माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य कडायतसहित तीन केन्द्रीय सदस्यहरु नयाँ शक्तिमा

नेपाल राष्ट्रिय जनवादी पार्टी पनि नयाँ शक्तिमा मिस्सियो
२ पुस २०७३

काठमाडौं । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा सुदूर पश्चिमका स्थापित नेता भीमबहादुर कडायत नयाँ शक्तिमा प्रवेश गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँसँगै माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु शिव सिंह ओली, देवसिंह महरा, केदारचन्द्र भट्टलगायत माओवादी केन्द्र डोटीको बहुमत सदस्यसहित सुदूर पश्चिमका नेता कार्यकर्ताहरु नयाँ शक्तिमा ध्रुवीकृत हुनुभएको छ ।


यसैगरी नेपाल राष्ट्रिय जनवादी पार्टीका अध्यक्ष कुलमान मोक्तानसहित सिंगो पार्टी नै नयाँ शक्तिमा ध्रुवीकृत भएको छ । नवप्रवेशी नेताहरुलाई पार्टीमा स्वागत गर्दै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा प्रगतिशील शक्तिहरुको ध्रुवीकरणको लहर सुरु भएको बताउनुभयो ।


उहाँले एकजनाबाट सुरु भएको नयाँ शक्ति बिस्तार हुँदै विशाल बन्दै गइरहेको र नेपालमा वैकल्पिक राजनीतिक शक्तिको स्थापना भइरहेको बताउनुभयो । उहाँले मुलुकको राजनीति गम्भीर मोडमा पुगेको भन्दै राष्ट्रिय एकता गर्दै राजनीतिक उपलब्धि जोगाएर समृद्धिको नेतृत्व गर्न नयाँ शक्तिले पहल लिने बताउनुभयो ।


‘पुरानो व्यवस्था अन्त्य गर्न लडेको हाम्रो पुस्ताले ठूलो त्याग गर्यो,’ उहाँले भन्नुभयो, ‘तर, ८० वर्षको राजनीतिक क्रान्तिको नेतृत्व गरेपनि आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व यो पुस्ताले गर्न सकेन ।’ उहाँले पुरानो नेतृत्व देशको नेतृत्व गर्न चुकेकोले देश निकासविहिन बनेको तर्क गर्नुभयो ।


‘पुरानो नेतृत्व फोहोर र भ्रष्टाचारको आहालमा डुबेको छ, यही भएर युवाहरुमा राजनीतिप्रतिको विश्वास गुमेको छ,’ उहाँले भन्नुभयो, ‘तर हामी पुरानै राजनीतिको निरन्तरतामा छैनौं, हामी राजनीतिमा क्रमभंग गरेर देशलाई नयाँ विकल्प र विश्वमा नयाँ सन्देश दिन चाहन्छौं ।’ उहाँले पुरानो पुस्ताले जस्तो राजनीतिलाई व्यवसाय नबनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


संयोजक भट्टराईले एमाले अध्यक्ष केपी ओलीले आफ्नो विगतको कुकृत्य लुकाउँदै उट्पट्याङ कुरा गरेर आफ्नै दाजुभाइलाई पराईको व्यवहार प्रकट गरिरहेको धारणा राख्नुभयो । उहाँले यस्ता कृयाकलापहरुलाई पुराना शक्तिहरुको मरणासन्न अभ्यासको संज्ञा दिनुभयो ।


उहाँले नयाँ शक्तिले विभिन्न चरणमा आन्दोलन गर्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय व्यवस्थाको लागि संविधान संशोधन गर्न जनतालाई बाध्य बनाउने बताउनुभयो । कार्यक्रममा भर्खरै पार्टी प्रवेश गर्नुभएका नेता कडायतले अबको युगमा राष्ट्र हाँक्ने शक्ति भनेको नयाँ शक्ति नै हुने बताउनु भयो ।


उहाँले आफ्नो पुरानो सहयात्री भट्टराईको प्रशंसा गर्नुहुँदै २७/२८ वर्ष सत्ता चलाएको एमाले काँग्रेस लगायतका पार्टी र १७/१८ महिना सरकार चलाएको बाबुरामको पार्टी एउटै नहुने धारणा राख्नुभयो ।

यसैगरी शनिबार नै गोंगबुमा आयोजित एक विशेष कार्यक्रममार्फत सोंपाल गुरुङ समाजका अध्यक्ष भूमिबहादुर गुरुङ (विश्व) लगायत एमाले, कांग्रेस, राप्रपा आदि विभिन्न पार्टीमा कार्यरत र स्वतन्त्र व्यक्तिहरू ठूलो संख्यामा नयाँ शक्ति नेपालमा प्रवेश गर्नुभएको छ । नवप्रवेशीहरुलाई पार्टीका संयोजक डा. बाबुराम भट्टराई, संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, प्रवक्ता खिमलाल देवकोटा लगायतका नेताहरुले स्वागत गर्नुभएको छ ।