नयाँ शक्तिको हस्ताक्षर संकलनमा उत्साहपूर्ण सहभागिता

२३ माघ, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टीले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जनदबाब सिर्जना गर्न सुरु गरेको हस्ताक्षर अभियानमा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता देखिएको छ । अहिले पार्टीका प्रदेश, जिल्ला, नगर, गाविस र वडास्तरसम्मका संरचनाहरु हस्ताक्षर संकलन अभियानमा जुटेका छन् ।

पार्टीका संयोजक डा. बाबुराम भट्टराईले माघ ५ गते पहिलो हस्ताक्षर गरी सुरु भएको अभियान अहिले देशव्यापी रुपमा संचालन भइरहेको छ । अभियानलाई सशक्त रुपमा अघि बढाउँदै पार्टी सम्बद्ध आंगिक, पेशागत संगठन तथा सम्पर्क संयन्त्रहरुले पनि आआफ्नै तरिकाले हस्ताक्षर संकलन गरिरहेका छन् ।

आइतबार नयाँ शक्ति पार्टीको ३ नम्बर प्रदेश परिषद्ले राजधानीका विभिन्न स्थानहरुमा राजधानीकेन्द्रीत हस्ताक्षर संकलन जारी राखेको छ । आइतबार बिहान कोटेश्वर चोकबाट सुरु भएको हस्ताक्षर संकलन अभियानमा आम सर्वसाधारणको व्यापक एवं उत्साहपूर्ण सहभागिता देखिएको छ । युवादेखि वृद्धसम्म प्रत्यक्ष निर्वाचित राष्ट्रपतिकोे नाराप्रति निकै आकर्षित भएको देखिएको छ ।

कोटेश्वरको हस्ताक्षर संकलनका मानिसहरुको उत्साहपूर्ण सहभागिता रहेको नयाँ शक्ति पार्टीका ३ नं. प्रदेश संयोजक गंगा नारायण श्रेष्ठले बताउनुभयो ।

उहाँले आइतबार नै ३ नं. प्रदेशको अगुवाईमा राजधानीकै चावहिल चोक, कलंकी, सोह्रखुट्टे, रत्नपार्क, इन्द्रचोक, माछापोखरी, जोरपाटीलगायतका स्थानहरुमा समेत हस्ताक्षर संकलन कार्यक्रम रहेको संयोजक श्रेष्ठले बताउनुभयो । कार्यक्रम विहान १० बजेदेखि साँझ ४ बजेसम्म जारी रहनेछ ।

नयाँ शक्ति पार्टी नेपालका ३ नं. प्रदेश संयोजक गंगानारायण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख हिसिला यमी, शिला यादव लगायतको नेतृत्वमा कोटेश्वरमा सुरु भएको अभियानमा महिला, युवा, विद्यार्थी, व्यापारी, सर्वसाधारणलगायतले हस्ताक्षर गरेका छन् । हस्ताक्षर अभियानको नेतृत्व गर्दै आउनु भएका संयोजक श्रेष्ठले स्थिरता, सुशासन र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्दछ भन्ने नयाँ शक्ति पार्टी, नेपालको अवधारणा रहेको भन्दै यो अभियानमा ऐक्यवद्धता जाहेर गर्न सर्वसाधारणलाई हस्ताक्षर गर्न आग्रह गर्नुभयो ।

हस्ताक्षर अभियानकै क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आम नेपाली जनताले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनुपर्छ भन्ने अभिमत जाहेर गर्दागर्दै पनि तत्कालीन राजनीतिक दलहरुको राजनीतिक समीकरणका कारणले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था हुन नसकेको उहाँले बताउनुभयो । जसले गर्दा मुलुक राजनीतिक रुपमा अस्थीर बन्न पुगेको उल्लेख गर्दै उहाँले अब छिटोभन्दा छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने र व्यवस्थापिका संसद पूर्ण समानुपातिक हुनुपर्ने नयाँ शक्ति पार्टीको स्पष्ट धारणा रहेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचन सम्बन्धी सञ्चारकर्मीले सोधेको अर्को एक प्रश्नमा संयोजक श्रेष्ठले भन्नुभयो– ‘नयाँ शक्ति पार्टी, नेपाल स्थानीय तहको निर्वाचन मात्रै होइन, सबैखाले निर्वाचनको सामना गर्न तयार छ ।’ उहाँले सरकारलाई निर्वाचनको वातावरण बनाउन आफ्नो दल जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बरु सरकार नै विभिन्न बहाना गर्दै निर्वाचन नगर्ने षड्यन्त्रमा लागिरहेको बताउनुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गराउन संविधान संशोधनमार्फत दबाब दिने कार्यलाई जनतामाझ पुर्‍याउन के कस्तो काम गर्नुपर्छ भन्ने सञ्चारकर्मीकै अर्को एक प्रश्नमा संयोजक श्रेष्ठले भन्नुभयो– ‘जनतामार्फत कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्छ भन्ने सन्देश गइरहेको छ । यद्यपि जनता स्वयं जागरुक भएर र जनताले नै हस्तक्षेपकारी भूमिका निर्वाह गरेर राजनीतिक पार्टी, तिनका नेताहरु र हाल व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने जतिपनि राजनीतिक दलहरु छन् उनीहरुलाई जनताको तर्फबाट खबरदारी गर्न जरुरी छ र त्यही खबरदारीकै बलमा छिटोभन्दा छिटो संविधान संशोधन भएर प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा मुलुक जानेछ र नेपाली जनताले चाहना गरेअनुरुपको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली लागू हुनेछ ।’

त्यसैगरी सो अभियानको दौरानमा नयाँ शक्ति पार्टी, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख हिसिला यमीले देशको अस्थीरताको प्रमुख जड संसदीय व्यवस्था रहेको बताउनुभयो । उहाँले स्थीरताको लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था हुनुपर्ने भन्दै नयाँ शक्ति पार्टी, नेपालले सो प्रणालीका लागि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्रै मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्ने हुनाले सो अभियानमा एकतावद्ध भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

महिला, युवा, विद्यार्थी, व्यवसायीलगायत सबै तह र तप्काका जनताले हस्ताक्षर गरेर अभियानमा ऐक्यवद्धता जाहेर गरेका छन् । नयाँ शक्ति पार्टी, नेपालले माघ महिनाभरि सञ्चालन गर्ने यो अभियान देशव्यापी रुपमा सञ्चालन हुँदै आएको छ ।

नयाँ शक्तिले माघ महिना अवधिभर चल्ने घरघरमा नयाँ शक्ति अभियानसँगै जनस्तरबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने योजना अनुरुप हस्ताक्षर संकलन जारी राखेको हो ।