नयाँ शक्ति विद्यार्थीको नयाँ प्रचारशैली

१२ फागुन, २०७३

काठमाडौं – त्रिभुवन विश्व विद्यालयले आउँदो फागुन १८ गते स्तवन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव गर्ने मिति तय गरेको छ । विश्वविद्यालयले चुनावको मिति घोषणा गरेसँगै अहिले देशभरका क्याम्पसहरुमा विद्यार्थीहरुको चुनावी सरगर्मी सुरु भएको छ ।

क्याम्पसहरुमा विभिन्न राजनीतिक पार्टीनिकट विद्यार्थी संगठनहरु चुनाव प्रचारमा जुटिसकेका छन् । चुनावलाई लक्षित गर्दै क्याम्पसका पर्खाल तथा भित्ताहरुमा वाल पेन्टिङ, पोस्टर, पम्प्लेटहरु टाँस्ने काम सुरु भइसकेको छ । यसरी अहिले सरकारी तथा सामुदायिक क्याम्पसका पर्खाल र भित्ताहरु विद्यार्थी संगठनका चुनावी नाराले रंगिएका मात्र छैनन् ती भित्ताहरु विद्यार्थीहरुको प्रचार सामग्रीले प्रदुषित र कुरुप बन्दै गएका छन् ।

त्यसो त यसरी भित्ते लेखन, तुल ब्यानर, पोस्टर टाँस्ने आदि जस्ता प्रतिस्पर्धात्मक प्रचार सामग्रीले क्याम्पसका भित्ता तथा पर्खालहरु कुरुप बनेका छन् र प्रदुषित बन्दै गएका छन् । यसैलाई मध्यनजर गर्दै नयाँ शक्ति पार्टीनिकट विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले भने रचनात्मक प्रचार अभियान सुरु गरेको छ ।


पारम्परिक रुपमा गरिने भित्तेलेखन, वाल पेन्टिङ, तुल ब्यानर प्रदर्शन आदि जस्ता शैलीको साटो नयाँ शक्ति विद्यार्थी युनियनले प्रविधिको उच्चतम् प्रयोग गर्दै डिजिटल प्रचार सुरु गरेको छ । युनियनले सम्बन्धित क्याम्पसका विद्यार्थीहरुलाई एसएमएस पठाएर, फेसबुक, ट्वीटर, अनलाईन जस्ता माध्यमहरुको प्रयोग गरेर प्रचार सुरु गरेको छ ।

त्यस्तै नयाँ शक्ति विद्यार्थी युनियनले विद्यार्थीहरुलाई कलम, कापी वितरण गरेर, क्याम्पसमा डस्टविनहरु राखेरसमेत चुनाव प्रचार गरिरहेको नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक रमेश महतोले जानकारी दिनुभयो । उहाँले नयाँ शक्ति विद्यार्थी युनियनले पारम्परिक रुपमा क्याम्पसका पर्खाल तथा भित्ताहरुमा अनावश्यक लेखेर, पेन्टिङ गरेर वातावरण प्रदुषित बनाउनुको साटो रचनात्मक र वातावरणमैत्री चुनाव प्रचार अभियान सुरु गरिएको बताउनु भयो ।

आठ वर्षपछि हुन लागिरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सबैजसो विद्यार्थी संगठनहरु चुनावी मैदानमा उत्रिएका छन् । अहिलेको सन्दर्भमा विद्यार्थी आन्दोलन नै दिशाबिहीन जस्तो बनेको आरोप लागिरहँदा नयाँ शक्ति पार्टीका विद्यार्थी उत्प्रेरक राजु नेपाल अब विद्यार्थी आन्दोलनले शैक्षिक, विश्वविद्यालय र पठनपाठनसँग सम्बन्धित मुद्दाहरुलाई उठान गर्नुपर्ने स्वीकार गर्नुहुन्छ । नयाँ शक्ति विद्यार्थी युनियनले त्यस्तै मुद्दाहरुको उठान गरेको उहाँको दाबी छ ।

‘हामी महंगो शिक्षाको विरोध गर्छौं र शिक्षा क्षेत्रमा मौलाएको निजीकरण र व्यापारिकरणको अन्त्य हुनुपर्ने माग गर्दछौं । शिक्षा स्वास्थ्य जस्ता कुराहरु जनताको मौलिक हक र आधारभूत विषय भएकोले ती क्षेत्रमा राज्यको नै दायित्व हुनुपर्छ’ उत्प्रेरक नेपाल भन्नुहुन्छ –‘शिक्षालाई जीवन उपयोगी, प्राविधिक र हाम्रो आवश्यकता सुहाउँदो बनाउनुपर्छ । विश्व विद्यालयहरुमा भएको राजनीतिक भागबन्डाको अन्त्य हुनुपर्छ ।’