राष्ट्रिय युवा अभियान रुपन्देहीको अधिवेशन

रुपन्देही अध्यक्षमा दीपक गुरुङ
१५ माघ, २०७३

बुटवल – नयाँ शक्ति पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियानको प्रथम जिल्ला अधिवेशन बुटवलमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले दीपक गुरुङको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । अभियानको जिल्ला उपाध्यक्षमा ऋषि पाठक, पवन मिश्र एवं दिलिप बिक निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिव पदमा मणि न्यौपाने तथा सहसचिवमा विष्णु पौडेल, राजेन्द्र पाल तथा कोषाध्यक्षमा दीपा दर्लामी निर्वाचित हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नयाँ शक्ति पार्टी नेपालका युवा विभाग संयोजक देवेन्द्र पराजुलीले कार्यक्रममा उपस्थित युवाहरुलाई सम्बोधन गर्दै अहिले सबै राजनीतिक पार्टीहरुले पनि आर्थिक समृद्धि र विकासको कुरा गर्ने गरेकोले अब युवाहरुले त्यसको अगुवाई गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले युवाहरु सिर्जनात्मक एवं आलोचनात्मक चेतले सुसज्जित हुनुपर्ने र युवा पुस्ता पुरानो पुस्ताको निर्णय पालक मात्र नभएर प्रश्नकर्ता हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि युवा शक्तिलाई वर्तमानको साझेदार शक्तिको रुपमा ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ शक्ति पार्टी केवल नयाँ पार्टी मात्र नभई देशकै वैकल्पिक राजनीतिक शक्ति भएको बताउँदै यो पार्टीले मात्र सिंगो देशलाई एकताबद्ध गरेर हिंडाउन सक्षम हुने दाबी गर्नुभयो ।



कार्यक्रममा शुभकामना मन्त्व्य दिंदै नयाँ शक्ति पार्टीकी नेतृ सुशिला सेर्पालीले युवा पुस्ता देशको आर्थिक समृद्धिको आधार भएकाले अब युवाहरु रचनात्मक भएर निर्माण र उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्य तथा उत्पादन रोजगार समन्वय समितिका संयोजक बामदेव क्षेत्रीले युवाहरु उत्पादनमूलक काममा लाग्नुपर्ने र स्वरोजगार भएर मुलुकको आर्थिक विकासमा योगदान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै युवा अभियानका निर्वतमान रुपन्देही जिल्ला संयोजक पंकज राईले युवाहरु जहिल्यै पनि आवेग र विवेकको द्वन्द्वबाट गुज्रिने बताउँदै सधैं विवेकलाई प्रधान बनाएर लाग्नुपर्ने बताउनुभयो ।

अधिवेशनमा हालसालै नयाँ शक्तिमा प्रवेश गर्नुभएका जनमुक्ति पार्टीका नेता बम बहादुर दर्लामी, नयाँ शक्ति पार्टी ५ नं. प्रदेशको युवा विभाग संयोजक जी एस् गुरुङ, केन्द्रीय संरक्षक रामचन्द्र भट्टराई, युवा अभियानका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख सौगात पोखरेल, किस्मत विश्वकर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै विभिन्न पार्टीनिकट युवा संगठनका प्रतिनिधिहरुलेसमेत शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्ष्यता तथा संचालन युवा अभियान रुपन्देहीका निवर्तमान संयोजक पंकज राईले गर्नुभएको थियो भने सहसंयोजक दीपक गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम अघि अभियानले बुटवलको राजमार्ग चौराहाबाट कार्यक्रमस्थलसम्म र्याली गरेको थियो भने कार्यक्रममा नयाँ शक्ति पार्टीको सांस्कृतिक युनिट समृद्धि सांस्कृतिक संघले विभिन्न सांगितिक प्रस्तुति गरेको थियो । अभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि दबाब सिर्जना गर्न हस्ताक्षर संकलन अभियानसमेत आयोजना गरेको थियो ।
कार्यक्रममा रुपन्दही जिल्लाबाट ३०० भन्दा बढी युवाहरु सहभागी भएका थिए ।