नयाँ शक्ति र लोकतान्त्रिक मञ्चबिच ध्रुवीकरण

नाम्चे पुग्न लागेको यात्रा अब सगरमाथाको चुचुरोसम्म पुग्छ : संयोजक भट्टराई
२४ फागुन, २०७३

काठमाडौं – नयाँ शक्ति पार्टी र राष्ट्रिय लोकतान्त्रिक मञ्चबिच ध्रुवीकरण भएको छ । मंगलबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित ध्रुवीकरण सभाबिच नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय लोकतान्त्रिक मञ्चका संयोजक देवी प्रसाद ओझाले संयुक्त वक्तव्य जारी गरी ध्रुवीकरणको घोषणा गर्नुभएको हो ।

‘नयाँ शक्ति पार्टी नेपाल र राष्ट्रिय लोकतान्त्रिक मञ्चका प्रतिनिधिकाबिच मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक अवस्थाबारे विचार विमर्श भयो । कतिपय सवालमा रहेका मतभिन्नताहरुलाई पार्टी पद्धति र प्रक्रियाभित्र छलफल र बहस गर्दै निर्मित विषयलाई प्रभावकारी ढंगले पालना र कार्यान्वयन गर्ने स्वीकृत मान्यतालाई आत्मसात गरी मुलुकको प्रगति र समृद्धिका लागि नयाँ शक्तिमा राष्ट्रिय लोकतान्त्रिक मञ्च ध्रुवीकरण हुने सहमति गरियो’ – संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

नयाँ शक्तिमा प्रवेश गर्नेहरुमा मञ्चका केन्द्रीय कार्यसमिति सदस्यहरु धनानाथ ओझा, प्रा. डा. विदुर प्रसाद उपाध्याय, डा. गोविन्द प्रसाद ओझा, डा. रामदेव प्रसाद शाह, टुंग राज पाठक, गोपाल श्रेष्ठ, यादव प्रसाद पाण्डे, अम्बिका उपाध्याय, विष्णु प्रसाद घिमिरे (ध्रुव), विप्लव ओझा, नरेन्द्रराज पाठक, वेद प्रसाद घिमिरे, हेमराज काफ्ले , किशोर ओझा, मणिराम भण्डारी, नसार अहम्मद, सरिता खतिवडा, राम नारयण पासवान, लक्ष्मी राजवंशी, सरस्वती सिवाकोटी, कृष्ण रिजाल, सबिता पोखरेल, भिम आचार्य, शम्भु प्रसाद गौतम, गणेश ओझालगायत बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ताहरु रहेका छन् ।

नयाँ शक्तिमा प्रवेश गर्ने लोकतान्त्रिक मञ्चका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिको यात्रा नाम्चे बजारसम्म पुग्न लागेको बताउँदै अब यो यात्रा सगरमाथासम्म चुचुरोसम्म पुग्ने बताउनुभयो ।



नयाँ शक्ति युगले सिर्जना गरेको आवश्यकता भएकोले नयाँ शक्ति सबैलाई जोडेर जगैदेखि नयाँ स्वरुपमा सुरु भएको हुनाले यो यात्रा अविराम अघि बढ्ने दाबी गर्नुुभयो । उहाँले पार्टीको महाधिवेशन नभएसम्म सबै अभियन्ताहरुको हैसियत र सम्मान बराबर रहने, जिम्मेवारी मात्र फरक हुने बताउँदै ध्रुवीकृत हुने सबैलाई क्षमता अनुसार उचित जिम्मेवारी र सम्मान दिइने बताउनुभयो ।

संयोजक भट्टराईले नयाँ शक्तिले बृहत राष्ट्रिय एकतालाई मजबुद बनाउने बताउँदै देशको जातीय, क्षेत्रीय, विविधतालाई सम्बोधन गर्दै हिमाल, पहाड, तराई, मधेशको एकता नभएसम्म मुलुक सभ्य र समृद्ध हुन नसक्ने बताउनुभयो । नयाँ शक्तिको शुत्र वाक्य ५ सले मुलुकको सच्चा राष्ट्रियता कायम गर्दै देशलाई समृद्धिको शिखरमा पुर्याउने दाबी गर्नुभयो ।

नयाँ शक्तिमा समाहित भइसकेपछि ध्रुवीकरण सभालाई सम्बोधन गर्दै राष्ट्रिय लोकतान्त्रिक मञ्चका संयोजक एवं पूर्वमन्त्री देवी प्रसाद ओझाले समस्याग्रस्त नेपाली समाजको टड्कारो आवश्यकता महशुस गर्दै वैकल्पिक शक्ति निर्माणको लक्ष्य पूरा गर्न आफूहरु नयाँ शक्तिमा समाहित भएको बताउनुभयो । उहाँले पछौटे विचार र संस्कृतिलाई उन्नत संस्कृतिमा लैजान, युवा शक्तिलाई नेतृत्वमा सामेल गरेर नेतृत्व प्रदान गर्न र राजनीतिमा रहेका विकृति र विसंगतिविरुद्ध लड्नकै लागि आफूहरु नयाँ शक्तिमा आएको बताउनुभयो ।

नयाँ शक्ति पार्टी १ नं. प्रदेश संयोजक पासाङ शेर्पाले संचालन गर्नुभएको ध्रुवीकरण कार्यक्रममा नयाँ शक्तिका विभिन्न विभागीय प्रमुखहरु, केन्द्रीय कार्यकारी समिति सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरुको उपस्थिति रहेको थियो ।

को हुनुहुन्छ देवी ओझा ?


देवी ओझा नेपाल कम्युनिष्ट आन्दोलनमा तीन दसकसम्म सक्रिय व्यक्तिको नाम हो । उहाँले २०२६/२७ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले अखिल हुँदै तत्कालीन कम्युनिष्ट पार्टीको एउटा समूह कोअर्डिनेशन केन्द्रसँग निकट रहेर कम्युनिष्ट आन्दोलनमा योगदान दिनुभयो । त्यसपछि नेकपा मालेमा संलग्न हुँदै राजनीतिक यात्रा सुरु गर्नुभएका ओझाले नेपालको शिक्षक आन्दोलनमा झण्डै एक दसक नेतृत्व तहमा रहेर काम गर्नुभयो ।

२०४६ सालको जनआन्दोलन पश्चात् नेकपा एमालेमा रहेर राजनीति गर्नुभएका ओझा २०४८ सालको आम निर्वाचनमा झापाबाट सांसद निर्वाचित हुनुभयो र २०५१ को मध्यावधि चुनावमा पनि सांसद् निर्वाचित भएपछि नेकपा एमालेको तर्फबाट २०५४ मा शिक्षामन्त्रीसमेत हुनुभयो । २०५६ को आम चुनावताका नेकपा एमालेमा भएको औपचारिक विभाजनसँगै उहाँ नेकपा मालेमा लाग्नुभयो र मालेको केन्द्रीय नेताको रुपमा पनि काम गर्नुभयो । त्यसपछि २०५९ सालदेखियता उहाँ पार्टीगत राजनीतिबाट निश्कृय रहनुभएको छ । यो अवधिमा मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक परिदृष्यको गहिरो अध्ययन र विश्लेषण गर्नुभयो ।

संक्षिप्तमा भन्नुपर्दा अखिलको कार्यकर्ताहुँदै नेपालको वामपन्थी आन्दोलनमा प्रवेश गर्नुभएका ओझाले तीन दसक सक्रिय राजनीतिमा बिताउनुभयो र पछिल्लो दसकमा भने समकालीन नेपाली समाजको अध्ययनमै बिताउनुभयो । नेपालको बामपन्थी आन्दोलनसँगै शिक्षक आन्दोलनमा सक्रिय रहनुभएका ओझाले पटकपटक जेल जीवन र प्रहरी हिरासत भोग्नुभएको छ । उहाँ र उहाँसम्बद्ध राष्ट्रिय लोकतान्त्रिक मञ्च आजबाटै नयाँ शक्ति पार्टीमा विधिवत रुपमा समाहित भएको छ ।


डाउनलोड