भारत र चीनको बीचमा च्यापिएर होइन, अब फुकेर बाँच्नुपर्छ : संयोजक भट्टराई

पूर्वमन्त्रीदेखि कांग्रेसका प्रभावशाली नेतासम्म नयाँ शक्तिमा
१० जेठ २०७३

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले दुई ठूला छिमेकीको बीचमा च्यापिएर होइन, फुकेर बाँच्नुपर्ने बताउनुभएको छ ।


कांग्रेस नेता सोनाम छिरिङ शेर्पा र पूर्वमन्त्री नरबहादुर बुढालगायतलाई नयाँ शक्तिमा स्वागत गर्दै उहाँलेभ भन्नुभयो, ‘नेपाल अब दुई देशबीचको गतिशील पुल बनेर समृद्धि हासिल गर्दै फुकेर बाँच्छ ।’ उहाँले जर्मनी, फ्रान्स र इटालीको बीचमा रहेको सानो राष्ट्र स्वीट्जरल्याण्ड समृद्धिको शिखरमा पुगेको उदाहरण दिनुहुँदै नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्ने बताउनुभयो ।


‘जर्मनी, फ्रान्स र इटालीको बीचमा रहेको स्वीट्जरल्याण्ड अहिले विश्वकै धनी मुलुकमध्येमा पर्दछ,’ उहाँले भन्नुभयो, ‘हामी पनि दुई छिमेकीको बीचमा च्यापिएर बस्नेभन्दा विकास र समृद्धि हासिल गर्दै फुकेर बाँच्नुपर्छ ।’ उहाँले चीन र भारतलाई सडकलगायतका भौतिक पूर्वाधारले जोडेर नेपाल गतिशील पुल बन्दै लाभ उठाउन सक्ने उदाहरण दिनुभयो ।


पार्टी ब्राण्ड होइन, विचार हो
कार्यक्रममा सम्बोधन गर्दै संयोजक भट्टराईले नेपालका पुराना पार्टीहरु ब्रान्डजस्तै भएको बताउनुभयो । ‘कांग्रेस र कम्युनिष्ट भन्ने ब्राण्ड जस्तै भएका छन्, कोकाकोला र पेप्सीजस्तै’ उहाँले भन्नुभयो, ‘तर पार्टी भनेको ब्राण्ड होइन, यो त विचार हो ।’ राजनीतिक दलहरु ब्राण्डले भन्दा विचारले चल्नुपर्नेमा उहाँको जोड थियो ।


उहाँले नयाँ शक्तिले कसैप्रति आग्रह–पूर्वाग्रह नराखी अगाडि बढ्ने बताउनुभयो । ‘हामी कसैप्रति आग्रह र पूर्वाग्रह राख्दैनौं,’ उहाँले भन्नुभयो, ‘हामी मानव जातिले आविस्कार गरेको ज्ञान र विज्ञानका पछिल्ला आविस्कारहरुलाई ग्रहण गरेर अगाडि बढ्दछौं ।’


उहाँले नयाँ शक्तिले जे बोल्छ, त्यही गर्छ भन्दै भ्रष्टाचारीहरुलाई नयाँ शक्तिमा कुनै स्थान नहुने बताउनुभयो ।


नयाँ शक्ति पुरानो पार्टीको नयाँ रुप होइन
संयोजक भट्टराईले नयाँ शक्ति कुनै पुरानो पार्टीको नयाँ रुप नभएर जगैदेखि नयाँ पार्टी रहेको बताउनुभयो । ‘पुरानो घरको छाना मात्रै फेरेर नयाँ शक्ति बन्दैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले यो जगैदेखि नयाँ पार्टी हो, यो कुनै पुरानो पार्टीको नयाँ रुप होइन ।’


सोलुखुम्बुका विभिन्न पार्टीका नेताहरुलाई नयाँ शक्तिमा स्वागत गर्दै उहाँले विश्वका मानिसलाई सगरमाथाको चुच्चोमा पुर्याउने नेपाली आफैं भने आर्थिक समृद्धिका दृष्टिले फेदमा पर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्थामा रहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।


‘सगरमाथाको चुचुरोमा पहिलोपटक पुग्ने नेपाली हुन्, विदेशीलाई सगरमाथाको चुचुरोमा पुर्याउने पनि नेपाली नै हुन्,’ संयोजक भट्टराईले भन्नुभयो, ‘तर दुर्भाग्यवश हामी भने विकास र समृद्धिको दृष्टिले फेदमै बस्नुपर्ने अवस्था छ ।’


बेरोजगारी र गरिबीको दुष्चक्र तोड्नेगरी नयाँ शक्तिले समृद्धिको भिजन केही दिनमै सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।


कार्यक्रममा सम्बोधन गर्दै नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले २०७५ सालभित्र नयाँ शक्ति मुलुकको प्रमुख शक्ति, महत्वपूर्ण शक्ति, पारदर्शी शक्ति र मुलुककै नेतृत्व गर्ने शक्ति बन्ने बताउनुभयो । उहाँले नयाँ शक्तिमा देशव्यापीरुपमा आएको उभारले डा. भट्टराईको निर्णय सही सावित हुँदै गएको बताउनुभयो ।


कार्यक्रममार्फत सोलुखुम्बुका नेपाली कांग्रेसका नेता सोनाम छिरिङ शेर्पासहित सोलुखुम्बुका विभिन्न दलका नेताहरु नयाँ शक्तिमा समाहित भएका छन् । शेर्पा २०५४ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका राजनीतिक सल्लाहकार थिए । २०५१ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता बलबहादुर केसीबाट १४३ मतले पराजित भएको उनी सोलुखुम्बुका चर्चित नेता हुन् । कार्यक्रममा  डा. चुन्दा बज्राचार्य, डा. केदार शाक्यलगायतले पनि नयाँ शक्तिमा समाहित हुने घोषणा गर्नुभयो । 


यसैगरी सोही कार्यक्रमबाटै पूर्वमन्त्री नरबहादुर बुढाको नेतृत्वमा पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ता पनि नयाँ शक्तिमा समाहित भएको नयाँ शक्तिको संगठन विभाग प्रमुख देवेन्द्र पौडेले जानकारी दिनुभयो ।