नयाँ शक्तिका अभियन्ताहरुलाई उत्पादनसम्बन्धी तालिम

६ फागुन, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टीले आफ्ना नेता कार्यकर्ताहरुलाई उत्पादनमूलक काममा लगाउँदै आर्थिक रुपले निर्भर बनाउनको लागि उत्पादन तथा स्वरोजगारसम्बन्धी अभिमुखीकरण गर्दै आएको छ । पार्टीले यस प्रयोजनका लागि केन्द्रीयस्तरमै उत्पादन, निर्माण, वित्त, व्यवस्थापन, आर्थिकलगायतका विभिन्न विभागहरु सम्मिलित एक उत्पादन तथा रोजगार/स्वरोजगार अभियान समन्वय समिति गठन गरेको थियो । उक्त समितिले केन्द्रीय रुपमा र प्रादेशिक तहमा गई नेतृत्व तहमा रहेका नेता तथा कार्यकर्ताहरुलाई उत्पादन, निर्माण, रोजगार तथा स्वरोजगारसम्बन्धी जानकारीमूलक तालिम प्रदान गरेको हो ।

समितिले नयाँ शक्ति पार्टी अहिले राज्य संचालक शक्तिको रुपमा नरहेपनि पार्टीले प्रस्ताव गरेको आर्थिक समृद्धिको मार्गचित्रको स्प्रिट अनुसार त्रिआयामिक विकास (भौतिक विकास, वातावरण संरक्षण तथा अधिकारमा आधारित सामाजिक न्याय सहितको दिगो विकास र आम जनसमुदायको आत्मिक तथा सांस्कृतिक जीवन पद्धतिको विकास) लाई जोड दिएको हो ।

आर्थिक समृद्धि र उत्पादन बढाउने, रोजगार सृजना गर्ने, स्वरोजगारबाट आत्मनिर्भर बन्ने विषयलाई पार्टीका अभियन्ताहरु र जनताबीच प्रस्ताव गरी अभियानात्मक रुपमा कार्यान्वयन गर्ने लक्ष्य यो उत्पादन अभियानले लिएको छ ।

यो अभियानले एक गाउँ एक उत्पादन, एक टोल एक उत्पादनको नारासहित अभिमुखिकरणको कार्यक्रममा सहभागीहरुले आफ्नै स्रोत, साधन, र पूँजीको विकास र सदुपयोग गरी नयाँ ढंगले आर्थिक समृद्धिको मार्ग प्रशस्त गरेको अभियान समन्वय समितिका संयोजक बामदेव क्षेत्रीले जानकारी दिनुभयो ।

समितिले गत तीन महिनाको अवधिमा केन्द्रसहित अन्य ४ वटा प्रदेशहरुमा उत्पादन अभिमुखीकरणसम्बन्धी कार्यक्रमहरु संचालन गरिसकेको समितिका संयोजक क्षेत्रीले बताउनुभयो । जस अन्तर्गत गत माघ ३ गते काठमाडौंमा केन्द्रीयस्तरको तालिम सम्पन्न भएको छ भने माघ १२ गते पोखरा, माघ १४ गते दाङको लमही, फागुन १ गते धनकुटा र फागुन ३ गते जनकपुरमा प्रदेशस्तरको कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै समितिकै अग्रसरतामा पार्टीका अभियन्ताहरु र आम जनतालाई स्वरोजगार बनाउनेसम्बन्धमा विभिन्न सीप प्रदायक संघसंस्थाहरु, नेपाल सरकारका कृषि विभाग अन्तर्गतका कार्यालयहरुमा गई अन्तरक्रियात्मक छलफल भएको हो ।
त्यस्तै समितिले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा स्थानीयस्तरमा संचालित सहकारी संस्थाहरुसँग उत्पादनमुखी कामका लागि दु्रत किसिमले कर्जा प्रवाह गर्ने विषयमा समेत छलफल गरेको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिकै पहल र अग्रसरतामा नेपालमै केन्द्रीयस्तरको आधुनिक अनुसन्धान शिक्षा तथा तालिम प्रदान गर्नका लागि तालीम प्रदायक संस्था स्थापना गर्ने पहल भइरहेको संयोजक क्षेत्रीले बताउनुभयो ।

उहाँले ३३ जिल्लाका प्रतिनिधिहरु र उत्पादनमा जोडिने २८६ जनाबीचमा उत्पादनसम्बन्धी अभिमुखीकरण कार्यक्रम पुगेको र अब प्रदेश नं. ३, ६ र ७ सहित सम्पर्क संयन्त्र÷राष्ट्रिय मामिला समावेश गरी यही फागुन महिनाभित्र करिब ५०० जनालाई यो अभिमुखिकरण तालिममा समावेश गरिने योजना रहेको बताउनुभयो ।

उत्पादन तथा रोजगारसम्बन्धी पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेपछि समितिले ठोस रुपमा अगाडि सारेका विभिन्न उत्पादनमूलक क्षेत्रहरुकेन्द्रीत दोस्रो चरणको कार्यक्रमको थालनी गरिने कार्यक्रम संयोजक क्षेत्रीले बताउनुभयो ।