राजनीतिक अधिकार व्यवहारमा लागू गर्न समृद्धि अनिवार्य : डा.भट्टराई

८ साउन २०७३

पोखरा । नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले राजनीतिक अधिकार व्यवहारमा लागू गर्न आर्थिक समृद्धि अनिवार्य भएको बताउनुभएको छ ।
नयाँ शक्ति नेपालले राष्ट्रिय भेलाको भाव सम्प्रेषण गर्न पोखरामा आयोजना गरेको ४ नं. प्रदेश स्तरको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले ८० वर्षको संघर्षपछि राजनीतिक अधिकार प्राप्त भएको र त्यही राजनीतिक अधिकारलाई कार्यान्वयन गराउन आर्थिक आधार बदल्नुपर्नेमा जोड दिनुभयो ।
संयोजक भट्टराईले उत्पादन शक्ति र उत्पादकत्व बढाउन नसके राजनीतिक अधिकार कार्यान्वयन गर्न कठिन हुने धारणा राख्नुभयो । ‘अगाडि बढेको राजनीतिक संरचना र पछाडि परेको आर्थिक आधार नै नेपाली समाजको अहिलेको मुख्य अन्तरविरोध हो,’ उहाँले भन्नुभयो, ‘अबको राजनीतिक आर्थिक समृद्धिलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्छ ।’
उहाँले गरिबी र बेरोजगारी अहिलेको साझा समस्याको भएको उनले औल्याउनुभयो । ‘ठूला आदर्शका कुरा होइनकी अहिलेको समस्याको हल गर्नु नै हाम्रो मुख्य राजनीतिक कार्यभार हो,’ उहाँले भन्नुभयो, ‘अबको निकास आर्थिक विकास नै हो, त्यसलाइ नै नयाँ शक्तिले राजनीतिक कार्यदिशा बनाएको छ ।’

२० औं शताब्दीका उदार पुँजीवाद र राज्य केन्द्रित समाजवादी विचारबीच चलेको शितयुद्धदेखि अहिलेसम्म आउँदा ती विचार संकटमा परेको बताउँदै संयोजक भट्टराईले नयाँ शक्तिले सारेको विचार विश्वमा नै विकल्प हुन सक्ने दाबी गर्नुभयो ।
‘मरेपछिको स्वर्ग होइनकी आफ्नै जीवनकालमा मुलुकलाई समृद्ध बनाउने कार्यनीति बनाउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘गरिबी र बेरोजगारी अन्त्य गरेर देशमा नै रोजीरोटी र रोजगार ग्वारेन्टी गर्ने राजनीतिक विचार अहिलेको आवश्यकता हो, त्यसलाई नै नयाँ शक्तिले आत्मसाथ गरेको छ ।’

संयोजक भट्टराईले हिजोको सोंच र संगठनको ढाँचाले देशलाई समृद्ध बनाउन नसकिने बताउनु हुँदै माक्र्सवादको गुदी कुरोलाई समेटेर युगअनुसार त्यसलाई परिर्वतन गरेर उत्पादक शक्तिको विकास गर्न आफू लागिपरेको स्पष्ट पानुभयो । उहाँले सत्तामा नपुगी जनताका समस्यालाई हल गर्न नसकिने भन्दै संगठनलाई सुदृढ गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘जनताका आधारभुत आवश्यकता पूरा गर्र्नका लागि सत्तामा पुग्नै पर्छ,’ उहाँले भन्नुभयो, ‘पार्टीलाई बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, यसको विकल्प छैन ।’ कार्यक्रममा नयाँ शक्ति पार्टीका सहसंयोजक रामचन्द्र झाले पुुराना राजनीतिक दलहरुले अहिलेको चुनौतीलाई सामाना गर्न र आर्थिक समृद्धिको मुद्दालाई अगाडि बढाउन नसक्ने दाबी गर्नुहुँदै त्यसको विकल्पमा नयाँ शक्ति अगाडि आएको बताउनुभयो । परम्परगत शक्ति भन्दा फरक ढंगले अगाडि बढेर आर्थिक समृद्धि हासिल गर्ने विचारसहित नयाँ शक्ति पार्टी गठन भएको भनाइ उहाँको भनाई थियो । कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, प्रदेश संयोजक बलावती शर्मा लगायतले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो ।