयाँ शक्ति पार्टी, नेपालले सशक्त विरोध प्रदर्शन गर्दै आएको तत्थ्य सबैका सामु प्रष्ट नै छ । यस सन्दर्भमा हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको छानबिन उप-समितिले बहालवाला तथा पूर्व पर्यटन मन्त्रिहरु, बहालवाला तथा पूर्व पर्यटन सचिव र नेपाल वायुसेवा निगमका महाप्रबन्धक समेतका अधिकारीहरु यस गलत कार्यमा संलग्न भ‌ै राष्ट्रलाई ४ अर्व ३५ करोड ५६ लाख रुपैयाँ घाटा पुर्‍याएको ठहर गर्दै निजहरुमाथि कार्वाहीको सिफारिश गरेको सार्वजनिक भएको छ ।

हामी छानबिन समितिको यस कदमको हार्दिक स्वागत गर्दछौँ । बस्तुत: उक्त संसदीय छानबिन उप-समितिले गरेको छानबिन र ठहरका आधारमा उपरोक्त मन्त्रि, सचिव र महाप्रबन्धक समेतलाई अब आफ्नो ओहोदामा रहिरहने नैतिक आधार एक क्षण पनि रहँदैन । तर अझै पनि राष्ट्रलाई टाट पल्टाउने प्रकारको यो घोटालालाई अनेक बहानाबाजीमा राजनीतिक ढाकछोपको प्रयत्न भइरहेको जानकारीमा आएको छ । कुनै पनि बहानामा छानबिन उप-समितिको सिफारिश र ठहरलाई उल्टाउने दुष्प्रयास नगरी वाइडबडी विमान खरिद मिलेमतो र अनियमितताको अझै गहीरो छानबिन गरी सम्पूर्ण दोषीहरुमाथि सिघ्र कडा कार्वाहीको माग गर्दछौँ । दोषीहरुलाई बचाउने दुस्प्रयास कतैबाट भएमा पुन: संघर्षमा उत्रन बाध्य हुने ब्यहोरा समेत जानकारी गराउँछौँ ।

 

 

-------------------------------
नवराज सुवेदी
संयोजक,
सामाजिक-राजनीतिक परिचालन समिति
नयाँ शक्ति पार्टी, नेपाल

डाउनलोड