यो एकीकरणको होइन, ध्रुवीकरणको समय हो –संयोजक डा. भट्टराई

७ जेठ २०७३

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको आवश्यकता एकीकरण नभएर ध्रुवीकरण भएको बताउनुभएको छ ।


नयाँ शक्ति नेपालले पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै उहाँले उक्त कुरा बताउनुभएको हो । ‘यो एकीकरणको समय होइन, ध्रुवीकरणको बेला हो,’ उहाँले भन्नुभयो, ‘पुराना टुक्राहरु जोडेर एउटा बनाउनु एकीकरण हो, यसले इतिहासको आवश्यकतालाई पूरा गर्दैन ।’


संयोजक भट्टराईले एकीकरण भनेको सुकेका रुखका ठूटाहरुलाई कलमी गरेर जोड्नु जस्तै भएको तर्क गर्नुभयो । ‘एकीकरण भनेको सुकेका रुखका ठूटाहरुलाई जोडेर फेरि एउटा कलमी रुख बनाउनु हो,’ उहाँले भन्नुभयो, ‘तर ध्रुवीकरण भनेको नयाँ एजेन्डाको आधारमा जगैदेखि नयाँ बनाउने कुरा हो ।’


अहिलेको इतिहासको आवश्यकतालाई पूरा गर्न नितान्त नयाँ रुख हुर्काउनु पर्ने वा नयाँ घर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नयाँ शक्ति नयाँ ध्रुवीकरणमार्फत वैकल्पिक राजनीति सिर्जना गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।


सामूहिक सपथ, दस्तावेजमा जनताको राय सुझाव
संयोजक भट्टराईले नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणा जेठ तीस गते गरिने जानकारी दिँदै अहिले यो अभियान अन्तरिम कालखण्डमा रहेको बताउनुभयो । ‘वैकल्पिक राजनीति अभियान हुनुको नाताले यसको विचार नीति र कार्यक्रम मात्रै होइन, यसको निर्माण विधि पनि नयाँ हुन्छ,’ उहाँले भन्नुभयो, ‘स्थापना भेलामा साधारण सदस्यहरु समेत उपस्थित भएर सबैले सामूहिक सपथ ग्रहण गरेर प्रतिवद्धता व्यक्त गर्दछौं ।’


उहाँले पार्टीको राजनीतिक प्रतिवेदन, आर्थिक समृद्धिको कार्ययोजना र संगठनात्मक सिद्धान्त र विधान प्रतिवेदन गरी तीनवटा दस्तावेज तयार भइसकेको जानकारी दिनुभयो । ‘तयार भएको दस्तावेजलाई हामी ११ र १२ गते डाकिएको सचिवालय बैठकबाट पारित गरेर जनताको लागि सार्वजनिक गर्दछौं,’ उहाँले जानकारी दिनुभयो । उहाँले दस्तावेजहरु सार्वजनिक गरेर जनताको सुझाव र सल्लाह लिँदै परिमार्जनसहित जेठ ३०, ३१ र ३२ गतेको पार्टी स्थापना राष्ट्रिय भेलामार्फत जारी गर्ने जानकारी दिनुभयो ।


हामी सकरात्मक सोच राख्दछौं
संयोजक भट्टराईले भन्नुभयो, ‘नयाँ शक्तिको मान्यता नै सकरात्मक सोच राख्नु हो, हामी अरुले भन्ने नकरात्मक कुराप्रति ध्यान दिएर टिकाटिप्पणी गर्दै समय बर्बाद गर्दैनौं ।’ आफू राम्रो काम नगर्ने, अनावश्यक र उट्पट्याङ टिप्पणी गरेर ध्यान विकेन्द्रित गर्दै बस्ने पुरानो शक्तिको सोच र अभ्यास रहेको उहाँले बताउनुभयो ।


‘हामी यसरी रिएक्टिभ राजनीति गर्दैनौं, नयाँ शक्तिले प्रोएक्टिभ राजनीति गर्दछ, त्यसकारण कसैले के भन्यो हाम्रो चासोको विषय होइन,’ संयोजक भट्टराईले भन्नुभयो । उहाँले प्रजापरिषदबाट सुरु भएर २०७२ मा संविधान जारी भइसकेपछिको अवस्थामा नेपाली राजनीतिले नयाँ विकल्प खोजेको बताउनुभयो । प्राप्त उपलब्धिहरुलाई संस्थागत गरेर सुशासनको प्रत्याभूति गरेर समृद्ध समाजवादसम्म पुग्ने उद्देश्य नयाँ शक्तिले बोकेको उहाँले स्पष्ट पार्नुभयो ।


के ल्याउँदैछ नयाँ शक्तिले ?
उदारवादी धार र राज्यविहिन समाजवादी धारबीचको बहस शीतयुद्धसम्म पुगेको भन्दै यी पुराना विचारले २१औं शताब्दीको समस्या हल गर्न नसक्ने संयोजक भट्टराईले बताउनुभयो । ‘उत्पादन सम्बन्धको नयाँ परिवर्तन र ज्ञान–विज्ञानका विकासहरुको आधारमा नयाँ विचार विकास गर्नुपर्दछ भन्नेमा नयाँ शक्ति छ,’ उहाँले भन्नुभयो ।
‘यही आधारमा नेपालको आएको परिवर्तन र वर्तमान अन्तरविरोध पहिचान गर्दै त्यसलाई समाधान गर्ने ठोस योजना र वैकल्पिक राजनीतिक प्रस्तावसहित हामी आउँदैछौं,’ उहाँले बताउनुभयो ।


ओलीको अभिव्यक्ति, संकटको अभिव्यक्ति
‘नवउदारवादी विचारको संकटले डोनाल्ड ट्रम्प जन्मायो भने राज्य केन्द्रित समाजवादी अथवा कम्युनिष्ट भन्ने धारले हाम्रा केपी ओलीहरु जन्माइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘यी दुवै संकटमा अभिव्यक्ति हुन्, अत्यन्तै उत्पट्याङ कुरा गरेर जनताको ध्यान अन्यत्र मोड्ने प्रवृत्तिले अन्ततः एउटा डरलाग्दो फासीवादी आधार तयार पार्ने काम भइरहेको छ ।’
उहाँले दोस्रो विश्व युद्धपछि हिटलरले पनि त्यहाँ देखिएको संकटलाई अन्ध राष्ट्रवादी कुरा गरेको उदाहरण दिनुभयो । ‘जस्तो डोनाल्ड ट्रम्पले मुस्लिमहरुलाई छिर्नै नदिने कुरा अत्यन्त विकसित देशमा पनि गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘हाम्रोजस्तो पिछडिएको देशमा केपी ओलीजीले ठ्याक्कै त्यसको नक्कल गरिराख्नुभएको छ ।’ यसलाई संयोजक भट्टराईले वैचारिक, राजनीतिक र आर्थिक संकटको संज्ञा दिनुभयो । यसैको समाधानको लागि वैकल्पिक राजनीतिको रुपमा नयाँ शक्तिको आवश्यकता रहेको बताउनुभयो ।

पत्रकार भेटघाटमा जारी विज्ञप्तिको लागि डाउलोडमा क्लिक गर्नुहोस्


डाउनलोड