समृद्धिको इतिहास लेख्ने अभियानमा आदिवासी जनजाति छुट्नुहुँदैन : नेता शेर्पा

९ जेठ २०७३

काठमाडौं । नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य पासाङ शेर्पाले समृद्धिको इतिहास लेख्ने अभियानमा आदिवासी जनजातिहरु छुट्न नहुने बताउनुभएको छ ।

नयाँ शक्ति नेपाल अन्तरिम जिल्ला परिषद कास्कीले आइतबार पोखरामा आयोजना गरेको नेपालको आदिवासी जनजाति राजनीतिक आन्दोलन र भावी गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।


‘राजनीतिमा कम चासो राखेको कारण अहिलेसम्म हामी आदिवासी जनजाति पछाडि परेका छौं,’ नेता शेर्पाले भन्नुभयो, ‘हामी समृद्धिको इतिहास लेख्ने चरणमा छौं, यो चरणमा पछाडि पर्नुहुँदैन ।’ समृद्धिको नयाँ चरणमा आदिवासी जनजातिको सक्रिय सहभागिता हुनुपर्नेमा उहाँको जोड थियो ।


‘यो भन्दा अघि हामी राजनीतिक संघर्षको चरणमा थियौं, अब समृद्धिको नयाँ युगमा प्रवेश गर्दैछौं,’ उहाँले भन्नुभयो, ‘हामीले समयलाई बुझेर समृद्धिको अभियानमा सक्रियतापूर्वक सहभागी हुनैपर्दछ ।’ यसो नगरे ऐतिहासिक अवसरबाट आदिवासी जनजातिहरु वञ्चित हुने अवस्था सिर्जना हुनसक्ने खतरा औल्याउनुभयो । नेपालको इतिहासमा जातिय, क्षेत्रीय क्लस्टरको अवधारणा बोकेर उत्पीडितहरुलाई बहुमत नेतृत्वमा लैजाने अवधारणासहितको नयाँ शक्ति पहिलो पार्टी भएको उहाँको तर्क थियो ।


नयाँ शक्ति नेपालका अर्का सचिवालय सदस्य मुक्ति प्रधानले आदिवासी जनजातिलाई अहिलेसम्म राज्यले नै उत्पीडनमा पारिरहेको बताउनुभयो । ‘यस्तो उत्पीडनबाट मुक्त हुने एउटैमात्र बाटो राजनीतिक चेतना नै हो,’ उहाँले भन्नुभयो, ‘नयाँ सोचाईका साथ अगाडि नबढ्ने हो भने आदिवासी जनजातिको मुक्ति सम्भव छैन ।’ उहाँले यस्तो नयाँ सोचसहित नयाँ शक्ति नेपाल अगाडि आएको बताउनुभयो ।
कार्यक्रममा नयाँ शक्ति नेपाल चार नं. प्रदेशका संयोजक देवेन्द्र पराजुलीलगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा विभिन्न राजनीतिक दल र संघसंस्था आवद्ध आदिवासी जनजातिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले नयाँ शक्तिले अगाडि सारेको क्लस्टरको अवधारणालाई इमान्दारितापूर्वक पालना गरेको अवस्थामा आदिवासी जनजातिहरु नयाँ शक्तिको अभियानमा जुट्ने धारणा राख्नुभयो । ‘पुराना दलहरुबाट आदिवासी जनजातिको मुक्ति सम्भव छैन,’ कार्यक्रमका सहभागीहरुले भन्नुभयो, ‘नयाँ शक्तिले अगाडि सारेका अवधारणालाई व्यवहारतः लागू गरेको अवस्थामा सबैले यसलाई सघाउने नै छन् ।’