लोकतन्त्रको जगेर्नाका लागि पूर्णसमानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपति: संयोजक भट्टराई

९ मंसिर २०७३

बुटवल । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीबिना लोकतन्त्रको जगेर्ना हुन नसक्ने बताउनुभएको छ । ‘समस्या समाधानका लागि कसैले पनि दलगत स्वार्थलाई केन्द्रमा राख्नु हुँदैन’, उहाँले भन्नुभयो –‘पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीबिना लोकतन्त्रको जगर्नेना, राष्ट्रियताको संरक्षण, अनि विकास र समृद्धि संभव छैन ।’

 

उहाँले बुटवलमा बिहीबार नेपाल प्रेस सोसाइटी ५ नम्बर प्रदेशले गरेको पत्रकार सम्मेलनमा बोल्दै आर्थिक विकास र समृद्धिको लागिसमेत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो राज्य पुनःसंरचना आयोग र संविधानसभा अन्तर्गतको राज्य पुनःसंरचना समितिले दिएको प्रतिवेदनलाई आधार मानेर संविधान संशोधन गरी अहिलेको विवाद समाधान गर्नुपर्ने बताउनु भएको हो । उहाँले आदिवासी, जनजाति तथा मधेशीसँग छिटोभन्दा छिटो छलफल गरी अहिलेको समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले जनतालाई उकास्ने र चुनाबी स्वार्थका निम्ति प्रयोग गर्ने गरी संविधान संसोधनको विरोध भइरहेको पनि बताउनुभयो । ‘जनतालाई भ्रममा पारेर संविधान संसोधनको विपक्षमा जाने प्रयत्न जुन गर्न खोजिएको छ, त्यो मुलुकका लागि घातक छ,–उहाँले भन्नुभयो –‘दलीय स्वार्थलाई त्यागेर सबैले मान्नेगरी संविधान संसोधन गर्नुपर्छ ।’

उहाँले भन्नुभयो –‘दलहरुले कुनै बहानामा आलटाल गर्नुहुँदैन, आयोगको प्रतिवेदनअनुसार नै संविधान संशोधन गर्नु उपयुक्त हुन्छ, यसमा कसैले पार्टीको स्वार्थलाई लिएर हुँदैन, दलीय स्वार्थभन्दा माथि उठ्नुपर्छ ।’ दलीय स्वार्थका कारण मुलुकको राजनीति र कर्मचारी संयन्त्रमा समस्या देखिइरहेको उल्लेख गर्दै उहाँले वडा कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म रहेको दलीय जालो तोड्नुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश नम्बर ५ को विभाजनका विषयमा देखिएको विवादबारे अनावश्यक विवाद निकालिएको संकेत गर्दै भन्नुभयो –‘पञ्चायतकालीन जिल्लाहरुलाई टुक्राउनुहुन्न भनेर विवाद गर्न आवश्यक छैन, थारुको बाहुल्य भएको यो नवलपरासीदेखि कैलालीसम्मको क्लष्टर बिगार्नुहुँदैन ।’ उहाँले भन्नुभयो – ‘संविधानमा खस आर्य, मधेशी, थारु जनजातिलाई बराबर अधिकार दिंदा के बिग्रिन्छ, त्यसैअनुसारको प्रदेशहरु बनाउँ, कसैलाई बढी र कसैलाई कम अधिकार दिने हुनुहुँदैन’

यसैबीच संयोजक भट्टराईले नेकपा माओवादी केन्द्रका व्यवस्थापिका संसद सदस्य स्व. भक्ति पाण्डेको १३ औं दिनको पुण्यतिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नुभएको थियो । उहाँले स्वर्गीय पाण्डेको राजनीतिक जीवनको चर्चा गर्दै अहिले सबैले उहाँले देखाएको बाटोमा इमानदारीताका साथ लाग्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

श्रद्धाञ्जली सभालाई पूर्व सभामुख तथा नेकपा एमालेका सांसद् सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन, नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष वद्रे आलमलगायतका नेताहरुले शोक मन्तव्य राख्नुभएको थियो ।