संयोजक भट्टराईको प्रश्न- सुनको थाल बोकेर कति समयसम्म भोकै बसिरहने ?

१७ मंसिर २०७३

काठमाडौं, १७ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सुनको थाल बोकेर नेपाल साधन स्रोत र जनशक्तिमा धनी भएर पनि गरिबीमा बाँचिरहनु परेको बताउनुभएको छ ।

प्रोग्रेसिभवर्ल्ड डट अनलाइनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्नुहुँदै उहाँले प्रश्न गर्नुभयो, ' यसरी सुनको थाल बोकेर कति समयसम्म रोग, भोक र अभावमा बाँचिरहने ?'

उहाँले नेपालीले राजनीतिक परिवर्तनका लागि धेरै समय खर्च गरिसकेका बताउँदै अब सम्पूर्ण ध्यान विकास र समृद्धिको लागि लगाउनुपर्ने बताउनुभयो । 'ढिलै भएपनि मुलुकमा केही अपूर्णतासहित महत्वपूर्ण राजनीतिक परिवर्तन भएको छ,' उहाँले भन्नुभयो, 'संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी नेतृत्व र अन्य केही अपूर्णताहरु छिटो सम्बोधन गरेर हामीले हाम्रो सम्पूर्ण क्षमता विकास र समृद्धिमा केन्द्रित गर्नुपर्नेछ । कछुवा घस्रिएजस्तो गतिले हामीलाई पुग्नेवाला छैन । हामी तीव्ररुपमा दौडनुपर्ने छ ।'

उहाँले नयाँ युगको आवश्यकता सम्बोधन गर्न सक्ने नयाँ विचार, पार्टी र नेतृत्व अन्तरिक्षबाट नआउने भन्दै यसको लागि हामीले हाम्रो पुरानो सोच्ने तरिका, संगठनात्मक प्रणाली, नेतृत्व प्रणाली, विचारसँग सम्बन्ध विच्छेद गर्नैपर्दछ र नयाँको लागि तयार हुनुपर्नेमा जोड दिनुभयो ।

'यहाँ विद्यमान मर्यादाक्रमहरुको भयंकर पर्खालहरु जसले नयाँ र सक्षम पुस्तालाई नेतृत्वमा जानबाट रोकिरहेको छ, त्यसलाई भत्काउनुपर्छ र तीन करोड नेपालीहरु सबैले आफ्नो प्रतिभा र क्षमतालाई राष्ट्र निर्माणमा लगाउन सक्ने पद्धितको विकास गर्नुपर्छ,' उहाँले प्रश्न गर्नुभयो, 'हिजो राजनीतिक परिवर्तनको बेला व्यवस्था फेर्न हरेक सचेत नेपालीभित्रको वीरता जाग्नुपर्दथ्यो, अब हरेक नेपालीभित्रको उद्यमशीलता र इन्नोभेसन जगाउनुपर्छ । के त्यस्तो राजनीति अब हामीले गर्न सक्छौं ?'

'नेपालमा नकरात्मकताको पछि लागेर निराशाको व्यापार गर्दै हाम्रो ऊर्जाशील समय बर्बाद गर्नुभन्दा हाम्रै समाजमा सफलताका नयाँ अध्यायहरु सुरु गरेकाहरुको सफलताको कथा सुन्ने र सुनाउने नयाँ संस्कारको सुरुवात गर्न सक्छौं ?' उहाँले प्रश्न गर्नुभयो ।

 'अब ठूला र सानाको मर्यादाक्रम भत्काउँदै हरेक नागरिक प्रवुद्ध वर्ग बन्नुपर्छ, हरेकले आफ्नो ठाउँबाट सकरात्मकरुपमा मुलुकको विकासको लागि भूमिका खेल्नुपर्छ,' उहाँले भन्नुभयो, हाम्रो विकास र समृद्धि सम्भव बनाउने कुनै भगवान छन् भने ती हामी नागरिक हौं, आफूलाई चिनौं, देशलाई चिनौं र विकास र समृद्धिको रुमानी यात्रा सुरु गरौं ।'

अनलाइनका अध्यक्ष खिमलाल देवकोटाले विभाजन होइन समाधान गर्ने विचारको खोजी गर्न प्रोग्रेसिभ वर्ल्ड डट अनलाइनले भूमिका खेल्ने बताउनुभयो । अनलाइनका प्रधान सम्पादक सुदर्शन खतिवडाले अनलाइनले प्रवुद्ध वर्गको खोजी जनस्तरबाट गर्न भूमिका खेल्ने बताउनुभयो ।