रिक्सा चालकद्वारा हस्ताक्षर संकलन अभियानको उद्घाटन

९ माघ, २०७३

विराटनगर – नयाँ शक्ति पार्टी नेपाल मोरङले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जनदबाब सिर्जना गर्न जिल्लाव्यापी हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । नयाँ शक्तिले विराटनगर भाटिगञ्ज निवासी ४५ वर्षीय रिक्सा चालक शंकर शाहको पहिलो हस्ताक्षरसँगै अभियानको उद्घाटन गरेको हो ।

राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र दिगो आर्थिक विकासका निमित्त प्रतक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिकाको पक्षमा जनमत सृजना गर्न हस्ताक्षर संकलन अभियान सुरु गरिएको पार्टीले जनाएको छ ।

नयाँ शक्ति बिराटनगर नगर समितिद्वारा आयोजित सो कार्यक्रममा प्रमुख अथितिको रुपमा रिक्सा चालक शंकर शाहद्वारा पहिलो हस्ताक्षर गरी उद्घाटन गरिएको कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्यहरु तेजलाल कर्ण, पशुपति नेपाल, भारत दाहाल, चन्द्रा थापा लगायतको उपस्थिति थियो ।

शनिबार विराटनगरबाट सुरु भएको हस्ताक्षर संकलन अभियान आइतबार उर्लाबारीमा पनि सुरु भएको छ भने जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिने जनाइएको छ ।

नयाँ शक्तिले अहिले देशव्यापी संगठन निर्माणका लागि भन्दै घरघरमा नयाँ शक्ति अभियान सुरु गरेको छ । त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि जनदबाब सिर्जना गर्न भन्दै देशव्यापी रुपमा १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने कार्यक्रम अनुसार हस्ताक्षर संकलन सुरु गरेको हो ।