भ्रष्टाचार नियन्त्रणका लागि लोकपाल चाहिन्छ : संयोजक भट्टराई

१८ मंसिर २०७३

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालको संयोजक डा. बाबुराम भट्टराईले मुलुकको भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली लोकपाल गठन गर्नुपर्ने बताउनुभएको छ । उहाँले देशको विकास र समृद्धिका लागि मुलुकको राजनीतिक व्यवस्था, राजनीतिक दल र समाजमा मौंलाउँदै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्नु पहिलो आवश्यकता रहेको बताउनुभयो । मुलुकमा क्यान्सर बनेको भ्रष्टाचार नियन्त्रणका लागि संसदबाट सर्वशक्तिमान संस्था लोकपाल गठन गर्नुपर्ने बताउनुभयो ।

उहाँले अब परम्परागत राजनीतिले देश नचल्ने भएकोले राजनीतिको पनि विकल्प चाहिएको बताउँदै भ्रष्टाचारीहरुले राजनीतिको नेतृत्व गरेसम्म यो अवस्थाको अन्त्य नहुने भएकोले अब राजनीतिलाई स्वच्छ र नागरिकलाई अधिकार सम्पन्न बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

२१ औं दिनदेखि अनसनरत चिकित्सक डा. गोविन्द केसीको पक्षमा उहाँको जीवनरक्षाको माग गर्दै उहाँले उठाएका मागहरु पूरा गर्नको लागि सरकारलाई दबाब दिन शनिबार काठमाडौंमा भएको जनप्रदर्शनपछि आयोजिक कोणसभालाई संक्षिप्त सम्बोधन गर्दै डा. केसीको ज्यान जोखिममा पर्नु भनेको करोडौं नेपालीहरुको ज्यान जोखिममा पर्नु भएकोले तत्काल उहाँको माग सम्बोधन गर्दै मुलुक र राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताउनुभएको हो ।

यो देशमा गोविन्द केसी पटकपटक अनसन बस्नुपर्ने जड कारण खोजेर त्यसको उपचार गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘जबसम्म शिक्षा र स्वास्थ्य जुन प्रत्येक मानिसको जन्मसिद्ध अधिकार हो, यसमा भएको व्यवसायिकरण रोकिंदैन अनि शिक्षण संस्थामा राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने परिपाटी रोकिंदैन गोविन्द केसीहरु अनसन बस्ने अवस्थाको अन्त्य हुँदैन ।’