तिनाउ पुल मर्मतका लागि दबाब दिन नयाँ शक्ति नेपालको धर्ना

सडक डिभिजन कार्यालयलाई ज्ञापनपत्र
२३ भदाै २०७३

नयाँ शक्ति नेपालले तिनाउ पुलमा दिएकाे धर्ना ।

 

बुटवल । नयाँ शक्ति पार्टी, नेपालको युवा संगठन राष्ट्रिय युवा अभियान रुपन्देहीले जीर्ण बन्दै गएको तिनाउ पुल तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायसँग माग गर्दै आज बिहान १ घण्टा पुल नजिकै धर्ना दिएको छ ।

एक महिनाअघि मात्रै मर्मत गरिएको तिनाउ पुलको कालोपत्रे मर्मत गरेको केही दिनमै पुन: उप्किएको थियो । ठेकेदारको लापरबाहीका कारण तिनाउ पुल पटक पटक मर्मत भए पनि प्रभावकारी ढंगले काम नभएको भन्दै पुल मर्मतका लागि दबाब दिनका लागि धर्ना दिएको युवा अभियानका रुपन्देही अध्यक्ष पंकज राइले जानकारी दिनुभयो ।

तिनाउ पुल कैयौं पटक मर्मत भए पनि खाल्डाखुल्डी पर्न छाडेको छैन । जसका कारण दिनहुँ गाडी आउन जान समस्या छ । सवारी आवागमनमा समस्या आउनुको साथै यात्रुहरुको ज्यानसमेत जोखिममा पर्ने गरेको छ ।

धर्नापश्चात् अभियानले सडक डिभिजन कार्यालय बुटवलमार्फत भौतिक योजना मन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएको छ । ‘झारा टार्ने शैलीमा मर्मत गरिएको पुल केही दिनमै पुन: जीर्ण बन्न जाँदा यात्रुको जनजीवन कठिन र जोखिमपूर्ण बन्दै गएको छ’, ज्ञापनपत्रमा उल्लेख छ – ‘सम्भावित ठूलो दूर्घटनाको जोखिम न्यूनीकरण गरी जनधनको क्षति हुनबाट जोगाउन अविलम्ब पुलको उचित मर्मतसम्भार गरी आवागमनमा सहजता ल्याउन ध्यानाकर्षणसहित यो ज्ञापनपत्र पेश गर्दछौं ।’

०००