सरकार होइन, व्यवस्था परिवर्तन गर्न लागौं : संयोजक डा. भट्टराई

२४ असार २०७३

विराटनगर । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले पटक–पटक सरकार परिवर्तन भन्दा व्यवस्था परिवर्तन गर्न लाग्नुपर्ने बताउनुभएको छ ।
प्रदेश नं. एकमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन धनकुटा जानेक्रममा शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पटक पटकको सरकार परिवर्तनले मुलुकलाई अहिलेको अवस्थामा पुर्‍याएको बताउनुभयो ।
‘निरन्तरको सरकार परिवर्तनले राजनीतिक अस्थिरता बढ्दा मुलुकमा समृद्धि सम्भव भएन,’ उहाँले भन्नुभयो, ‘अब सरकार परिवर्तनको खेल छाडेर व्यवस्था परिवर्तनतिर लाग्नुपर्छ ।’ उहाँले मुलुकमा राजनीतिक स्थिरतामार्फत विकास र समृद्धि हासिल गर्न जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने शासकीय व्यवस्थामा जानुपर्नेमा जोड दिनुभयो ।
‘नयाँ शक्ति जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुने शासकीय व्यवस्थामा जानुपर्नेमा जोड दिन्छ,’ उहाँले भन्नुभयो, ‘यसबाट सरकार परिवर्तनको खेल रोकिन्छ र जनताले अनुभूति हुने गरी राजनीतिक व्यवस्था नै परिवर्तन हुन्छ ।’ संयोजक भट्टराईले राष्ट्रिय एकताका लागि मुलुकमा विद्यमान विविधतालाई समेटेर राष्ट्रिय एकता कायम हुनुपर्नेमा जोड दिनुभयो ।
‘समृद्धिको लागि अर्को शर्त भनेको राष्ट्रिय एकता हो, त्यसको लागि मुलुकमा विद्यमान विविधता संविधानमा समेटिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अधिकारसम्पन्न जनताले एकताबाट मात्र मुलुकलाई तिव्रतापूर्वक समृद्धिमा लैजान सकिन्छ ।’
स्थानीय निकायको निर्वाचनबारे सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउँदै संयोजक भट्टराईले निर्वाचन जहिले भए पनि हुने तर त्यसका लागि सरकारले केही पूर्वशर्त मान्नुपर्ने बताउनुभयो । ‘निर्वाचन छिटो हुनुपर्छ, छिटोभन्दा छिटो जनताको म्यान्डेट लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर सरकारले यसको लागि जनजाति लगायतका असन्तुष्टहरुको माग सम्बोधन गर्नुपर्छ, प्रदेशहरुको सीमांकन टुंग्याइनुपर्छ र स्थानीय निकायको पुनर्संरचना गर्नुपर्छ ।’ यी शर्तहरु पूरा गरेपछि निर्वाचन जहिले गरे पनि हुने उहाँको भनाई थियो ।
संयोजक भट्टराईले तीनवटै निर्वाचन एकैपटक गर्दा राज्यको खर्च पनि कम हुने र समयको पनि बचत हुने धारणा राख्नुभयो । दुई दिनका लागि पार्टीको काममा पूर्व हिँडेका भट्टराई शुक्रबार दिउँसो भेटेटारमा प्रदेश नं. एकका जिल्ला संयोजकहरुसँग परामर्श बैठकमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । यसैगरी शुक्रबार साँझ धनकुटाको नाम्जे होमस्टेमा स्थानीयसँग भेटघाट गर्नेछन् भने शनिबार सुनसरी र इटहरीमा आयोजित नयाँ शक्तिको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कनुहुने कार्यक्रम रहेको छ ।