धनुषामा हस्ताक्षर संकलन अभियान जारी

१८ फागुन, २०७३

धनुषा – नयाँ शक्ति पार्टी धनुषाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको माग गर्दै जनस्तरबाट हस्ताक्षर संकलन सुरु गरेको छ ।

आइतबार एक कार्यक्रमकाबिच नयाँ शक्ति धनुषाले हस्ताक्षर संकलन अभियानको सुरुवात गरेको कार्यक्रमका संयोजक एवं नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य रित बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

हस्ताक्षर संकलन कार्यक्रममा केन्द्रीय परिषद् सदस्य अरबिन्द साह, राम उदित राम, पार्टीका धनुषा जिल्ला संयोजक राम शंकर पासमान, धनुषा क्षेत्र नं. ६ का संयोजक प्रदिप नारायण साह, संस्थापक अभियन्ताहरु पदम बहादुर श्रेष्ठ, जित बहादुर माझी, राजन कुमार श्रेष्ठ, मनोज कुमार भट्टराई, सरोज लामा, रमेश श्रेष्ठ, सरोज साहलगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै पहिलो दिनको कार्यक्रममा धनुषास्थित गोदारमा रहेका जनसमुदायहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो । हस्ताक्षर संकलन कार्यक्रम जिल्लाव्यापी रुपमा जारी रहेको र आगामी २१ गतेसम्म जारी रहने कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो ।

नयाँ शक्ति पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको माग गर्दै १० लाख भन्दा बढी हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने भएको छ । यहि फागुन २७ गते काठमाडौंमा देशव्यापी रुपमा संकलित हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन समितिका सहसंयोजक प्रल्हाद लामिछानेले जानकारी दिनुभयो ।