राष्ट्रिय युवा अभियान कपिलवस्तुको जिल्ला अधिवेशन सम्पन्न

जिल्ला अध्यक्षमा उमेश बञ्जाडे
८ माघ, २०७३



कपिलवस्तु – नयाँ शक्ति पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियान कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले उमेश बञ्जाडेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । उपाध्यक्ष पदमा क्रमशः अमृता सोमै र विकास चौधरी, सचिव पदमा संजय चौधरी, कोषाध्यक्षमा सुनिता पौडेललाई निर्वाचित गरेको छ ।

अधिवेशनको उद्घाटन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गर्नुभयो । उहाँले समुद्घाटन समारोहलाई सम्बोधन गर्दै देशका १६ देखि ४० उमेर समुहका युवा युवतीहरू अगाडि नआएसम्म देश सम्बृद्ध हुन नसक्ने बताउँदै रोजगारीका लागि दैनिक विदेशिन बाध्य हजारौं युवाहरुको संख्यालाई देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो ।

संयोजक भट्टराईले नेपालका सबै राजनैतिक दलहरूकोबिचमा बृहत सर्वपक्षीय राष्ट्रिय राजनैतिक सम्मेलनबाट राष्ट्रिय सहमति निर्माण गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसपछि निर्धारित मितिमै स्थानीय, प्रदेश र केन्द्रीय चुनाव हुने र देशको दिगो विकास, राजनीतिक स्थायित्व, जनताको शान्तिको चाहना र समृद्धिका निम्ति जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद आजको अनिवार्य सर्त भएको बताउनुभयो ।

भट्टराईले नेपालका पुराना राजनीतिक दलहरूको औचित्य, आवश्यकता र औचित्य क्रमशः घट्दै गएकोले नेपालमा एउटा वैकल्पिक राजनीतिक शक्ति, नयाँ शक्ति पार्टी नेपालको स्थापना गर्नुपरेको बताउनुभयो ।

उमेश बन्जाडेको अध्यक्षता, खेमराज आचार्यको स्वागत मन्तव्यबाट अघि बढेको अधिवेशन उद्घाटन सत्रमा सुभकामना मन्तव्य दिनेहरुमा प्रदेश संयोजक श्री दान बहादुर चौधरी, उत्पादन विभाग प्रमुख श्री वामदेव क्षत्री, जिल्ला उत्प्रेरक श्री विष्णुहरी शर्मा, जिल्ला संयोजक श्री नारायण खनाल, वरिस्ठ जिल्ला नेता श्री रामलौटन तीवारी, परिषद् सदस्यहरू अव्दुल मोविन मुसलमान, इलियाज मुसलमान, कमला भुसाल, लक्ष्मी शारु, कमल खनाल, बाबुराम पोख्रेल, देवेन्द्र पाण्डे, यमुना भुसाल, निर्दाेश अलि, जि .एस गुरुङ, पंकज राई लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा डा. अनिल कुुमार चौधरी, डा. सानकुमार चौधरी, डा. राजकुमार के सि, डा. साहजाद खान, डा. बसिउल्ला मुसलमान, माओवादी केन्द्रका राजेन्द्र चौधरी लगायतका सयौं व्यक्तिहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । सम्पूर्ण नवप्रवेशीहरुलाई संयोजक भट्टराईले स्वागत गर्नुभएको थियो ।

कपिलवस्तु आउनुभएका संयोजक डा. बाबुराम भट्टराईले जिल्लाका विभिन्न क्षेत्रहरुको भ्रमण गर्दै तौलिहवास्थित हुदा मोडल स्कुलमा हालै सञ्चालन गरिएको नयाँ रेडियो हुदा एफएम ९३ को उद्घाटन समेत गर्नुभएको थियो ।

अधिवेशनबाट नव निर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई प्रदेश सह संयोजक यमुना भुसालले सपथ ग्रहण गराउनुभएको थियो भने लक्ष्मी सारु, काँशिराम यादव, लालबहादुर बैजाली र जि. एस गुरुङको निर्वाचन मण्डलले अधिवेशन सम्पन्न गरेको थियो । कार्यक्रममा एक सय जना प्रतिनिधि र बीस जना पर्यवेक्षकको सहभागिता रहेको थियो ।