कार चढेरै अमेरिका जान्छु भनेर ढिपी गर्दा पुगिन्न : संयोजक भट्टराई

२३ पुस २०७३

उदयपुर – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानैपर्ने बताउनुभएको छ । नयाँ शक्ति पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियानले शनिबार उदयपुरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । युवा अभियानले ‘मुलुकको समृद्धि र स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

‘विकासका लागि स्थिरता र स्थिरताका लागि प्रत्यक्ष निर्वाचत राष्ट्रपति कार्यकारी हुने शासन प्रणाली हाम्रो आवश्यकता हो’ उहाँले भन्नुभयो, ‘सबैलाई राज्यसत्तामासहभागी बनाउनु पनि छ र सबैको बीचमा राष्ट्रिय एकता कायम राख्न सक्ने स्थिर खालको शासन प्रणाली पनि चाहिएको छ । त्यसैले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली हाम्रो आवश्यकता हो ।’

उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपति निरंकुश हुन्छ कि भनेर शंका गर्नुपर्ने आवश्यकता पनि नरहेको तर्क गर्दै त्यसलाई पनि सन्तुलन गर्ने प्रावधान राख्न सकिने बताउनुभयो । त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले नै समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले आफ्नो सरकारमा सक्षम, विज्ञ, समावेशी मन्त्रीहरु राख्न सक्छ, जुन स्वतन्त्रता संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई हुँदैन, सत्ता गठबन्धनको ख्याल गर्नुपर्ने वाध्यता हुन्छ ।’

उहाँले अहिलेको मुख्य आवश्यकता राज्यको पुनःसंरचना भएको बताउँदै त्यसका लागि संघीयता र शासकीय स्वरुप निकै महत्वपूर्ण विषयहरु भएकोले यी दुई विषयमा नै दलहरुले आवश्यकता भन्दा भिन्न ढंगले प्रस्तुत गरिरहेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारीबाट नै राष्ट्रियता, राष्ट्रिय एकतालाई पनि बलियो बन्ने बताउँदै यसले लोकतन्त्रलाई पनि सहभागितामूलक बनाउने बताउनुभयो ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा भोट मागेर चुनाव जितेको एमाले र प्रचण्डजीले खुट्टा छोडिदिएपछि संविधानमा यो विषय छुट्न गयो, हामी टुलुटुलु हेर्न बाध्य भयौं’ उहाँले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थ ागर्न नसकेको स्मरण गर्दै भन्नुभयो –‘एमाले र प्रचण्डले नछोडेको भए काँग्रेस समेत दवावमा पथ्र्यो र यो मुद्दा संविधानमा समावेश हुन्थ्यो ।’

उहाँले नयाँशक्ति पार्टीले साँच्चिकै माक्र्सवादको गुदी कुरालाई पक्रिने बताउँदै माक्र्सवादको गुदीलाई पक्रेर नयाँ ढंगले परिभाषित गरेर नयाँ दर्शन र विचारको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘अहिले माक्र्सले पुर्नजन्म लिने र उनका कथित चेला भन्नेहरुको हविगत र गतिविधि देख्ने हो भने उहाँले पनि भन्नुहुन्छ, म माक्र्सवादी होइन’ उहाँले भन्नुभयो –‘ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादलाई समातेर अहिलेको आवश्यकतामा विचार र दर्शनको निर्माण गर्नु नै सच्चा माक्र्सवादी बन्नु हो ।’

अहिले बदलिएको परिवेशसँगै लक्ष्य पनि फेरिने भएको हुनाले फेरिएको लक्ष्य प्राप्तिको लागि नयाँ साधन अवलम्बन गर्नुपर्ने बताउनुभयो । ‘काठमाडौं कारमा, बसमा जान सकिन्छ तर अमेरिका, बेलायत जान हवाइजहाजमा जानुपर्छ’ उहाँको प्रश्न थियो –‘म त कारमा काठमाडौं आएको कारमा नै अमेरिका जान्छु भनेर ढिपी गर्नुभयो भने तपाईं कसरी अमेरिका पुग्नुहुन्छ ?’ नेपालको अबको लक्ष्य आर्थिक विकास र समृद्धि नै भएकोले त्यो प्राप्त गर्नका लागि वैकल्पिक राजनीति अपरिहार्य रहेको उहाँको तर्क थियो ।

अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मोहन खत्री, नेपाली कांग्रेसका लक्ष्मी परियार, नेकपा एमालेका जगन्नाथ खतिवडा, संघीय समाजवादी फोरमका अशोक राईलगायतले बोल्दै देशमा अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख विकल्प नरहेको बताउनुभएको थियो ।