नयाँ शक्ति जनमत संकलन: ८३ प्रतिशत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा

५ फागुन २०७३

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले ट्वीटरमार्फत संकलन गरेको जनमतमा ८३ प्रतिशत ट्वीटर प्रयोगकर्ताहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा मत दिएका छन् । एक हप्ताको समय दिएर गरिएको जनमत संकलनमा १५६९ जनाले भाग लिएकोमा ८३ प्रतिशतले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा मत दिएका हुन् । १७ प्रतिशतले आफू विपक्षमा भएको बताएका छन् ।

नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा एक महिने हस्ताक्षर संकलन अभियान पनि सञ्चालन गरिरहेको छ । नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि दवावमूलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै अब हुने संविधान संशोधनकै क्रममा यो व्यवस्था गर्नुपर्ने माग उठाएको छ ।